१ पुस २०८१ सोमबार
image/svg+xml
खेल

विमलको पुनरागमन सुखद

मोरिससविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै नेपाली खेलाडी। तस्बिरः नागरिक

स्ट्राइकर विमल घर्तीमगरले राष्ट्रिय फुटबल टोलीबाट आफ्नो पुनरागमन सुखद पारेको दिन नेपालले मोरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार विमलको निर्णायक गोलमा नेपालले १–० को जित हात पारेको हो। ५४औं मिनेटमा अञ्जन विष्टले उपलब्ध गराएको बललाई विमलले सहजै मोरिससका गोलकिपर तथा कप्तान केभी जेन लुइसलाई पार गर्दै जाली चुमाएका थिए। नेपालका लागि विमलको यो नवाैं गोल हो। मोरिससविरुद्धको खेलसँगै विमल २६ महिनापछि नेपाली राष्ट्रिय टोलीमा फर्किएका थिए। सन् २०१९ नोभेम्बरमा म्यानमारविरुद्धको खेलपछि प्रतिबन्ध र चोटका कारण विमल राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका थिए। एसिया कप छनोटको तयारीमा रहेको नेपालले दुई मैत्रीपूर्ण खेलका लागि अफ्रिकी राष्ट्र मोरिससलाई आतिथ्य प्रदान गरेको हो।  

दोस्रो खेल मंगलबार दशरथ रंगशालामा हुनेछ। मोरिससविरुद्धको जितपछि नेपालका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले टोलीको प्रदर्शनबाट सन्तुष्ट रहे पनि केही सुधार आवश्यक रहेको बताए। ‘हामी साफ च्याम्पियनसिपपछि आज पहिलो पटक मैदान फर्किएका हौं तर पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो,’ अब्दुल्लाले भने, ‘हामी एसिया कप छनोटको तयारीमा छाैं। त्यसैले मोरिससविरुद्धको खेल र उनीहरूविरुद्धको नतिजा हाम्रा लागि निकै महत्वपूर्ण छ। आज हामीले पाएका केही अवसर गुमायौं। जुन दोस्रो खेलमा हामीले सुधार गर्नुपर्ने पक्ष रह्यो। त्यस्तै मोरिससले पनि तीनवटा सुनौलो अवसर पायो। त्यसैले हाम्रो रक्षापंक्तिमा पनि सुधार गर्नुपर्ने देखिएको छ।’ अब्दुल्लाले विमलले पुनरागमन सुखद पार्दा खुसी भए पनि टोलीले उनीबाट धेरै आशा गरेकाले आगामी खेलमा उनले अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

यसअघि ७५औं मिनेटमा जगजित श्रेष्ठको क्रसमा अञ्जन विष्टले गरेको हेडर क्रस बारमा लागेर फर्कंदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो।

७८औं मिनेटमा नेपालले पुनः गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन। अञ्जनले गरेको प्रहार पोलमा लागेर फर्किएको थियो। लगत्तै रिबाउन्डमा प्राप्त बलमा जगजितले गरेको प्रहार मोरिससका गोलकिपर लुइसले विफल पारेका थिए। ४६औं मिनेटमा फर्नान्डो ज्याक्सनको प्रहार पोलमा लागेर फर्कंदा मोरिसस अग्रता लिनबाट चुकेको थियो।

मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले आफूहरू करिब साढे २ वर्षपछि मैदान फर्किएकाले नेपालविरुद्धको प्रदर्शनमा सन्तुष्ट रहेको बताए। ‘आज हामीले धेरै रक्षात्मक खेल्दा दबाब झेल्नुपर्‍यो, त्यही दबाबमा गोल खान पुग्याैं,’ फ्रान्कोइसले भने, ‘हामीले पनि पाएका केही अवसर गुमायौं। तर समग्रमा टोलीको प्रदर्शनबाट सन्तुष्ट छु। दोस्रो खेलमा हाम्रा प्रमुख चार खेलाडी टोलीमा फर्कनेछन्। त्यसैले दोस्रो खेलमा सुखद नतिजा ल्याउनेमा आशावादी छु।’मोरिससविरुद्धको खेलसँगै मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढामगरले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरे।

सुदीप ८५औं मिनेटमा सुरजज्यू ठकुरीको स्थानमा मैदान प्रवेश गरेका थिए भने आकाश इन्जुरी समयमा तेज तामाङको स्थानमा मैदान प्रवेश गरेका थिए।

प्रकाशित: १६ माघ २०७८ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App