१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

नेपालद्वारा क्वालिफायर यात्राको सुखद अन्त्य

ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले ओमानमाथि ९ विकेटको सहज जितसहित आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल क्वालिफायर यात्राको सुखद अन्त्य गरेको छ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा ओमानले प्रस्तुत गरेको ८८ रनको लक्ष्य नेपालले १६.२ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा गरेको थियो। नेपालका लागि कुशलले अविजित ५४ र आरिफ शेखले अविजित २१ रनको योगदान गरे। कुशलले ५३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दा आरिफले २७ बलमा १ चौका प्रहार गरे।

८८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले रनखाता खोल्न दोस्रो ओभरको तेस्रो बलसम्म कुर्नुपरेको थियो। विलाल खानको पहिलो ओभरमा कुशलले रन खाता खोल्न सकेनन्। कुशल र आरिफले पहिलो विकेटका लागि ५० रनको साझेदारी गर्दै नेपाललाई सहज जित दिलाउने संकेत गरेका थिए। 

दोस्रो विकेटका लागि कुशलले आसिफ सेखसँग अविजित ४० रनको साझेदारी गरेका थिए। ओमानका लागि जिसन मक्सुदले ३ ओभरमा २१ रन खर्चंदै १ विकेट लिए। ग्लोबल क्वालिफायरमा ओमानमाथि नेपालको यो दोस्रो जित हो। यसअघि समूहचरणमा नेपालले ओमानलाई ३९ रनले हराएको थियो।

ग्लोबल क्वालिफायरअघि सम्पन्न चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पनि नेपालले ओमानलाई हराएको थियो। सो शृंखलामा नेपाल र ओमानसहित आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (युएई) पनि सहभागी थिए। 

ग्लोबल क्वालिफायरको समूह ‘बी’ मा रहेको नेपाल समूहविजेताका रूपमा सेमिफाइनल प्रवेश गरे पनि सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित भएसँगै यसै वर्षको नोभेम्बरमा अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान सुरक्षित गर्न असफल भएको थियो। युएईसँगै आयरल्यान्डले विश्वकपमा स्थान बनाएको थियो।

नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी २० विश्वकपको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेको थियो। त्यसयता भने नेपालले ट्वान्टी–२० विश्वकपमा छनोट हुन सकेको छैन। यसअघि टस जितेर ब्याटिङका लागि आएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रनको सामान्य योगफल खडा गरेको थियो।

ओमानमा कप्तान जिसन मक्सुदले २१, आयान खानले १६, नासिम खुसीले १५ र खालीमुल्लाहले १४ रन बनाए। अन्य ब्याटरले दोहोरो स्कोरमा रन प्रहार गर्न सकेनन्। मक्सुदले २८ बलमा ३ चौका प्रहार गर्दा नासिमले १५ बलमा १ चौका प्रहार गरे।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १३ रन खर्चंदै ३ विकेट लिए। त्यस्तै कमलसिंह ऐरी, आरिफ शेख, अविनाश बोहोरा र सागर ढकालले समान १ विकेट लिए।

प्रकाशित: १३ फाल्गुन २०७८ ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App