१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

जोकोभिच डिसक्वालिफाइड

बलले लागेपछि घाइते महिला लाइन जजको अवस्था बुझ्दै नोभाक जोकोभिच। अम्पायरसँग कुराकानी गर्दै जोकोभिच। डिसक्वालिफाइड भएपछि कोर्टबाट बाहिरिदै जोकोभिच। तस्बिर: एपी /एएफपी

विश्व नम्बर एक नोभाक जोकोभिच नाटकीय ढंगबाट युएस ओपनबाट डिसक्वालिफाइड (अयोग्य) हुँदै बाहिरिएपछि उनको १८औं ग्रान्ड स्लाम जित्ने लक्ष्य यस पटक पनि पूरा हुन सकेन।

आइतबार अन्तिम १६ को खेलमा महिला लाइन जजमाथि बलले हानेपछि जोकोभिच नाटकीय ढंगबाट युएस ओपनबाट बाहिरिँदा १८औं ग्रान्ड स्लाम जित्ने उनको लक्ष्य पूरा हुन सकेन। विश्व नम्बर २० का स्पेनिस स्टार पाब्लो कारिनो बुस्तासँगको पहिलो सेटमा ६–५ ले पछि परेको स्थितिमा सर्भिस गर्ने क्रममा विवाद भएपछि जोकोभिचले बललाई -याकेटले हानेका थिए। जोकोभिचले आफ्नो गोजीबाट निकालेर -याकेटले हानेको बल लाइन जजको घाँटीमा लाग्ने बितिक्कै उनी ढलिन्।  

त्यससँगै जोकोभिच पनि उनीनजिक पुगेका थिए। केही समयपछि ती महिला जज उठेर आर्थर एस स्टेडियमको कोर्ट छाडेर गइन्। त्यो घटनालगत्तै खेलका अफिसियलले १० मिनेटसम्म छलफल गरे र प्रतियोगिताका रेफ्री सोइरेन फ्रिमेलले जोकोभिचलाई डिसक्वालिफाइड गरेको निर्णय सुनाए। अम्पायरले बुस्टालाई विजेता घोषणा गरेपछि जोकोभिचले आफ्ना प्रतिद्वन्द्वीसँग हात मिलाए पनि अम्पायरसँग हात नमिलाई बाहिरिए।

जोकोभिचले आफ्नो गोजीबाट निकालेर -याकेटले हानेको बल लाइन जजको घाँटीमा लाग्नेबितिक्कै उनी ढलिन्। त्यससँगै जोकोभिच पनि उनीनजिक पुगेका थिए। केही समयपछि ती महिला जज पनि उठेर आर्थर एस स्टेडियमको कोर्ट छाडेर गइन्।

धेरै गल्ती भयो
त्यो घटना लगत्तै जोकोभिचले त्यहाँ उपस्थित पत्रकारसँग केही नबोली आफ्नो कारमा फ्लसिङ मिडोज छाडेका थिए। तथापि, ३३ वर्षे जोकोभिचले इन्स्टाग्राममार्पmत माफी मागे। ‘पछिल्ला सबै अवस्थाका कारण म एकदम दुःखी छु,’ उनले भने, ‘उनलाई केही नभएकाले भगवान्लाई धन्यवाद दिन्छु। त्यस किसिमको व्यवहारका कारण माफी माग्न चाहन्छु। अनावश्यक र अनेपक्षित गल्ती भयो।’ उनले प्रतियोगिताको आयोजकसँग पनि माफी मागेका छन्, तर उनले आयोजकसँग डिसक्वालिफाइडको अधिकार छ या छैन भन्ने प्रतिक्रिया दिएका छैनन्। युनाइटेड टेनिस एसोसिएसनले पनि ग्रान्ड स्लामको नियमअनुसार नै जोकोभिचलाई डिसक्वालिफाइड गरिएको जनाएको छ।  

साथै उनले प्रतियोगिताबाट पाउने -याङकिङ अंक र पुरस्कार रकम पनि गुमाउने भएका छन्। जोकोभिचले आफूबाट जानाजान गल्ती नभएकाले डिसक्वालिफाइड गर्न नपाउने जिकिर गरेको रेफ्री फ्रिइमेलले बताए। जोकोभिच १ सय ४० वर्षे ग्रान्ड स्लामको इतिहासमा डिसक्वालिफाइड हुने तेस्रो खेलाडी बने र यसअघि सन् १९९० मा जोन म्याकेन्रो अस्ट्रेलियन ओपन र सन् २००० मा स्टेफिन कुबैक फ्रेन्च ओपनबाट डिसक्वालिफाइड भएका थिए। १७ ग्रान्ड स्लाम विजेता जोकोभिचले रोजर फेडेररको २०औं ग्रान्ड स्लाम र राफाइल नाडालको १९औं ग्रान्ड स्लामको दूरी छोट्याउने अवसरसमेत गुमाए।  

कारिनो बुस्ताले आफूले उक्त घटना प्रत्यक्ष नदेखेको उल्लेख गर्दै जोकोभिचजस्तो खेलाडीसँग खेल्दा त्यो क्षण आउने सोच्नै नसकिने बताए। जोकोभिचको बहिर्गमनसँगै पुरुषतर्फको उपाधि होड खुला भएको छ र पहिलो पटक ग्रान्ड स्लामको नयाँ विजेता प्राप्त हुने संकेत देखिएको छ। पाँचौं वरीयताका खेलाडी एलेक्जान्डर भेरेभले खेल थप रोमाञ्चक हुने बताउँदै जोकोभिचलाई ‘धेरै अभागी’ खेलाडीको संज्ञा दिए। भेरेभले एलेजान्ड्रो डेविडोभिचलाई ६–२, ६–२ र ६–१ तथा क्यानडाका डेनिस सापोभालोभले स्पेनका डेविड गोफिनलाई ६–७ (७–०), ६–३, ६–३ र ६–४ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेका छन्।

महिलातर्फ अमेरिकी जेनिफर ब्राडीले तीन पटककी ग्रान्ड स्लाम च्याम्पियन एन्जेलिक केरबेरलाई ६–१ र ६–४ तथा कजाखस्तानकी युलिया पुटिनसेभाले पेत्रा मार्टिचलाई ६–३, २–६ र ६–४ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेका छन्। अमेरिकाकी सेल्बी रोजर्सले पेत्रा केभितोभालाई ७–६ (७–५), ३–६, ७–६ (८–६) ले हराउँदै दुई पटककी ग्रान्ड स्लाम च्याम्पियन नाओमी ओसाकासँग भेट पक्का गरिन्। ओसाकाले भने इस्टोनियाकी एनेट कन्टाभेइटलाई ६–३ र ६–४ ले हराएकी थिइन्।

प्रकाशित: २३ भाद्र २०७७ ०५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App