२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

श्रमाधान रोजगार मेलामा ८५ लाख खर्च

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न ‘श्रमाधान रोजगार मेला’ मा ८५ लाख ३३ हजार आठ सय ६५ रूपैयाँ खर्च गरेको छ। यसका लागि ९३ लाख ६ हजार नौ सय ६३ रूपैयाँ बजेट छुट्याइएको थियो। मेलामा १७ हजार नौ सय २१ जनाले रोजगारीको लागि आवेदन दिएको जानकारी मन्त्रालयले दिएको छ।

मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ मा रोजगारदाताले प्रतिवद्धताअनुसार रोजगारी दिए/नदिएको अभिलेख राखिने जानकारी दिए। ‘रोजगारदाताले प्रतिवद्धताअनुसार युवालाई रोजगारी दिए नदिएको मन्त्रालयले निरन्तर जानकारी लिनेछ,’ उनले भने।  

मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालका अनुसार, ४१ हजार तीन सय २५ जनाले मेला अवलोकन गरेका थिए। रोजगारदाताबाट १४ हजार ७ सय ८८ श्रमिकको माग भएको थियो। मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्रसहितका तीन सय २२ वटा स्टल राखिएको थियो।  

मेलामा विभिन्न शीर्षकमा ३६ वटा कार्यशाला पनि सञ्चालन गरिएको थियो । संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार गरी तीन सय ३५ संघ संस्थासँग सहकार्य गरिएको मेला संयोजकसमेत रहेका रिजालले बताए।

मन्त्रालयले गत जेठ १७ देखि ३० गतेसम्म सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना गरेको थियो। मेलामा सिप विकास कार्यशाला, नेटवर्किङ सत्र, स्टल र रोजगारीका अवसरका प्यानल छलफल सञ्चालन गरिएको थियो। जसमा एक सय ७६ भन्दा बढी विज्ञहरूले वक्ताको रूपमा सहभागिता जनाएका थिए। 

रोजगारी सिर्जना, योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम आप्रवासन, व्यावसायिक सिप विकास, उद्यमशीलता विकास र यस क्षेत्रका समस्या, चुनौती तथा आगामी कार्यदिशाका सम्बन्धमा छलफल चलाइएको थियो। 

आठ उत्कृष्ट उद्यमी पुरस्कृत

मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर देशमा उद्यम गरी रहेका आठ उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेको छ। मन्त्रालयले आइतबार उनीहरूलाई नगदसहित सम्मान गरेको हो।

वैदेशिक रोजगारीबाट फर्केका युुवालाई मुलुकमै रोजगारीका अवसर सिर्जना गर्न प्रेरित गर्ने ध्येयले मन्त्रालयले प्रत्येक वर्ष वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरिरहेका उद्यमीहरूलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ।  

राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि उद्यमीसँग सार्वजनिक रूपमै आवेदन माग गरिएको थियो। इमेलमार्फत ८९ जना उद्यमीले पुरस्कारको लागि आवेदन दिएका थिए।  

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिमको पुरस्कार सिफारिस समितिले उद्यमीको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणबाट प्राप्त प्रतिवेदनको आधारमा सम्भव भएसम्मका सातवटै प्रदेशको प्रतिनिधित्व कायम गर्ने गरी आठ जना उद्यमीलाई राष्ट्रिय पुरस्कार विरतण गरिएको हो।

उद्यमीलाई सम्मान गर्दै श्रममन्त्री अर्यालले एक पटक वैदेशिक रोजगारीमा गएर फर्केका युवालाई मुलुकभित्रै रहने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताए।

 ‘एक पटक विदेश गएर सिकेको ज्ञान र सिपलाई मुलुकभित्रै प्रयोग गरी उद्यमी बनाउन आवश्यक वातावरण तयार पार्नुपर्छ। यसका लागि सहुलियत कर्जालाई सहज र व्यवस्थित बनाउनु पर्नेछ,’ उनले भने।

त्यस्तै, मन्त्री अर्यालले मिटरब्याजमा कर्जा लिएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन्। चर्को ब्याजमा कर्जा लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई हटाउन मन्त्रालयले तयारी गरेको समेत उनले बताए।  

झापाकै चन्द्रप्रसाद बस्नेतले उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्। पुरस्कार बापत एक लाख ५० हजार रूपैयाँ नगद प्राप्त गरेका छन्। 

गुल्मीका रविलाल पन्थ, झापाका मोहनप्रसाद संग्रौला, जुम्लाका टक्कबहादुर नेपाली, कन्चनपुरका चन्द्रसिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भुपेन्द्र शर्मा र बाराका हिराबहादुर थापाले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्। पुरस्कारबापत ७५ हजार रूपैयाँ नगद प्रदान गरिएको छ।

प्रकाशित: १७ असार २०८१ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App