२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एकै खेलमा दुई शतकः एपिएफ फाइनलमा

काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एकै खेलमा दुई शतक प्रहार भए। बाग्मती प्रदेशका पारस खड्का र त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक पूरा गरेका थिए। तर दुर्भाग्य, दुवै टोलीको यात्रा समूहचरणमा सीमित बन्यो।

बाग्मती र आर्मी रनरेटका आधारमा फाइनल प्रवेशको झीनो सम्भावना कायम रहन काठमाडौ मेयर–११ विरुद्ध एपिएफले हारेको कामना गर्नुपर्ने थियो। तर आर्मी र बाग्मतीबीचको खेलको नतिजा आउनुअगावै एपिएफले प्रतियोगिताको तेस्रो जितका साथ नेपाल पुलिस क्लबविरुद्धको फाइलन भिडन्त पक्का गरेको हो।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा एपिएफले काठमाडाैं मेयर ११ लाई ७ विकेटले हराएको हो। पुलिस ४ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा बस्दै बुधबार नै फाइनलमा प्रवेश गरिसकेको थियो। एपिएफले पनि ४ खेलमा ६ अंक जोडे पनि रनरेटमा पछि परेर दोस्रो स्थानमा बस्दै फाइनल यात्रा पक्का गरेको हो। बाग्मती ४ अंकका साथ तेस्रो स्थानमा रहँदा आर्मी र मेयर ११ समान २ अंकका साथ क्रमश चौथो र पाँचांै स्थानमा रहे।

मेयर ११ ले प्रस्तुत गरेको १ सय ७८ को लक्ष्य एपिएफले ४४.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो। तर १ रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएसँगै एपिएफले सुखद सुरुआत भने गर्न सकेन। आसिफलाई पहिलो ओभरको अन्तिम बलमा अनुज चुनाराले बोल्ड गरेका थिए। दोस्रो विकेटका लागि अर्को ओपनर शंकर राना र कप्तान शरद् भेषावकरले ४३ रनको साझेदारी गर्दै एपिएफको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। शंकरले अनिल खरेलबाट एलबिडब्लुको सिकार हुनुअघि ४९ बलमा ५ चौका मद्दतमा ३१ रन जोडे। शंकर पवेलियन फर्किएपछि ब्याटिङका लागि आएका भुवन कार्कीले पनि मात्र ११ रन जोडे। भुवनलाई मेयर ११ का कप्तान सन्दीप लामिछानेले बोल्ड गरेका थिए।

चौथो विकेटका लागि शरद र सन्दीप जोराले अविजित १ सय २१ रनको साझेदारीका साथ एपिएफको फाइनल यात्रा पक्का गरेका थिए। शरदले १ सय १८ बलमा ५ चौका र १ छक्का प्रहार गरी अविजित ६१ रनको योगदान गर्दा सन्दीप जोराले ७९ बलमा ९ चौका मद्दतमा अविजित ६२ रन बनाए।

मेयर ११ का सन्दीप, अनुज र अनिलले समान १ विकेट लिएका थिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ ले ४८.५ ओभरमा सबै विकेट गुमाउदै १ सय ७७ रनको योगफल तयार पारेको थियो। मेयर ११ का लागि सन्दीप रजाइलीले सर्वाधिक ४८ रनको योगदान गर्दा हरिशंकर शाहले ३६ र विक्रम भुसालले २० रन जोडे।

एपिएफका अविनाश बोहोरा र कमलसिंह ऐरीले समान ३ विकेट लिएका थिए। भुवन कार्की, शरद र वसन्त रेग्मीले समान १ विकेट लिएका थिए।

बुधाबर नै भएको अर्को खेलमा बाग्मती प्रदेशले प्रतियोगितामा सुखद अन्त्य गर्ने क्रममा आर्मीलाई १० रनले हराएको हो। बाग्मतीले प्रस्तुत गरेको २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मीले ४८.१ ओभरका सबै विकेट गुमाउँदै २ सय ५६ रन मात्र जोड्न सक्यो।

आर्मीका कप्तान विनोद भण्डारीले १ सय १९ रन जोडे पनि टोलीको हार भने टार्न सकेनन्। ओपनर लोकेश बमले ४६ रन र करण केसीले २४ रन जोडे। विनोदले १ सय १४ बलमा ८ चौका र ७ छक्का प्रहार गरेका थिए। बाग्मतीका ओरियो पौडेलले ५ विकेट लिँदा रामनरेश गिरीले १ तथा नन्दन यादव, सोनु देवकोटा र पारसले समान १ विकेट निकाले। यसअघि टस जितेर ब्याटिङ रोजेको बाग्मतीले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६६ रनको योगफल तयार पारेको थियो। बाग्मतीका लागि पारसले १ सय ३३ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै १ सय १९ रन बनाएका थिए। आर्मीका सोमपाल कामीले ५ विकेट लिए।

प्रकाशित: २८ फाल्गुन २०७७ ०५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App