११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

मछिन्द्रलाई हराउँदै बागमती सेमिफाइनलमा

ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटवल क्लवलाई हराउँदै बागमती युथ क्लव मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। धनगढी रंगशालामा मंगलबार भएको खेलमा मछिन्द्रलाई पेनाल्टी शुट आउटमा ४–२ गोलको अन्तरले हराउँदै बागमती अन्तिम चारमा पुगेको हो।

यसअघि ए डिभिजन क्लव न्युरोड टिम एनआरटीलाई पेनाल्टी शुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्दै बागमती क्वाटर फाइनलमा प्रवेश गरेको थियो भने मछिन्द्रले सिधै क्वाटरफाइनल खेल खेलेको हो। लिगको उपाधि जितेपछि मछिन्द्रले मोफसलमा खेलेको यो पहिलो खेल हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा कुनै टिमले पनि गोल गर्न सकेनन्। निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि पेनाल्टी शुट आउटबाट निर्णय लिइएको थियो। पेनाल्टी शुट आउटमा मछिन्द्रका दुई खेलाडीले गोलपोष्ट बाहिर प्रहार गर्दा बागमती जित हात पार्न सफल भयो।

पेनाल्टीमा बागमतीका अमन श्रेष्ठ, ईमान घलान, ड्याडी वाम्बा जुनियर र अनिल रानाले गोल गरे। दिवस लिम्वुको प्रहार भने मछिन्द्रका गोल किपर बिशाल श्रेष्ठले बचाएका थिए। मछिन्द्रका रंजित धिमाल र बिमल घर्तीमगर गोल गर्न  सफल भएपनि अन्य २ खेलाडी भने गोल गर्नबाट चुके। बिशाल राई र नुरेन करिमले गोलपोष्ट बाहिर प्रहार गरेका थिए। ४ खेलाडीको प्रहारमा २ मात्र गोल भएकाले पाचौ खेलाडीले पेनाल्टी प्रहार गर्नु नै परेन। बागमतीले सेमिफाइनल फ्रेण्ड्स क्लवसँग प्रतिस्पर्धा गर्ने छ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वागमतीका निकोलस फर्नाडेज म्यान अफ द म्याच भए। उनले नगद १० हजार प्राप्त गरे।  

खेलपछि प्रतिक्रिया दिँदै वागमती युवा क्लवका प्रशिक्षक रोहित केसीले लिग च्याम्पीयन र ए डिभिजन खेलाडीहरुलाई आफ्ना खेलाडीहरुले हराउँदा निकै खुशी लागेको बताए। ठूला क्लबलाई हराउँदा मनोबल बढ्दै गएको र प्रतियोगिताको उपाधि जित्ने उनले दावी गरे। ‘आज एकदमै खुशी छौं। लिग च्याम्पीयनलाई जित्न सफल भयौ’, उनले भने। मोफसल क्लब पनि ए डिभिजनभन्दा कम छैनन् भनेर प्रमाणित गर्न पनि सफल भएका उनको भनाइ छ।

पेनाल्टीमै लैजाने रणनीति सफल भएको उनले बताए। ‘दोस्रो हाफमा रणनीति चेन्ज गर्दा नतिजा हाम्रो पक्षमा आयो’, उनले भने। खेलाडीको मनोवल बढेकोले सेमिफाइनलमा पनि एक डिभिजन क्लबलाई हराएर उपाधि जित्ने उनको भनाइ छ।

खेलपछि प्रतिक्रिया दिँदै मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले राम्रो खेल्दा पनि गोल गर्न नसक्दा र भाग्यले साथ नदिँदा पराजय भोग्नु परेको बताए। ‘पहिलो म्याच भएर गाह्रो पनि भयो। उनीहरुको टारगेट पेनाल्टीमा लैजाने थियो। त्यसमा वागमती सफल भयो’, उनले भने। प्रेसरमा खेल्दा र खेललाई ईजी लिँदा पराजित हुनुपरेको उनले बताए। ‘हामीलाई भाग्यले पनि साथ दिएन’, उनले भने,‘हामीले शतप्रतिशत दिँदा पनि राम्रो चान्समा गोल हुन सकेन। मैदानका कारण पनि खेल्न गाह्राे भयो। वागमतीले विदेशी खेलाडी थपेका छन्। त्यसले उनीहरुलाई थप बलियो बनायो। १२ महिना प्रशिक्षण गरेको हुनाले पनि उनीहरुलाई यो नतिजा दिलाएको उनको भनाइ थियो।

प्रकाशित: २४ फाल्गुन २०७८ १४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App