घरेलु क्लब सहारा क्लबले शसस्त्र प्रहरी बल(एपीएफ क्लब)सँग उदघाटन खेल खेल्दै २० औं संस्करणको आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको शुरुवात गर्ने छ। बिहीबारदेखि शुरु हुने आहा रारा गोल्डकपमा सहाराले गतवर्षको हारलाई विर्साउँदै सुखद अनुभूति गर्ने लक्ष्यमा रहने छ।
एपीएफले भने मोफसलको उत्कृष्ट फुटबल प्रतियोगितामा जितको श्रृंखला दोहोर्याउने अभियानमा केन्द्रीत हुने छ। जित्ने टोलीले अमेरिकन टोली भुटानिज युथ सोसाईटी क्लबसँग प्रतिस्पर्धा गर्ने छ।
कोभिड–१९ को तेस्रो लहर उत्कर्षमा पुग्दै छ। यद्यपी जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक गरेको सूचना अनुसार पोखरा रंगशालामा स्वास्थ्य मापदण्ड पुरा गरेर एकचौथाई दर्शक राखेर खेल सञ्चालन गर्न सकिने उल्लेख गरेको छ। फुटबल प्यारापिटमा १६ हजार ५ सय दर्शक सिट क्षमता छ। यद्यपी सहारा क्लबले दर्शकलाई अनिवार्य खोप कार्ड देखाउनुपर्ने मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत आग्रह गरेको छ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको प्रतियोगितामा तीन विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र एपीएफ क्लबसहित ए डिभिजनका मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र क्लब, संकटा क्लब, थ्रीस्टार र हिमालयन शेर्पा क्लबले १० लाख १ हजार पुरस्कार राशीको उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छ।
माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुने प्रतिस्पर्धालाई सहारा क्लब हङकङले दोस्रो पुरस्कार प्रायोजन गरेको छ। सर्वोत्कृष्ठ खेलाडीले अप्रिला स्कुटर प्राप्त गर्ने छ। सर्वाधिक गोलकर्ताको पुरस्कार प्रायोजन हङकङ निवासी देव गुरुङले गर्दै आएका छन्। उनले यो वर्ष पनि निरन्तरता दिएका छन्। उत्कृष्ट पाँच विधाको पुरस्कार सुर्यबहादुर केसी स्मृतिको नामबाट प्रदान गरिने छ। प्रत्येक विधाको विजेताले नगद २५ हजारसहित ट्रफी प्राप्त गर्ने पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले जानकारी दिए।
उनका अनुसार प्रत्येक खेलमा प्लेयर अफ दि म्याच घोषित खेलाडीले ट्रफीसहित नगद ८ हजार रुपैयाँ प्राप्त गर्ने छन्। उत्कृष्ठ पाँच, प्लयेर अफ दि म्याच, सर्वोत्कृष्ठ खेलाडी, अनुशासित टोलीको ट्रफी तथा खेलाडीलाई दिईने पदकको पुरस्कार प्रायोजन सहारा युकेले गरेको छ। क्लबले उदघाटन समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी सम्मान गरिने जनाएको छ। नगद ३५ हजार रुपैयाँसहित दोसल्ला ओढाई सम्मान गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए। सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी सम्मानको प्रायोजन सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गरेका छन्।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, गण्डकी खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, पोखरा महानगर खेलकुद विकास समिति, सहारा क्लब युके, सहारा क्लब हङकङ, सहारा क्लब अष्ट्रेलियाको विशेष सहयोग रहेको छ। प्रतियोगितामा १ करोड ३६ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। बचत रकम २०७० सालदेखि आवासीय रुपमा शुरु गरेको सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमीलाई खर्च गरिने छ। क्लबले तेस्रो व्याचका २४ जना बालकलाई आश्रय दिएको छ।
प्रकाशित: ४ माघ २०७८ ०७:४५ मंगलबार