२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

तारा र सन्देश स्ट्रंगेस्ट खेलाडी

काठमाडौं – नेपाल प्रहरीकी तारादेवी पुन र सन्देश गुरुङ दोस्रो नेपाल स्ट्रंगेस्ट २०१८ भारोत्तोलन प्रतियोगितामा स्ट्रंगेस्ट खेलाडी भए । ताराले ७५ केजी तौलमाथिको प्रतिस्पर्धामा १६६ केजी भार उठाइन्।

उनी अघिल्लो संस्करणमा पनि यस उपाधिबाट सम्मानित भएकी थिइन् । यस्तै सन्देशले १०५ केजी तौलमा २५८ केजी भार उठाए । उनीहरूले नगद ११ हजारका साथै ट्रफी, प्रमाणपत्र प्राप्त गरे।

नेपाल भारोत्तोलन संघका पूर्वउपाध्यक्ष एवं ओलम्पियन सुनीललाल जोशीको स्मृतीमा आयोजना गरिएको प्रतियोगितामा पुरुष सिनियरतर्फ नेपाली सेनाका कमलबहादुर अधिकारी र जुनियरतर्फ बाँकेका प्रकाश केसी उत्कृष्ट भारोत्तोलक घोषित भए । महिलातर्फ सिनियरमा नेपाल प्रहरीकी देवीकुमारी चौधरी र जुनियरतर्फ बाँकेकी सन्जु चौधरी उत्कृष्ट  घोषित भए । विजयी खेलाडीहरूले ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

काठमाडाैं जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको जुनियरतर्फ पुरुषमा एपिएफका लालबाबु पासवान र महिलामा डिभाइन फिटनेसकी पल्लवी चौधरी उदीयमान खेलाडी घोषित भए । उनीहरूले ट्रफी, प्रमाणपत्रका साथै जुरी घनश्याम मुखियाबाट प्रोत्साहनस्वरूप नगद २५÷२५ सय प्राप्त गरे।

नेपाली सेनाका राजु चौधरीले सिनियरतर्फ ६२ केजी तौलमा २०३ केजी भार उठाउँदै स्वर्ण हात पारे । जुनियरतर्फ नेपाल प्रहरीका गणेश रानाभाटले १६१ केजी भार उठाउँदै स्वर्ण कब्जा गरे । बाँकेका तुसार बुढामगर दोस्रो र  पर्साका निरज गुप्ता तेस्रो भए । प्रतियोगिताको ६९ केजी तौलमा ओलम्पियन कमल अधिकारीले २५५ केजी भार उठाउँदै  स्वर्ण पाए । एपिएफका महेश चौधरी दोस्रो र सेनाका जीवन तामाङ तेस्रो भए ।  जुनियरतर्फ बाँकेका प्रकाश केसीले स्वर्ण हात पारे । बाराका सजरुद्धिन आलमल रजत र बाँकेका प्रशान्त योगीले कांस्य पाए।

पुरुषकै सिनियर ७७ केजी तौलमा नेपाल पुलिसका विकास थापाले २४२ केजी भार उठाउँदै स्वर्ण पाए । नेपाली सेनाका यज्ञबहादुर सारु दोस्रो र एपिएफका तिलक थापा तेस्रो भए । जुनियरतर्फ बाँकेका सुरज वैश्यले १९५ केजी भारका साथ स्वर्ण कब्जा गरे । झापाका सुलभ बस्नेतले रजत पाए।

ललितपुर कुमारीपाटीस्थित अग्नि पार्टि प्यालेसमा भएको प्रतियोगिताको ८५ केजी तौलमा नेपाल प्रहरीका ओमप्रकाश वैश्यले २२६ केजी भार उठाउँदै स्वर्ण पाए भने सेनाका दिनेश कार्की र एपिएफका सन्तोष चौधरीले रजत र कांस्य हात पारे । जुनियरतर्फ नै कञ्चनपुरका विकास भट्टले १४२ केजीका साथ स्वर्ण हात पारे । बाराका नागअर्जुन गुप्ता दोस्रो रहे । यसै गरी ९४ केजीको सिनियरतर्फ नेपाली सेनाका टहलबहादुर बसेलले स्वर्ण पाए । पुलिसका गगन चन्दले रजत र श्रीकृष्ण महर्जनले कांस्य पाए । जुनियरतर्फ कञ्चनपुरका विशाल सिंह विष्टले कुल १९५ केजीका साथ स्वर्ण कब्जा गरे। 

पुरुषको १०५ केजी तौलमा स्ट्रंगेस्ट खेलाडी घोषित नेपाल प्रहरीका सन्देश गुरुङले २५८ केजी भारका साथ स्वर्ण हात गरे । दोस्रो स्थानमा रहेका नेपाली सेनाका विनोद खड्का दोस्रो भए । एपिएफका रनबहादुर नगरकोटी तेस्रो भए । जुनियरतर्फ बर्दियाका रोशन बिसीले एकल प्रतिस्पर्धा गर्दै स्वर्ण पाए।

१०५ केजीमाथिको तौलमा सेनाका पुकार गुरुङ पहिलो भए । उनले  कुल २४५ केजी भार उचाले । बाराका आदर्शकुमार गुप्ता दोस्रो  भए । यस्तै जुनियरतर्फ कञ्चनपुरका सागर भण्डारीले २२२ केजी उचाल्दै स्वर्ण पाए । रूपन्देहीका प्रवीन नेपालीले रजत पाए।

विजयी खेलाडीलाई प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, सुनीललाल जोशीकी धर्मपत्नी रेखा जोशी, नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टण्डन, महासचिव पार्थसारथि सेन गुप्तालगायतले पुरस्कार वितरण गरेका थिए।

 

प्रकाशित: १९ आश्विन २०७५ ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App