३ चैत्र २०८१ आइतबार
image/svg+xml २२:४८ अपराह्न
खेल

महिला कबड्डीमा नेपाललाई अर्को कांस्य

नेपालले छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको छ।

ईरानको राजधानी तेहरानमा सम्पन्न च्याम्पियनसिपमा नेपालसँगै बंगलादेश पनि संयुक्त रूपमा तेस्रो भएको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए।

चीनमा हाङझाउको शहरमा भएको गत १९औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य जितेको थियो। त्यो एसियाली खेलकुदमा कबड्डीले जितेको पहिलो सफलता हो। फेरि नेपाली महिला टोली एसियाली च्याम्पियनसिपमा पनि अर्को कांस्य पदक जित्न सफल भए। समूह ‘ए’ मा रहेको नेपाल समान एक जित र हारको नतिजासहित उपविजेता बनेर सेमिफाइनल पुगेको थियो।

यस क्रममा नेपालले समूहचरणमा इराकलाई ६८–६ ले हराउँदा इरानसँग ४७–१४ ले पराजित हुन पुगेको थियो। तर, सेमिफाइनलमा भने नेपाली टोली भारतसँग ५६–१८ ले पराजित भएको हो। अर्को सेमिफाइनलमा इरानले बंगलादेशलाई हराएको थियो।

मानमति बिष्टको कप्तानीमा नेपाली टोलीले पहिलोपल्ट अन्तर्राष्ट्रय पदक जितेको हो। केही समयअगाडि मात्र उनी नेपाली टोलीको कप्तान भएकी थिइन्। भारत च्याम्पियन बन्न सफल हुँदा आयोजक इरान उपविजेतामा सीमित रह्यो। एसियाली महिला कबड्डी प्रतियोगिता २०६० सालदेखि सुरु भएको कबड्डी संघले जनाएको छ।

एसियन च्याम्पियनसिप खेल्न १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोली इरान पुगेको थियो। मानमतीको कप्तानीमा रहेको टोलीमा जयन्ती बडू, रबिना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारू, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनीता पण्डित क्षेत्री छन्।

नेपाली टोलीको प्रशिक्षकमा हरिना थापा छिन्। नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी सात राष्ट्रले च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए। नेपालको तर्फबाट निर्णायकमा नितु गुरुङले पनि भूमिका निर्बाह गरेकी थिइन्। 

प्रकाशित: २५ फाल्गुन २०८१ ०८:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App