७ वैशाख २०८१ शुक्रबार
खेल

स्तर सुधार्न कार्यदल

खेलाडीको स्तर सुधार गर्ने उद्देश्यअनुरूप राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सात सदस्यीय हाई पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको छ।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको प्रदर्शनमा सुधार गर्नका लागि राखेपले हाई पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको हो। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ बमोजिमअनुसार मंसिर २४ गते राखेप सदस्यसचिवस्तरीय निर्णयअनुसार उक्त कमिटी गठन गरिएको छ।

सात सदस्यीय कमिटीको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक दीपकराज शाही, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ तथा खेलविज्ञद्वय पार्थसारथी सेन गुप्त र सुमन डिसी छन्। उक्त कमिटीको सचिवमा तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहाललाई तोकिएको छ।

सोमबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको बैठकले राष्ट्रिय खेल संघसँग आवश्यक छलफल गर्न उनीहरूलाई बैठकमा बोलाउने निर्णय गरेको कमिटीका सचिव दाहालले जानकारी गराए। बैठकमा सदस्यसचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय सहभागिताको नतिजामा सुधार, खेलाडी छनोट तथा खेलको पुस्ट्याइँ, प्रशिक्षकको स्तर वृद्धि र नतिजामुखी काममा ध्यान दिनुपर्नेमा जोड दिए।

प्रतिस्पर्धामा सशक्त सहभागिता गराई उल्लेख्य पदक प्राप्त गर्ने उद्देश्यले यस कमिटी गठन गरिएको छ। आगामी दिनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सशक्त सहभागिताका लागि खेलकुदलाई समयानुकूल सुधार गर्दै लाने उद्देश्य प्राप्तिसहितको अन्तर्राष्ट्रिय सहभागिता गराउने राखेपले जनाएको छ। यसका लागि राखेपमा उपयुक्त प्रतिवेदन पेस गर्न ९ बुँदे कार्यादेश (टिओआर) सहित कमिटी गठन गरिएको छ।

एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने सम्भावित खेलगत पुस्ट्याइँ र संख्या निर्धारण, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने खेलगत खेलाडीको स्वच्छ, निष्पक्ष र निर्विवाद रूपमा उत्कृष्ट खेलाडी छनोट गर्ने कार्यादेशमा उल्लेख छ। यो कमिटीले बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय खेलाडीहरूको प्रशिक्षण पद्धतिको अनुगमन निरीक्षण गरी प्रशिक्षणको क्रममा देखिएका त्रुटिलाई सुधार गरी नतिजामूलक तयारी गर्ने बताइएको छ।

त्यस्तै प्रशिक्षणका लागि अति आवश्यक सामग्री र पद्धतिको पहिचान गरी उचित व्यवस्थापनका लागि सिफारिस गर्ने, राष्ट्रिय खेल संघहरूसँग आवश्यक समन्वय गर्ने र आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समन्वय कायम गर्ने उक्त कमिटीको जिम्मेवारी रहेको छ।

प्रकाशित: २९ मंसिर २०७८ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App