२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

खप्तड गोल्डकप : काँकडभिट्टा सेमिफाइनलमा

एपिएफविरुद्ध बल अगाडि बढाउँदै मेची नेत्रालयका विकास राई (नीलो) । तस्बिर : दिलबहादुर/नागरिक

धनगढी – धनगढीमा जारी खप्तड गोल्डकपमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर एपिएफलाई २–१ ले स्तब्ध बनाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार धनगढी रंगशालाको पहिलो क्वार्टरफाइनलमा खेल सकिन ३ मिनेट बाँकी छँदा गोल गर्दै काँकडभिट्टा अन्तिम चारमा स्थान सुरक्षित बनाउन सफल भएको हो। अत्यन्त प्रतिस्पर्धात्मक खेलको नवौं मिनेटमै गोल गरेर अग्रता लिएको एपिएफ अन्तिम समयमा समालिन नसक्दा नतिजा सुम्पिंन बाध्य भयो।

युवराज खड्काले एपिएफलाई अग्रता दिलाएका थिए। श्याम नेपालीले दिएको लामो पास नियन्त्रणमा लिँदै युवराजले उक्त गोल गरेका थिए। २६औं मिनेटमा काँकडभिट्टाले पाएको गोल फर्काउने अवसरलाई एपिएफका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै तत्कालका लागि आफ्नो टिमको संकट टारेका थिए। विश्वास श्रेष्ठले पेनाल्टीक्षेत्र बाहिरबाट गरेको प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले डाइभ दिँदै बचाएका थिए।

४१औं मिनेटमा काँकडभिट्टाका विश्वास श्रेष्ठको प्रहार भने गोलरक्षकले बचाउन सकेनन्। विशाल राईले दिएको पासमा विश्वासले गोलकिपरलाई समेत छलाएर खाली पोस्टमा गोल गरेका थिए। पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा काँकडभिट्टाले गोलगर्ने अर्को अवसर गुमाउन पुग्यो। एपिएफका गोलकिपर राजु नगरकोटीले विश्वास श्रेष्ठको फ्रिकिक बचाउने प्रयासमा फुत्काएपछि रिबाउन्डमा कप्तान खामिरले बललाई पोस्टको दिशा दिन सकेनन्।

त्यससँगै पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो। दर्शकले भरिएको रंगशालामा दोस्रो हाफको ६१औं मिनेटमा पनि काँकडभिट्टा अग्रता लिने अवसरबाट चुक्यो। विष्णु सुनारको फ्रिकिकमा विशाल राईले अफसाइड ट्रयाप बिट गरे पनि बललाई पोस्टको दिशा दिन सकेनन्। खेलको अन्तिम ३ मिनेट बाँकी रहँदा गोल गरेर काकँडभिट्टा अग्रता लिन सफल भयो। कर्नरबाट आएको बल रिबाउन्ड भएपछि विकास राईले पेनाल्टी बक्सनजिकबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

विजयी टोली काँकडभिट्टाका प्रशिक्षक कर्ण थापामगरले पहिलो हाफमा खेलाडीको प्रदर्शन सोचेअनुरूप नभए पनि गोल फर्काएर बराबरी भएपछि मनोवल बढेको बताए। ‘पहिलो हाफमा राम्रो प्रदर्शन नभएर पनि गोल बराबरी भएपछि मनोवल उच्च हुँदा जित हात पार्न सफल भयौं,’ उनले भने,‘आगामी सेमिफाइनलमा राम्रो प्रदर्शन गर्ने  गर्नेछौं। एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीले राम्रो खेल्न नसक्दा हार बेहोर्नुपरेको बताए।

‘पहिलो गोल गर्ने बेलासम्म खेलाडीले राम्रो खेलिरहेका थिए, गोल गरेपछि दोस्रो गोल गर्ने हतारमा खेले। लयमा खेल्न सकेनन्,’ उनले भने,‘बराबरीपछि हाम्रो खेलाडीको तालमेल नमिल्दा उनीहरु आक्रामक भएर खेले। लिगमा राम्रो खेलेका खेलाडीले धैर्यताका साथ लय समातेर खेल्न सकेनन्।’ उत्कृष्ट प्रदर्शन गरेका काँकडभिट्टाका विश्वासले श्रेष्ठ म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे।

जितसँगै सेमिफाइनल प्रवेश गरेको काँकडभिट्टाले फाइनल प्रवेशका निम्ति रुस्लान थ्री स्टार र च्यासल बीचको विजेतासँग खेल्नेछ। आइतबार मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ। मोफसलकै सर्वाधिक धनराशि पुरस्कार भएको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फले जनही १५ हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: २९ पुस २०७५ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App