५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

आहा–रारा गोल्डकपः मुख्य प्रायोजकसँगको दुई दशक यात्रा

आहारारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणको ट्रफी उचाल्दै गर्दा मुख्य प्रायोजकसँगको बीसवर्षे सम्झौतामा पनि पूर्णबिराम लागेको छ। शसस्त्र प्रहरी बलको एपीएफले २०औं संस्करणको उपाधि उचाल्दै इतिहास कोर्यो। सहारा क्लबले पनि गोल्डकपको बीसवर्षे जवान यात्रालाई शनिबार विट मार्यो। हिमश्री फुड्सको दोस्रो पटक गरिएको सम्झौता समेत सकियो।  

पहिलो दशवर्ष आहा गोल्डकप गर्यो । त्यसपछिको दशवर्ष आहारारा गोल्डकपको नाममा प्रतियोगिता चल्यो। चरम राजनीतिक संकटबाट गोल्डकपको यात्रा शुरु गरेको सहाराले २० वर्षे यात्रामा धेरै आरोह अवरोध उतार चढाव बेहो¥यो। राजनीतिक संकट, भूकम्पले थलिएको अवस्थालाई प्रत्यक्ष नियाल्यो। त्यसपछि भईरहेको प्यारापिट भत्काएर जीर्ण अवस्थामा फुटबल खेलाउनुपर्ने परिस्थितिबाट गुज्रियो। अहिले कोभिडको संक्रमणसँगै त्रासको संकटबाट पार लगायो।  

सहाराको फुटबल यात्रा क्याराभान गोल्डकपबाट शुरु भएको थियो। फुटबलमै दुर्लभ नतिजा निस्कियो। सिक्काले गाई कि त्रिशुल गरेर निर्णय गरिएको पोखराको फुटबल इतिहासमा लेखियो। क्लबस्तरीय नकाउट फुटबलमा क्याराभान गोल्डकपले छाप छोड्यो। त्यो छापले पोखराकै प्रतिष्ठित उद्योगी घराना हिमश्री फुड्सलाई फुटबलसँग जोडिदियो। क्लबले फुटबलमा देखाएको साहस र हिमश्री फुड्सले देखाएको आत्मियताले राजनीतिक द्वन्द्वको अवस्थामा फुटबलबाटै पर्यटनमा नयाँ आयाम शुरु भयो।  

२०५९ सालमा हिमश्री फुड्सले क्लबलाई मुख्य प्रायोजन गर्ने गरी सम्झौता गर्यो। पहिलो दशवर्ष हिमश्री फुड्सले सहारा क्लबसँग आहा गोल्डकपको नाममा प्रतियोगिता सञ्चालन गर्ने गरी सम्झौता गरेर नयाँ थालनी गरेको थियो।  

माओवादी द्वन्द्व उत्कर्षमा थियो। चन्दा संकलनबाट जर्जर बनेको अवस्थामा पनि हिमश्री फुड्सले प्रायोजन गरेर फुटबलमा गुन लगायो। हिमश्री फुड्सले लगाएको गुनलाई सहाराले मन बचन र कर्मले आत्मा साक्षी राखी काम गर्यो। जसले पोखरामा आयोजना गरिएको आहा गोल्डकपलाई मोफसलमै उत्कृष्टको प्रमाणित स्वयं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबहरुको सहभागिताले गरिसकेको छ।  

गोल्डकपले २०५९, २०६०, २०६१ र २०६२ सालसम्म राजनीतिक संकटबाट गुजा¥यो। त्यसपछि २०७२ को महाभूकम्पको जटिल परिस्थितिको सामना गर्यो। त्यसअघि नै रारा जोडियो। आहा रारा गोल्डकपले पनि उस्तै संकटकै अवस्थामा पुग्यो। भ्ूकम्पले जर्जर पोखरा रंगशालाको प्यारापिट राष्ट्रिय खेलकुद परिषदले भत्कायो। भत्काईरहँदा गोल्डकप चल्यो। दर्शक जीर्ण अवस्थाको पूर्वाधारमा जोखिमपूर्ण अवस्थामा बसेर फुटबल हेरे। त्यसबाट पनि फुटबलप्रतिको दर्शकको मोह प्रष्ट झल्किन्थ्यो। क्लबको प्रयासलाई दर्शकले समेत साथ दिए।  

भत्काईएपछि निर्माणाधिन प्यारापिटमा समेत दर्शक अपेक्षा भन्दा कम राखेर फुटबल चलायो। मुख्य प्रायोजन गरेको प्रतिष्ठित घरानाले यावत घटनाक्रम दोहोरिदाँ सम्झौता तोडेर भाग्ने प्रयास गरेन्। क्लबलाई अझै गतिशिल बनाउन अटल बनिरह्यो। फुटबलमा नाफा र घाटा भन्दा पनि पोखराको प्रतिष्ठालाई आँच आउन क्लब र हिमश्री फुड्सले दिएनन्।  

एकपछि अर्को चुनौति व्यहोर्दै आएको क्लबले पछिल्लो तीन वर्ष कोभिडको संक्रमणबाट अछुतो रहन सकेन् । २०७६ सालको चैतमा गोल्डकप टुग्याउँदा कोभिडको लहर देखा परिसकेको थियो । एकखाले त्रास छाएको थियो । २०७७ मा कोभिडको दोस्रो लहरले सबै क्षेत्र तहसनहस जस्तै भएको थियो । २०७८ मा आईपुग्दा कोभिडको नयाँ भेरियन्ट  ओमिक्रोन पाईलैपिच्छे देखा पर्यो । स्वास्थ्य मापदण्ड, भौतिक दुरी कायमसँगै जिल्ला प्रशासन कार्यालयको निर्देशनमा दर्शकविहीन फुटबल खेलाउनुपर्ने बाध्यतात्मक अवस्थाबाट प्रतियोगितालाई समापन गर्यो ।  

बीसवर्षे यात्रामा आधाजसो तनाबैतनाबबाट प्रतियोगिता सञ्चालन भयो। प्रतियोगिताबाट प्राप्त बचत रकमले कठिन परिस्थितिका विपन्न बालकलाई फुटबलर बनाउने अभियानमा सघंर्ष गर्दै आएको छ। तेस्रो व्याचलाई आफनै आवाससहितको एकेडेमीमा राखेको छ। ‘मुख्य प्रायोजक हिमश्री फुड्ससँगको २० वर्षे सम्झौता सकिएको छ । अब नयाँ सम्झौताको छलफलमै छौं,’क्लबका महासचिव रामजीप्रसाद अधिकारीले भने, ‘फुटबल विकासमा हिमश्री फुड्सले गरेको सहकार्यले फुटबलमा मात्रै नभई पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ।’  

२१ औं संस्करण कत्तिको चुनौतिपूर्ण हुन्छ त्यो भने बाँकी नै छ। हिमश्री फुड्सले सम्झौतालाई फेरी तेहे¥याउनेमा क्लब विश्वासी छ। आहाबाट आहारारा हुदैं टुंगिएको गोल्डकपको २० वर्षे यात्रा नयाँ शिराबाट शुरु हुने अपेक्षा गरिएको छ। ‘हिजो जटिल परिस्थितिमा सम्झौता गरेर फुटबल विकासमा अहम भूमिका हिमश्री फुड्सले खेल्यो। त्यसले नेपाली फुटबललाई धेरै हदसम्म गुन लगायो,’ उनले थपे, ‘प्रायोजनले हिमश्री फुड्सलाई पनि प्रतियोगिता मार्फत माईलेज पुग्यो भन्ने अपेक्षा हाम्रो छ।’ व्यवसायिक घरानाले पोखरामै आयोजना हुने गोल्डकपलाई मुख्य प्रायोजन गर्दै अपनत्व लिनु दायित्व र जिम्मेवार समेत भएको फुटबलप्रेमी बताउँछन्। फुटबल प्रेमीको बुझाईमा हिमश्री फुड्सले सम्झौतालाई नविकरण गर्दै अझ गुणस्तरीय र व्यवसायिक बनाउने अपेक्षा गरिएको छ। 

प्रकाशित: १६ माघ २०७८ ०८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App