१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

इतिहास बनाउने लक्ष्यनजिक जोकोभिच

राफाइल नाडाललाई स्तब्ध बनाउँदै फ्रेन्च ओपनको उपाधि भिडन्त पक्का गरेका नोभाक जोकोभिच आइतबार ५२ वर्षपछि चारै ग्रान्ड स्लाम दुई पटकभन्दा बढी उचाल्ने पुरुष खेलाडी बन्ने लक्ष्यमा हुनेछन्।

क्ले कोर्टका बादशाह नाडालमाथि शुक्रबार उत्कष्ट पुनरागमन गर्दै विश्व नम्बर एक जोकोभिच आइतबार ग्रिसका स्टेफानोस सिटसिपाससँग भिडन्त तय गर्दा उपाधिसहित टेनिसमा इतिहास बनाउने अभियानमा हुनेछन्। त्यो जितबाट सर्बियन स्टार जोकोभिचले रोय इमर्सन र रोड लाभेरसँगै चारै ग्रान्ड स्लाम दुईभन्दा बढी पटक जितेको रेकर्ड पूरा गर्नेछन्। नाडाल र रोजर फेडेररजस्ता टेनिसका दुई सदाबहार खेलाडी उपस्थित रहेको प्रतियोगितामा उनी यो लक्ष्य पूरा गर्ने लक्ष्यमा हुनेछन्। सन् १९६९ मा लाभेरले चारै ग्रान्ड स्लाम दुई पटक जित्ने रेकर्ड बनाएका थिए।

५२ वर्षपछि जोकोभिचले त्यो रेकर्ड पूरा गरे आफ्नो करियरको १९औं ग्रान्ड स्लामसमेत उचाल्नेछन्, जुन नाडाल र फेडेररको भन्दा एकले कम हो। पेरिसमा १३औं पटक फ्रेन्च ओपन जितेका नाडालमाथि जित रच्दै फाइनलमा पुगेका जोकोभिचले शारीरिक या भावनात्मक रूपमा कुनै निराशा नहुने बताए। ‘ऐतिहासिक ग्रान्ड स्लाम सेमिफाइनल खेलेको यो पहिलो पटक होइन। ४८ घन्टाभन्दा कम समयमा फाइनलमा रिकभर हुनु पर्नेछ,’ ३४ वर्षे जोकोभिचले भने, ‘मेरो करियरमा रिकभरी क्षमता केही राम्रो पनि छ।’

उनले विश्व नम्बर तीन नाडालसँग करिब चार घन्टासम्म संघर्ष गरेका थिए। तीमध्ये तेस्रो सेट मात्र ९२ मिनेटसम्म चलेको थियो। फिलिप काट्रियर कोर्टमा भएको उक्त खेलमा ५ हजार दर्शकलाई अनुमति दिइएको थियो। पहिलो सेट ३–६ ले गुमाएका जोकोभिचले त्यसपछि ६–३, ७–६ (७–४) र ६–२ ले पुनरागमन गरेका थिए। त्यो जितसँगै जोकोभिचले सन् २०१५ पछि दोस्रो पटक नाडाललाई हार चखाए। सन् २००५ मा डेब्यु गरेका नाडालले पेरिसमा १०८ जित निकाल्दा तेस्रो पटक हारको सामना गर्नुपर्‍यो।

सन् २०१६ का फ्रेन्च च्याम्पियन जोकोभिचले पेरिसमा हालसम्मको जितमध्ये उत्कृष्ट रहेको प्रतिक्रिया दिए। २१औं ग्रान्ड स्लाम जित्ने लक्ष्य यस पटक अधूरै बनेपछि नाडालले महत्वपूर्ण खेलमा हारबाट दुखित भएको बताए। ‘यो वर्ष मेरा लागि यो महत्वपूर्ण प्रतियोगिता थियो, तर हार बेहोर्नुपर्‍यो। तर, करियरमा यस्तो हुने गर्दछ,’ नाडालले भने। जोकोभिच आइतबार करियरको २९औं ग्रान्ड स्लाम फाइनल खेल्दै छन्। जहाँ उनको फाइनलका प्रतिद्वन्द्वी सिटसिपाससँग जितको रेकर्ड ५–२ ले अगाडि छ। यीमध्ये तीन जित जोकोभिचले क्ले कोर्टमा निकालेका हुन्।

प्रकाशित: ३० जेष्ठ २०७८ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App