१२ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

पिएसजी पहिलो पटक फाइनलमा

च्याम्पियन्स लिग

च्याम्पियन्स लिगको सेमिफाइनलमा आरबी लिपजिगविरुद्ध पहिलो गोल गरेपछि पिएसजीका मार्किन्हस (बायाँ) सहकर्मी नेइमारसँग । तस्बिर: एएफपी

मार्किन्हस, एन्जेल डी मारिया र जुआन बर्नाटको गोलप्रेरणाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

लिस्बनमा मंगलबार भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लिपजिगलाई ३–० ले स्तब्ध बनाउँदै पिएसजी पहिलो पटक फाइनलमा पुगेको हो । मारिया र नेइमारले पहिलो दुई गोलका लागि अवसर मिलाउँदा स्टेडियो डा लुजमा पिएसजीले २–० को अग्रता लिएको थियो । बर्नाटले ५५औं मिनेटमा गोल गर्दा लिपजिगको पुनरागमन लगभग कठिन नै बन्यो । जर्मन क्लबले विश्वकै महँगा खेलाडी नेइमारलाई रोक्न सकेन र पिएसजीका अन्य खेलाडीको आक्रामक शैलीका कारण लिपजिग स्तब्ध बन्न पुग्यो । नेइमारले लिपजिगको डिफेन्सलाई निकै ब्यस्त बनाए पनि गोल गर्न भने सकेनन् ।  

विश्वस्तरीय खेलाडीमा लगानी गरे पनि फ्रेन्च क्लब पिएसजी पछिल्ला तीन सिजन अन्तिम १६ भन्दा माथि पुग्न सकेको थिएन । २०१६–०१७ को सिजनमा बार्सिलोनाविरुद्ध प्रिक्वार्टरफाइनलको पहिलो लेगमा ४–० ले अग्रता बनाउँदा पिएसजीले नकआउट चरणमा पार गर्ने अनुमान गरिएको थियो । यद्यपि, दोस्रो लेगमा बार्सिलोनासँग ६–१ को अपत्यारिलो हार बेहार्दै पिएसजीको यात्रा अन्तिम १६ कट्न सकेन । त्यसपछि २०१७–०१८ र २०१८–०१९ को सिजनको च्याम्पियन्स लिगमा पनि पिएसजीको यात्रा अन्तिम १६ बाट माथि जान सकेको थिएन । खराब प्रदर्शनका बावजुद पिएसजीका कतारी मालिकले धैर्यता देखाएका थिए ।  

‘हामी इतिहास बनाउन चाहन्थ्यौं र त्यो आज सफल भएको छ,’ डी मारियाले भने, ‘आजको खेललाई निरन्तर राख्न सके आगामी फाइनलमा हामीलाई सहज हुनेछ ।’ बायर्न म्युनिख र लियोनबीच बुधबारको सेमिफाइनलपश्चात् पिएसजीले आइतबारको आफ्नो उपाधि प्रतिद्वन्द्वी पाउनेछ । थोमस टुचेलको टोली पिएसजी सन् २००४ मा मोनाकोपछि च्याम्पियन्स लिग फाइनलमा पुग्ने फ्रान्सेली पहिलो टोली बन्यो । कतारको खेलकुद लगानीले खरिद गरेको नौ वर्षसम्म खराब नतिजा बेहोरेको लिग वान टोली पिएसजीले देशबाहिर आफ्नो छाप छोड्न सफल भयो र घरेलु लिगमा दबदबा बनाएको पिएसजी च्याम्पियन्स लिग उपाधिनजिक पुगेको छ ।

जर्मन क्लबले विश्वकै महँगा खेलाडी नेइमारलाई रोक्न सकेन र पिएसजीका अन्य खेलाडीको आक्रामक शैलीका कारण लिपजिग स्तब्ध बन्न पुग्यो ।

‘मेरो एउटा सपना छ, तर त्यो सपना आजको रातमा मात्र सीमित हुँदैन भन्ने विश्वास लिएको छु,’ पिएसजीका कतारी अध्यक्ष नासिर एल खेलैफीले भने । तथापि लिस्बनको सन्दर्भमा पिएसजीलाई केही मद्दत पनि पुगेको छ । कोरोना भाइरसका कारण नकआउट चरणमा ९० मिनेटको मात्र खेल राखिँदा पिएसजीले त्यसको फाइदा लिएको छ । दुई लेगको समीकरणमा राम्रो गर्न नसकेको पिएसजीले ९० मिनेटभित्र भने खेल पकडमा जमाउन सफल भइरहेको छ । पिएसजीले पोर्चुगलको बेनफिका मैदानमा हुने च्याम्पियन्स लिग फाइनलमा पनि बिनादबाब खेल्नुपर्नेछ र त्यहाँ कुनै फुटबलको पतिस्पर्धा भइरहेको भन्ने भुल्नुपर्नेछ ।  

जुलियन नागेल्सम्यानको युवा टोली लिपजिगले च्याम्पियन्स लिगमा ऐतिहासिक सफलता प्राप्त गरे पनि त्यसलाई निरन्तरता दिन सकेन । २१ देखि २४ वर्षसम्मका अधिकांश खेलाडी साथ उत्रिएको लिपजिगले अट्याकिङमा भने खासै राम्रो गर्न सकेन । अन्तिम आठको प्रतिस्पर्धाअगाडि नै टिमो वेर्नेरजस्ता उत्कृष्ट खेलाडी चेल्सीलाई बेचेको लिपजिगले वेर्नेरको अभाव पनि महसुस गरेको थियो । ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए र त्यसलाई हामीले स्वीकार गर्नुपर्छ,’ नागेल्सम्यानले भने । पिएसजीले केही उत्कृष्ट आक्रमण गर्दा नेइमारको दुई प्रहार बारमा लागेर बाहिरिएको थियो ।  

नेइमारको फ्रिकिकमा डी मारियाको उत्कृष्ट प्रहारलाई मार्किन्हसले हेडमार्फत् गोलमा परिणत गरेका थिए । टुचेलका डिफेन्डरले एटलान्टासँगको जस्तो सुरुआती गोल बेहोर्नबाट जोगाए र पिएसजीले अन्तसम्म दबाबबिना खेल्ने अवसर पायो । आइतबार पिएसजीलाई च्याम्पियन्स लिग जित्ने दोस्रो फ्रान्सेली क्लब बन्ने अवसर हुनेछ । २७ वर्षअघि फ्रेन्च क्लब मार्सेलीले च्याम्पियन्स लिगको पहिलो संस्करण जितेको थियो र त्यसअघि भने युरोपियन कपको नामबाट प्रतियोगिता सञ्चालन हुँदै आएको थियो । 

प्रकाशित: ४ भाद्र २०७७ ०४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App