२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

युइएफए सुपर कप फाइनलमा महिला रेफ्री

पेरिस – युइएफए सुपर कपको उपाधिका लागि इङ्लिस टोली लिभरपुल र चेल्सी आमनेसामनो हुँदा फ्रान्सकी स्टेफनेइ फ्रपार्ट रेफ्रिको भूमिकामा हुनेछिन्। फ्रपार्ट युरोपमा प्रतिष्ठित पुरुष फुटबल प्रतियोगिता खेलाउने पहिलो मुख्य रेफ्रि हुनेछिन्। उक्त युइएफए सुपर कपको फाइनल खेल अगस्ट १४ (साउन २१) मा हुनेछ। मुख्य भूमिकाको रूपमा मैदानमा देखिँदा उनलाई सहयोग गर्न पनि दुई महिला लाइन्स वुमन रहनेछन्। च्याम्पियन्स लिगको विजेता लिभरपुलले चेल्सीसँग टर्कीको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ।

यस अघि जुलाईमा सम्पन्न महिला विश्वकपको फाइलनमा फ्रान्सकी रेफ्रि फ्रपार्ट मुख्य रेफ्रिको भूमिका निर्वाह गरिसकेकी थिइन्। युइएफएका अध्यक्ष एलेक्सजेन्डर सेफ्रिनले फ्रान्सेली महिला रेफ्रि फ्रपार्टलाई जिम्मेवारी दिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। ‘महिला फुटबलको रेफ्रिमा भूमिका निर्वाह गर्दै आएकी महिला रेफ्रि जिम्मेवारी वहन गर्न पुरुष जत्तिकै सक्षम छन्। यो विशेष दिनको अवसरमा घोषणा गर्न पाउँदा मलाई निकै खुसी लागेको छ,’ युइएफएका अध्यक्ष एलेक्सजेन्डरले भने, ‘महिला फुटबल विकासका लागि सबै क्षेत्रमा महिलालाई अवसर दिन आवश्यक छ।’

युइएफएका अध्यक्ष एलेक्सजेन्डरले थपे,‘रेफ्रि करियरमा फ्रपार्टले दिएको योगदानले गर्दा उनी मुख्य प्रतियोगिता गराउन सक्षम छिन्। उनले फुटबलप्रति देखाएको लगाब र प्रदान गरिएको अवसरले लाखौं महिलाका लागि प्रेरणा र उत्साह मिल्नेछ। लक्ष्यमा पुग्न महिला भएकै कारण कुनै छेकबार हुँदैन भन्ने पुष्टि हुन्छ।’ लिभरपुल र चेल्सीबीच हुने फाइनलमा खेलमा फ्रर्पाट मुख्य रेफ्रिको रूपमा मैदानमा देखिँदा फ्रान्सकै म्यानुयल निकोलोसी र आयरल्यान्डकी मिकेली ओनिलले सहायक रेफ्रिमा सहयोग गर्नेछन्। सन् २०१५ को च्याम्पियन्स लिगमा विवादका कारण कारबाही भोगेका टर्कीका कुनियट केकरले फोर्थ अफिसियलको भूमिका निर्वाह गर्नेछन्। यस अघि फ्रपार्टले ०१४ मा फ्रान्सेली दोस्रो डिभिजनको लिग लिग ‘टु’ मा रेफ्रिको भूमिका निर्वाह गरेकी थिइन्।

‘फ्रपार्टले राम्रो रेफ्रिको रूपमा आफूलाई प्रमाणित गर्दै युरोपमा मात्र होइन, विश्वभर चर्चा पाइसकेकी छिन,’ युइएफएका मुख्य रेफ्रि अफिसर रोबर्टो रोसेटीले भने, ‘हालै सम्पन्न विश्वकप फाइनलमा आफ्नो भूमिका निर्वाह गर्दै आफूलाई सिद्ध गरेकी छिन्।’ फ्रान्सकी स्टेफनेइ फ्रपार्ट युरोपमा प्रतिष्ठित पुरुष फुटबल प्रतियोगिता खेलाउने पहिलो मुख्य रेफ्रि हुनेछिन्। उनले खेलाउने युइएफए सुपर कपको फाइनल खेल अगस्ट १४ (साउन २१) मा हुनेछ।

प्रकाशित: १८ श्रावण २०७६ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App