२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

एथलेटिक्स ट्यालेन्ट हन्टः गण्डकी प्रदेशबाट ४० जना छनोट गरिने

आगामी जेठ २८ गते शनिबार पोखरा रंगशालामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका धावकहरु दौडिने छन्। उनीहरुबाटै ४० जना धावकलाई ट्यालेन्ट हन्टको रुपमा छनोट गरेर प्रशिक्षण शुरु गरिने छ। १८ वर्षमुनिका धावकहरुको खोजी अभियानमा गण्डकी प्रदेश खेलकुद परिषद जुटेको हो। परिषद ट्यालेन्ट हन्ट अन्तर्गत एथलेटिक्सलाई पहिलो प्राथमिकतामा राखेको छ।  

एथलेटिक्स अन्तर्गत छोटो र लामो दुरीको दौडमा प्रतिस्पर्धा गराई ट्यालेन्ट हन्ट मार्फत खेलाडी छनोट गरिने परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले बताए। ‘सबै खेलको ट्यालेन्ट हन्टको योजना छ। तर पाईलट प्रोजेक्टको रुपमा एथलेटिक्सलाई रोज्यौ,’ सदस्य सचिव गुरुङले भने, ‘बजेट कम छ। पहिलो फेजमा एथलेटिक्सलाई प्राथमिकतामा राख्यौं।’ उनले ट्यालेन्ट हन्ट मार्फत छनोट भएका खेलाडीलाई आवासिय सुविधासहित प्रशिक्षण गराईने सुनाए।  

एथलेटिक्समा धेरै विधा छन्। ती मध्ये छोटो दुरीको २ सय ४ सय, ८ सय, ३ हजार र ५ हजार मिटर दौड छन्। त्यसपछि १० हजार र म्याराथनको दौडमा ट्यालेन्ट हन्टको खोजी गरिने छ। त्यतिमात्रै नभई हर्डल्स तथा ट्रिपल चेजमा समेत खेलाडी छनोट गरिने छ। ‘खेलाडीले निकालेको समयको आधारमा छनोट गरिने छ।’ उनले भने, ‘गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट ४० जना खेलाडी छनोट गरिने छ।’  

उनका अनुसार १८ वर्षमुनिका खेलाडीहरु छनोट गर्ने हो। विद्यालयस्तरदेखि नै ट्यालेन्ट हन्ट मार्फत खेलाडी उत्पादन गर्ने लक्ष्य छ। १८ वर्षमुनिका दशजोड दुईको परीक्षा दिएर बसेका विद्यार्थीलाइ लक्षित गरिएको छ। छनोट भएका खेलाडीलाई केहीदिन पोखरामै प्रशिक्षण गराईने छ। त्यसपछि सम्बन्धित जिल्लामा प्रशिक्षकको गाईडलाईनमा प्रशिक्षण गर्ने उनको भनाई थियो। ‘खेलाडीहरुलाई निश्चित दुरी दौडाइन्छ, त्यसपछि मात्रै छनोट गरिने छ,’ उनको भनाई थियो।  

खेलाडीहरुलाई एथलेटिक्स प्रतिको लगावसँगै छोटो र लामोदुरी कुन इभेण्टमा फिट हुन्छन् त्यो प्राविधिकले हेरेर तय गर्ने उनले बताए। अहिले खेलाडीहरु आफनै मुडेबलमा दौडिने गरेको उल्लेख गर्दै ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीहरुलाई आधारभूत तालिम दिईने उनले बताए। ‘अहिले क्लोजक्याम्प गर्न सकिदैन्। तर राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर प्रशिक्षण गराइने छ।’ उनको भनाई थियो। ट्यालेन्ट हन्टको लागि प्रदेश खेलकुद परिषदले १५ लाख रुपैयाँ खर्च छुट्टाइएको उल्लेख गर्दै उनले एथलेटिक्सको ट्यालेन्ट हन्टको लागि १० लाख रुपैयाँ हुने अनुमान गरिएको छ।  

प्रकाशित: २० जेष्ठ २०७९ ०६:३६ शुक्रबार

एथलेटिक्स ट्यालेन्ट हन्टः