२२ पुस २०८१ सोमबार
image/svg+xml
खेल

आदर्श कप शनिबारदेखि, पहिलो खेल आयोजक र एन्फा तनहुँबीच

<br>

पोखराको लेखनाथमा आगामि शनिबारदेखि आदर्श कप फुटबल प्रतियोगिता हुने भएको छ। ६ वर्षपछि प्रतियोगिता हुन थालेको हो। आदर्श युवा क्लव लेखनाथको आयोजनामा ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो।

आदर्श कपको यो २५ औं संस्करण हो। २०७५ सालमा २४ औं आदर्श कप भएपश्चात कोभिड–१९, मन्दी लगायतका कारणले हुन नसकेको अवस्थामा यस वर्षदेखि पुनः निरन्तरता पाएको हो।

लेखनाथको भण्डारढीकस्थित लेखनाथ रंगशालामा हुने प्रतियोगितामा ८ टिमले भाग लिने जनाइएको छ। जसमा विभागीय टीम नेपाल प्रहरीको गण्डकी प्रदेश टिम, सशस्त्र प्रहरीको गण्डकी मुख्यालय र नेपाल आर्मीको सिद्धिदल गणसहित कास्की–११, एन्फा तनहुँ, एन्फा गोरखा, एन्फा स्याङ्जा र आयोजक आदर्श युवाक्लवको सहभागिता रहने क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन खेलमा मंसिर २२ गते आयोजक आदर्श युवा क्लव र एन्फा तनहुँ बीच हुने भएको छ। प्रतियोगिताको तयारी करिब पूरा भएको क्लवका संस्थापक अध्यक्ष चेतबहादुर गुरुङले बताए। रंगशाला सम्याउनेदेखि, प्यारापिट निर्माण गर्नेसम्मको काम सकिएको उनको भनाई छ। ‘हामीले सबैजसो तयारी गरिसकेका छौ,’ उनले भने।

प्रतियोगिताको उपाधि बिजेताले नगद ४ लाख २५ हजार ५ सय २५, उपबिजेताले २ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लवले जनाएको छ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट कोचलाई पनि नगद १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए।

प्रकाशित: १९ मंसिर २०८१ १७:५९ बुधबार

आदर्श कप पोखरा