२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

अग्रता जोगाउन असफल गण्डकी

क्यालिकट हिरोजविरुद्ध स्पाइक गर्दै हेल्प नेपालका मजर अली। तस्बिर सौजन्य: विशाल पन्थ

हेल्प नेपाल स्पोर्ट्स क्लबले उत्कृष्ट पुनरागमनसहित काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा सुखद सुरुआत गर्दा गण्डकीले भने जितको अवसर गुमाएको छ।

घरेलु मैदानमा शनिबारदेखि सुरु भएको च्याम्पियनसिपमा हेल्प नेपालले जितको संघारमा रहेको भारतीय क्लब क्यालिकट हिरोजमाथि सफलता प्राप्त गर्दा गण्डकी दुई सेटको अग्रता जोगाउन असफल भएको हो।

च्याम्पियनसिपको उद्घाटन खेलमा हेल्प नेपालले क्यालिकट हिरोजमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्यो। दोस्रो खेलमा गण्डकी भने माल्दिभ्सको क्लब एचडिसीसँग ३–२ ले पराजित हुन पुग्यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हेल्प नेपालले सेटमा अग्रता लिएको थियो। तर, हेल्प नेपाल त्यस पछिका लगातार दुई सेट गुमाउन पुग्यो।

क्यालिकटले दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले आफ्नो बनाउँदै सेटमा २–१ को अग्रता बनायो। चौथो सेटमा पनि पाहुना टोली म्याच पोइन्टनजिक पुगेको थियो। तर, हेल्प नेपालले उत्कृष्ट पुनरागमन गर्‍यो र यो सेटमा २६–२४ ले बाजी मार्‍यो। यससँगै २–२ को बराबरी भयो र खेलको निर्णयको लागि पाँचौं सेटमा धकेलियो। निर्णायक सेट भने हेल्प नेपालले १५–१० ले सहजै आफ्नो बनायो र उत्कृष्ट पुनरागमन गर्‍यो।

 नेपालसहित चार राष्ट्रका पाँच क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन्। नेपालका हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गरेका छन्। शनिबार नै भएको दोस्रो खेलमा गण्डकीले माल्दिभ्सको क्लब एचडिसीविरुद्ध पहिलो दुई सेटमा अग्रता लिँदै सहज जिततर्फ अग्रसर भयो। तर, गण्डकीले लय जारी राख्न सकेन।

गण्डकीले पहिलो सेट २५–१८ र २५–२३ ले आफ्नो बनायो। यद्यपि, त्यसपछि गण्डकीले भारतीय खेलाडीले राम्रो साथ पाउन सकेन। क्लब एचडिसीले तेस्रो सेट २५–२३ र चौथो सेट ३०–२८ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट पुनरागमन गर्‍यो। खेल २–२ को सेटमा पुग्यो। निर्णायक तथा पाँचौं सेट पनि गण्डकीले १५–१३ ले गुमाउँदै हारबाट प्रतियोगिताको सुरुआत गर्न बाध्य भयो।

आठौं प्रधानमन्त्री कपका शीर्ष दुई टोलीका रूपमा हेल्प नेपाल र गण्डकीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका हुन्। भारतको क्यालिकट हिरोज, इरानको चादौर मालो र माल्दिभ्सको क्लब एचडिसीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेका छन्।

च्याम्पियनसिप सिगंल राउन्ड रोबिन लिगका आधार हुनेछन्। लिगका उत्कृष्ट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनलमा लिगको शीर्ष टोलीले तेस्रो स्थानको टोली तथा दोस्रो हुने टोलीले चौथो स्थानमा लिग सकाउने टोलीसँग खेल्नेछन्। उपाधि भिडन्त आगामी मंसिर २९ गते हुनेछ।

प्रकाशित: २३ मंसिर २०८१ ०८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App