२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप छनोट र घरेलु फुटबल स्थगित

काठमाडौं – कतार विश्वकप छनोट २०२२ तथा एसियन कप छनोट २०२३ अन्तर्गत चाइनिज ताइपे र अस्ट्रेलियासँगको घरेलु खेलका लागि तयारी जुटेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण हालका लागि स्थगित गरिएको छ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले शुक्रबार विज्ञप्ती जारी गर्दै राष्ट्रिय टिमको प्रशिक्षण स्थगित गरिएको जनाएको हो। एन्फाले विश्वभर फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट जोगिन राष्ट्रिय टोलीको तयारी स्थगित गरिएको जनाएको छ। विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले पनि बिहीबार मात्रै आफ्ना एसियाली सदस्य राष्ट्रलाई आगामी फिफा विश्वकप छनोटका खेल स्थगित गर्न पत्राचार गरेको थियो।

चैत १३ गते चाइनिज ताइपे र चैत १८ गते अस्ट्रेलियासँग हुने खेलको लागि नेपालले सातदोबाटोस्थित एन्फा मैदानमा तयारी गरिरहेको थियो। कतारमा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ को नेपालले हालसम्म पाँच खेलबाट तीन अंक मात्र जोडेको छ। चाइनिज ताइपेविरुद्धको अवे खेलमा जित हात पारेको नेपाल अन्य अवे खेलमा भने कुवेत, अस्ट्रेलिया र जोर्डनसँग निराश भएको थियो। नेपालले मैदान पूर्ण रूपमा तयार नभएको भन्दै कुवेतविरुद्धको होम गेम भुटानमा खेलेको थियो। त्यस खेलमा पनि नेपाल पराजित भएको थियो। यस्तै एन्फाले चैत ३ बाट धरानमा आयोजना गर्न लागेको उपमेयर कप महिला लिग फुटबल हालका लागि स्थगित गरेको जनाएको छ।

साथै एन्फाले जिल्ला फुटबल संघलाई पनि हालका लागि कुनै प्रतियोगिता आयोजना नगर्न समेत निर्देशन दिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि बिहीबार नै खेलकुद गतिविधिहरू स्थगित गर्न सम्बन्धित निकायलाई पत्र काटेको थियो। विश्वभर फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट जोगिन अखिल नेपाल फुटबल संघ(एन्फा)ले शुक्रबार विज्ञप्ती जारी गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणका साथै सबै घरेलु प्रतियोगिता स्थगित गरेको जनाएको छ।

प्रकाशित: २४ फाल्गुन २०७६ ०१:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App