२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

कक्षपतिद्वारा पदभार ग्रहण

काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष गणेशलाल कक्षपतिले शुक्रबार पदभार ग्रहण गरेका छन्। सानो गौचरनस्थित समितिको कार्यालयमा कक्षपतिले पदभार ग्रहण गरेका हुन्।

उनलाई समितिकी कार्यालय प्रमुख ज्योति राई, कर्मचारी, प्रशिक्षक, खेलाडी लगायतले स्वागत गर्दै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए। बाग्मती खेलकुद विकास परिषद्ले दक्षिणकाली नगरपालिकाको चाल्नाखेल १ निवासी कक्षपतिलाई २ वर्षका लागि अध्यक्षमा मनोनीत गरेको हो।

खेलकुद पृष्ठभूमिका ४४ वर्षीय कक्षपति नेपाल राष्ट्रिय मुबाँथाई संघका अध्यक्षका साथै प्रमुख प्रशिक्षक हुन्। कक्षपतिले २०५२ सालदेखि क्योकुसिन कराते खेल्न थालेका थिए। उनले २०५५ सालदेखि क्योकुसिनसँगै मुवाँथाई खेललाई पनि सँगसँगै अघि बढाए। उनले सन् २०१० मा थाइल्यान्डमा भएको विश्व मुवाँथाई च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए। क्योकुसिन करातेका तेस्रो डान कक्षपति मुवाँथाईका सहायक ग्रान्ड मास्टर हुन्।

पदभार ग्रहण कार्यक्रममा कक्षपतिले वार्षिक क्यालेन्डर तयार गरी काठमाडौं जिल्लाको खेलकुदलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुदको मिति घोषणा भइसकेकाले आफ्नो पहिलो प्राथमिकता त्यही हुने बताए। उनले खेलकुदमा लागेको व्यक्तिलाई काठमाडौं जिल्लाको नेतृत्व गर्ने अवसर प्रदान गरेकोमा सम्बन्धित सबैलाई धन्यवाद दिए।

कार्यालय प्रमुख राईले कार्यालयको अवस्थाबारे जानकारी गराउँदै खेलकुद पृष्ठभूमिकै व्यक्ति अध्यक्षको जिम्मेवारीमा आएकाले सबै समस्याको समाधान हुने विश्वास व्यक्त गरिन्।

प्रकाशित: ३ वैशाख २०७९ ०१:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App