३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

त्रिदेशीय कप: बंगलादेशको विजयी सुरुआत

बंगलादेशले त्रिदेशीय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। प्रतियोगिताअन्तर्गत मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा बंगलादेशले किर्गिस्तान यु–२३ टोलीमाथि १–० को जित हात पारेको हो।  

३०औं मिनेटमा किर्गिस्तानका कुमारवज उलु वैमानले गरेको आत्मघाती गोल बंगलादेशको जितमा पर्याप्त बन्यो। बंगलादेशका स्ट्राइकर मोहम्मद साद उद्दिनले गरेको प्रहार रोक्ने क्रममा बलले वैमानलाई छुँदै पोस्टको दिशा लिएको थियो। त्यसलगत्तै किर्गिस्तानले खेलमा फर्कने सुनौलो अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन।  

किर्गिस्तानका जाम्पारोब आमिरले गरेको प्रहार बंगलादेशका गोलकिपर अनिसुर रहमानले विफल पारेका थिए। इन्जुरी समयको अन्तिम सेकेन्डमा पनि किर्गिस्तानले खेलमा फर्कने अवसर पाए पनि रक्षक रियादुल हसनको फ्रि हेडर अकासिएको थियो।प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश र किर्गिस्तान गरी कुल ३ टोलीको सहभागिता रहेको छ। 

सिंगल राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्। प्रतियोगितामा नेपालले बिहीबार किर्गिस्तानको सामना गर्नेछ भने शनिबार बंगलादेशविरुद्ध खेल्नेछ। प्रतियोगितामा नेपाल र बंगलादेशको राष्ट्रिय टोली सहभागी भए पनि किर्गिस्तानको भने यु–२३ को टोली सहभागी छ। बंगलादेशका प्रशिक्षक जेम्स डेले टोलीले महत्वपूर्ण तीन अंक जोडेको र सो अंक आफूहरूलाई फाइनल प्रवेशका लागि फलदायी हुन सक्ने बताए।

‘हामीले राम्रो प्रदर्शन गर्‍यौं,’ डेले भने, ‘पहिलो हाफमा युवा खेलाडीलाई अवसर दिएका थियौं। भाग्यवश पहिलो हाफमै गोल गर्न सफल भयौं। दोस्रो हाफमा हामीले सिनियर खेलाडीलाई अवसर दियौं। यो प्रतियोगिता हाम्रा लागि जुनमा हुने विश्वकप छनोटको तयारी हो, त्यसैले हामीले यसलाई टोली निर्माणको अवसरका रूपमा लिएका छौं। आयोजक नेपालविरुद्ध हामी थप सुधारिएको प्रदर्शन गर्न चाहन्छौं। हामी शतप्रतिशत नतिजाका साथ फाइनल प्रवेश गर्दै उपाधि भित्र्याउन चाहन्छौं।’

यता किर्गिस्तानका प्रशिक्षक जोल्दोसोब नुरबेकले युवा टोली भए पनि आफूहरूले बंगलादेशको सिनियर टोलीलाई राम्रो चुनौती दिएको बताए। उनले आफूहरू लामो यात्रा गरेर आएको र नेपालमा एक दिनको मात्र अभ्यास समय पाएकाले सोचेअनुरूपको प्रदर्शन गर्न नसकेको बताए। 

‘हामीले राम्रो प्रदर्शन गर्‍यौं, तर पहिलो हाफमा खाएको आत्मघाती गोल नै हाम्रा लागि महंगो साबित भयो,’ नुरबेकले भने, ‘बंगलादेशले पहिलो हाफको तुलनामा दोस्रो हाफमा थप रक्षात्मक खेल्यो, त्यसैले हामीलाई खेलमा फर्कन कठिन भयो। त्यसमाथि हामीले खेलमा पाएका केही अवसर सदुपयोग गर्न नसक्दा हामीले बंगलादेशलाई ३ अंक सुम्पियौं। नुरबेकले आयोजक नेपालविरुद्ध बिहीबार हुने खेलमा उत्कृष्ट नतिजाका साथ अघिल्लो चरण प्रवेश गर्ने सम्भावना भएको भन्दै टोली पहिलो खेलको नतिजाले नआत्तिएको बताए।

प्रकाशित: ११ चैत्र २०७७ ०५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App