३ चैत्र २०८१ आइतबार
image/svg+xml २२:३८ अपराह्न
खेल

नेपालको फाइनल पुग्ने लक्ष्यमा पूर्णविराम

युगान्डाविरुद्ध ब्याटिङ गर्दै नेपालकी पूजा महतो। तस्बिर: क्यान

उपाधि जित्ने लक्ष्यसहित युगान्डा पुगेको नेपाली टोली चौथो हारसँगै विमन्स डे कप टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नै पुग्न असफल भएको छ।

इन्टेब्बेमा बिहीबार भएको आफ्नो चौथो खेलमा नेपाल घरेलु टोली युगान्डासँग ४० रनले पराजित हुन पुग्यो। यससँगै चौथो हार सामना गरेपछि फाइनलमा पुग्ने नेपालको झीनो लक्ष्य पनि समाप्त भएको हो। पाँच खेलबाट दुई अंक जोडेको नेपाल पुछारमा छ।

नामिबिया, युगान्डा र हङकङ सम्मिलित विमन्स डे कपमा नेपालले एक मात्र जित युगान्डासँग प्राप्त गरेको थियो। युगान्डासँगको पहिलो भेटमा नेपालले एक विकेटको जित निकालेको थियो। तर, दोस्रो भेटमा खराब ब्याटिङ गरेपछि नेपाल घरेलु टोलीसँग नतिजा सुम्पिन बाध्य भएको हो। नेपालले यसअघि नामिबियासँग पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा २३ रन तथा हङकङसँग दुई रनले नतिजा सुम्पिएको थियो।

अब नेपालले युगान्डा यात्रामा अन्तिम खेल हङकङसँग शुक्रबार खेल्नेछ। यो खेलमा जित निकाल्दै नेपाल सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ। तर, कमजोर ब्याटिङ गरिरहेको नेपालका लागि सहज भने छैन। बिहीबार नेपालले घरेलु टोलीविरुद्ध राम्रो बलिङ गरेका थियो। तर, ब्याटिङमा साथ पाउन सकेन र हार सामना गर्न बाध्य भयो।

इन्टेब्बे क्रिकेट ओभलमा युगान्डाले  ९२ रनको मध्यम लक्ष्य दिएको थियो। तर, खराब ब्याटिङ सामना गरेको नेपाल १७.१ ओभरमा ५१ रनमै समेटिन पुग्यो। नेपालका कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन्। दुई ब्याटरले मात्र दोहोरो अंकमा रन कटाए।

कविता कुँवरले १२ र कप्तान इन्दु बर्माले ११ रन जोडेका थिए। यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। अनुभवी ब्याटरहरू पूर्वकप्तान रुबिना क्षेत्री, ओपनर सम्झना खड्का, ममता चौधरीसँगै ईश्वरी विष्ट र रचनाकुमारी चौधरीले खाता नै खोल्न सकेनन्।

 ब्याटरहरू रुबिना, सम्झना र ममता लामो समयदेखि खराब लयबाट गुज्रिरहेका छन्। पछिल्ला पाँच खेलमा सम्झनाले कुल २९ रन, रुबिनाले कुल १७ रन र ममताले कुल १६ रन मात्र जोडेका छन्। अनुभवी ब्याटरसहित कप्तान इन्दु पनि चल्न नसक्दा नेपालको ब्याटिङ धराशयी बनेको हो। आशा गरिएका युवा ब्याटर सना प्रविन र पूजा महतो पनि बिहीबार युगान्डाविरुद्ध चल्न सकेनन् ।

युगान्डाको बलिङमा इरेन मुतोनी र इमाक्युलेट नाकिसुयीले समान तीन विकेट लिए। जेनेट एमबाबाजी र कोन्सी अवेकोले समान एक विकेट लिँदै घरेलु टोलीको बलिङमा साथ दिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको युगान्डाले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै  ९१ रनको योगफल बनाएको थियो।

युगान्डाका लागि रिता मुसामालीले ३८ रन जोडिन्। उनले ४८ बलमा तीन चौका हिर्काइन्। दुई क्याचसमेत लिएकी उनी प्लेअर अफ दी म्याच पनि भइन्। इस्थर इलोकुले २२ र स्टेफनी नामपिनाले अविजित १३ रन बनाए। नेपालको बलिङमा रिया शर्माले दुई तथा पूजा महतो, ईश्वरी विष्ट र रुविना क्षेत्रीले समान एक विकेट लिए। नेपालले ६ बलर प्रयोग गर्दा सबैले किफायती बलिङ गरेका थिए। तर, ब्याटिङमा साथ नपाएपछि हार बेहोर्न बाध्य भयो।  

प्रकाशित: १ चैत्र २०८१ ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App