१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

कैदीबन्दीका लागि फुटबल प्रशिक्षण हुने

जेल सजाय भुक्तान गरिरहेका कैदीबन्दीका लागि सेल्टर नेपालले फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

एसियन फुटबल महासंघ (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग र सहकार्यमा सेल्टर नेपालले आगामी आइतबारदेखि खेलाडी, प्रशिक्षक तथा रेफ्री उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गर्न लागेको हो। ‘प्रिजन फुटबल, रिहाबिलिटेसन थ्रु फुटबल (फुटबलको माध्यमबाट पुनस्र्थापना) नाम दिएको उक्त प्रशिक्षण केन्द्रीय कारागारभित्रका कैदीबन्दीलाई दिइनेछ। एक वर्ष अवधि रहने उक्त कार्यक्रमअन्तर्गत कुल ४८ खेलाडी तथा समान ३२ जना प्रशिक्षक र रेफ्री उत्पादन गर्ने लक्ष्य आयोजकको छ।

यो कार्यक्रम दुई चरणमा रहने र पहिलो चरण जुनदेखि नोभेम्बर ३० सम्म सञ्चालन हुने सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीले जानकारी दिइन्। पहिलो चरणमा २४ खेलाडी तथा १६ जना प्रशिक्षक र रेफ्री प्रशिक्षण कोर्स सञ्चालन हुँदै छ। प्रशिक्षक र रेफ्रीले एन्फाको ‘डी’ लाइसेन्स प्राप्त गर्नेछन्। रेफ्रीको प्रशिक्षणमा भने महिला कैदीबन्दीले मात्र सहभागिता जनाउन पाउनेछन्। यो प्रशिक्षणका लागि आयोजकको प्राविधिक सहयोगमा केन्द्रीय कारागार प्रशासनले छनोट गर्नेछ।

‘कारागार प्रशासनले हाम्रो गाइडलाइनमा प्रशिक्षणका लागि छनोट गर्नेछन्। छनोट दुई चरणमा हुनेछन्। पहिलो सजाय पूरा भएर छुट्न लागेका र दोस्रो लामो समय कैद भुक्तान गर्ने गरी दुई समूहमा प्रशिक्षण गर्नेछौं। बाहिर गएकाले समाजमा राम्रो सन्देश दिऊन् र भित्र प्रशिक्षितले त्यहाँ रहेकालाई सिकाऊन् भन्ने हाम्रो लक्ष्य हो,’ सेल्टर नेपालकी अध्यक्ष खुस्बुले भनिन्।

दोस्रो चरणको प्रशिक्षण डिसेम्बर एकदेखि आगामी वर्षको मेमा अन्त्य हुनेछ। उक्त प्रशिक्षण कार्यक्रमका लागि सातदोबाटोस्थित (एन्फा) कम्प्लेक्समा सेल्टर नेपाली अध्यक्ष खुस्बु ओली र एन्फाका महासचिव इन्द्रमान तुलाधारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सो अवसरमा एन्फा महासचिव तुलाधारले यस कार्यक्रमबाट उत्कृष्ट प्रतिभालाई अवसर दिन सक्ने पनि उल्लेख गरे।

सेल्टर नेपालकी अध्यक्ष खुस्बुले जेलभित्रका कैदीबन्दीको मानसिक स्वास्थ्यमा सहयोग र उनीहरूमा आत्मविश्वास जगाउने उद्देश्यअनुरूप यो कार्यक्रम ल्याइएको धारणा राखिन्। ‘कैदीबन्दीले जेल सजाय भुक्तान गरेपछि पुनः गलत बाटो नजाऊन् र सामाजिक कार्य तथा देशप्रति योगदान गर्ने भावना जागोस् भन्ने उद्देश्य यस कार्यक्रमले लिएको छ,’ उनले भनिन्, ‘साथै जेल सजाय काटेर बाहिर आइसकेपछि उनीहरूलाई रोजगारीको माध्यम सिर्जना गर्ने हाम्रो लक्ष्य हो। यो प्रतिबद्धता हामीले त्रिपक्षीय सम्झौतापत्रमा पनि उल्लेख गरेका छौं।’

सेल्टर नेपालले पछिल्ला पाँच वर्ष सडक बालबालिकालाई लक्षित गरेर खेलकुदका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। उसले सडक बालिकालाई प्रशिक्षण दिई रसियामा सम्पन्न सडक बालबालिकाको विश्वकपमा पनि सहभागी गराएको थियो।

सोही योगदानको कदरस्वरूप बियोन्ड स्पोटर््स नामक अन्तर्राष्ट्रिय संस्थाले यस सेल्टर नेपाललाई स्पोट्र्स फर पिस एन्ड सोसियल जस्टिस अवार्डका लागि विश्वभरबाट शीर्ष चारमा मनोनीत गरेको थियो। एएफसीले सन् २०१८ मा सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एएफसी ड्रिम एसिया अवार्ड र लगत्तै अर्को वर्ष एएफसीले एनजिओतर्पm सेल्टर नेपाललाई सिल्भर अवार्ड पनि प्रदान गरेको थियो।

प्रकाशित: १९ जेष्ठ २०७९ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App