१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकपले क्रिकेटको लोकप्रियता बढाउने अपेक्षा

क्रिकेटको लोकप्रियता विश्वव्यापी बनाउने उद्देश्यले गरिएको नयाँ प्रयोगस्वरूप हुन लागेको आगामी ट्वान्टी–२० विश्वकप क्यारेबियन र अमेरिकामा अर्को महिनाको सुरुदेखि हुँदै छ।

विश्व क्रिकेटमा कुनै इतिहास नभएको अमेरिका र विश्व क्रिकेटमा ठूलो इतिहास बोकेको क्यारेबियन राष्ट्रमा संयुक्त आयोजना गरिन लागेको यो संस्करण आइसिसीको परीक्षण पनि हो। छिटो र आक्रामक शैलीमा खेल्ने फरम्याटको यो विश्वकप क्रिकेटको नवौं संस्करण हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सहभागिता संख्यालाई १६ बाट २० राष्ट्रमा पु¥याउने निर्णय भएपछि यो अहिलेसम्मकै ठूलो विश्वकप पनि हुनेछ। आइसिसीले अमेरिकामा आयोजना गर्न लागेको यो अहिलेसम्मकै ठूलो प्रतियोगिता पनि हो। यहाँ क्रिकेट खेलले धेरै लोकप्रियता पनि पाउन सकेको छैन।  

तर, पनि आइसिसीले अमेरिकाका तीन स्थान फ्लोरिडा, टेक्सास र न्युयोर्कमा खेल आयोजना गर्दै छ। यहाँ समूहचरणका कुल १६ खेल सञ्चालन हुनेछन्। बहुप्रतीक्षित भारत र पाकिस्तानबीच हुने खेल पनि अमेरिकामा नै आयोजना हुँदै छ। यो खेल न्युयोर्कमा तय गरिएको छ। यसबाहेक बाँकी खेल भने वेस्ट इन्डिजमै हुँदै छन्। सुपर एट, सेमिफाइनल र फाइनल खेल क्यारेबियन भूमिमा नै तय गरिएको छ। बार्बडोसको ब्रजटाउनस्थित केनिङ्स्टन ओभलमा उपाधि भिडन्त हुने भएको छ। अमेरिकामा क्रिकेट मनोरञ्जनका रूपमा मात्र खेल्ने गरिन्छ। त्यसमध्ये यी तीन स्थानमा क्रिकेटको लोकप्रियता केही मात्रामा छ।

त्यसैले पनि आयोजकले टेक्सास, फ्लोरिडा र न्युयोर्कमा विश्वकप क्रिकेटको खेल सञ्चालन गर्न लागेको हो। क्रिकेट पनि अमेरिकाको समर्थकका लागि मन पर्ने खेल बनाउन आयोजकका लागि यो विश्वकप ठूलो अवसर हुनेछ। क्रिकेट लोकप्रिय रहेका भारतलगायत देशका आप्रवासीले नै रंगशाला भरिने पक्का छ। ‘सबैभन्दा पहिलो कुरा हामी यस विश्वकपलाई ठूलो उत्सवका रूपमा मनाउनेछौं। विश्वका उत्कृष्ट क्रिकेट खेलाडी पनि हेर्ने अवसर घरेलु समर्थकलाई पाउनेछन्,’ ट्वान्टी–२० विश्वकप अमेरिकाका कार्यकारी प्रमुख ब्रेट जोन्सले  भने,‘दोस्रो महत्वपूर्ण पक्ष विश्वकप आयोजनासँगै यो खेलबारे धेरैमा कुतूहलता बढाउनेछ।’

सन् २०२८ मा लस एन्जल्स ओलम्पिक हुँदै छ। त्यहाँ ट्वान्टी–२० फरम्याटको क्रिकेट हुने पक्का भइसकेको छ। त्यसअघि अमेरिकामा क्रिकेट खेल विकास र प्रवर्धन गर्न पनि आइसिसीले यहाँ ठूलो आयोजना गरेको हो। पछिल्लो वर्षदेखि नै अमेरिकामा ट्वान्टी–२० फरम्याटमा मेजर लिग क्रिकेट आयोजनाको सुरुआत गरेको हो। त्यो आयोजनाबाट धेरै नाफासँगै लोकप्रियता पनि केही मात्रामा बढ्यो। यसबाट आइसिसी प्रभावित भयो र अमेरिकी मार्केटमा क्रिकेटलाई बढाउने लक्ष्य राख्यो।

साथै क्रिकेट धेरै लोकप्रिय बन्न नसकेको देशमा यसको लोकप्रियता बढाउने उद्देश्यले पनि आइसिसीले ट्वान्टी–२० विश्वकप आयोजकका रूपमा अमेरिकालाई रोजेको मान्न सकिन्छ। क्रिकेट खेल धेरै पछि मात्र खेल्न सुरु गरेका आयरल्यान्ड र अफगानिस्तान अहिले पूर्ण सदस्य राष्ट्र बनिसकेका छन्। यसले नयाँ राष्ट्रले पनि क्रिकेटमा धेरै फड्का मार्न सक्छन् भन्ने प्रमाणित भइसकेको छ। छोटो फरम्याटको क्रिकेटमार्पmत यो खेल विकास र प्रवर्धन गर्न सहज हुनेछ भन्नेमा आइसिसी विश्वस्त छ। त्यसैले पनि आइसिसीले १६ राष्ट्रले खेल्दै आएको  ट्वान्टी–२० विश्वकपमा सहभागिता संख्या  २० पु¥याएको हो।

आइसिसीको यो निर्णयपछि अमेरिकासँगै क्यानडा र युगान्डाले पहिलो पटक टवान्टी–२० विश्वकप खेल्ने भएका छन्। नेपाल, पपुवा न्युगिनी र ओमानजस्ता देश जसले कमै मात्र विश्वकपमा स्थान बनाउने गरेका छन्, यी राष्ट्रले पनि यस पटक विश्वकप खेल्दै छन्। यो सहभागिताका कारण यी देशका नागरिकलाई क्रिकेट खेलले आकर्षित गर्नेमा दुई मत छैन। २० राष्ट्रलाई पाँच समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउनेछन्। बाँकी राष्ट्रले विश्वकपका समूहचरणमा केही अप्रत्याशित नतिजा ल्याउन सके यसको रोमाञ्चक थप बढ्ने पक्का छ।

ट्वान्टी–२० फरम्याटको विश्वकप  

सन् २००७ मा पहिलो पटक आयोजना भएको थियो। पहिलो संस्करणको विजेता भारत हो। यो विश्वकप भेट्रान क्रिकेटर रोहित शर्मा र विराट कोहलीजस्ताका लागि अन्तिम बन्न पनि सक्नेछ। गत वर्ष पनि एकदिवसीय विश्वकप फाइनल गुमाएका यी क्रिकेटर करियरको उत्तरार्धमा पनि छन्। सन् २०१३ देखि आइसिसीका प्रमुख प्रतियोगिताको उपाधि जित्न नसकेकाले भारतसँगै यी दुई क्रिकेटरमाथि दबाब बढिरहेको छ।

प्रकाशित: १५ जेष्ठ २०८१ ०८:३० मंगलबार

#t_20worldcup