७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिप:बङ्लादेशलाई जित्नैपर्ने दबाबमा भारत

साबिक विजेता बाङ्लादेश साफ महिला च्याम्पियनसिप २०२४ यतिको अप्ठ्यारो मोडमा उभिएला भनेर सायद कसैले सोचेका थिएनन्। किनभने अनुभवी खेलाडीसहित तेस्रोपल्ट काठमाडौं उत्रिएको यो बाङ्लादेशलाई सबैले सहजै सेमिफाइनलमा पुग्न सक्ने टोलीका रूपमा लिएका थिए। यसरी बलियो दाबेदारको रूपमा हेरिनुमा समूह ‘ए’ को पहिलो प्रतिस्पर्धी पाकिस्तान निकै कमजोर मानिएको थियो। हुन पनि हो, पाकिस्तानसँग सिनियरस्तरको अघिल्ला तीन भेटमा बाङ्लादेश पूरै हाबी थियो।

बाङ्लादेशले यी भेटमा ५–०, ६–०, ७–० को जित निकाल्दै आफ्नो दबदबा कायम गरेको थियो। तर, चौथो भेटमा भने परिस्थिति त्यति अनकूल भएन र बाङ्लादेश पुनरागमन गर्दै १–१ गोलको बराबरी खेल्न बाध्य भयो। यो बराबरीले बाङ्लादेशको सेमिफाइनल यात्रा सकस बनेको छ। किनभने बुधबार पाँचपल्टको विजेता भारतसँग नतिजाले नै बाङ्लादेश अगाडि बढ्छ या बढ्दैन भन्ने तय गर्नेछ। त्यसैले भारतविरुद्ध बाङ्लादेशका लागि ‘गर या मर’ को भिडन्त भएको छ।

यो खेल जितेमा एक खेलअगावै सेमिफाइनल पुगिसकेको भारत समूहविजेता बन्नेछ। पाकिस्तानलाई भने कम्तीमा भारतले ३–० गोलअन्तरमा जितको नतिजा आवश्यक पर्नेछ। तब मात्र पाकिस्तानलाई भारतसँगै अघिल्लो चरणको यात्रा तय गर्ने मौका मिल्नेछ। भारतलाई बराबरीमा रोक्न सकेमा बाङ्लादेश दुई अंकका साथ समूहउपविजेता बन्छ, तर उसलाई समूहको शीर्ष स्थानमा रहन जित अपरिहार्य छ। पाकिस्तानमाथि ५–२ को जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको भारतको ध्यान बुधबार समूहविजेतासँगै सन् २०२२ को पीडादायी हारको बदला लिनेमा केन्द्रित हुनेछ।

उक्त संस्करण बाङ्लादेशले समूहचरणमा ३–० को जित निकाल्दै प्रतियोगितामा भारतको अपराजित यात्रा टुंग्याएको थियो। साफ इतिहासमा भारतको यो नै दक्षिण एसियाली प्रतिद्वन्द्वीसँग पहिलो हार थियो। त्यसैले भारत त्यो पीडादायी हारको बदला लिन आतुर छ। तर, भारतीय मुख्य प्रशिक्षक सन्तोष कश्यप बाङ्लादेशसँगको खेल चुनौतीपूर्ण हुने ठान्छन्। उनी भन्छन्, ‘विदेशी प्रशिक्षकसहितको यो बलियो टोली छ। उनीहरूसँग ठोस रणनीतिक योजना छन्।’

बाङ्लादेशको टोली वेस्ट ह्यामका पूर्वमिडफिल्डर पिटर बटलरले सम्हालिरहेका छन्। तर, मार्चमा मात्रै टोली सम्हालेका उनले खेलाडीलाई राम्रोसँग बुझ्न पाएका छैनन्। त्यसैले होला बटलरको रणनीतिक पहिलो खेलमा प्रभावकारी देखिएन। उनले पाकिस्तानविरुद्धको खेलमा मारिया मान्डा, मसुरा परविन र सन्जिदा अख्तरजस्ता सिनियर खेलाडीलाई बेन्चमा राखेर युवा खेलाडीलाई परीक्षण गरे। यो निर्णय घातक देखियो। विशेष गरी सेन्ट्रल मिडफिल्डरमा मारियाको अभाव खड्कियो। सन् २०१६ देखि बाङ्लादेशको टोलीमा रहेको उनी एक खम्बा नै हुन्। मिडफिल्डबाट अगाडि सहजै बल निकाल्ने उनको कलाका कारण धेरै प्रतियोगिताहरूमा बाङ्लादेश जित हात पार्न सफल भएको थियो। तर, यसपल्ट भने गोलोन रब्बानी छोटोनको स्थानमा प्रशिक्षक जिम्मेवारी सम्हालिरहेका बटलरले उनलाई महत्त्वपूर्ण ठानेनन्। जब उनको महत्त्व महसुस भयो त्यतिखेरसम्म निर्धारित समय सकिन सात मिनेट मात्रै बाँकी थियो । मोनिका चम्काको स्थानमा उनी मैदान प्रवेश गर्दा बाङ्लादेश बराबरी गोलको खोजीमा थियो।

तर, समसुन्नहार जुनियरले इन्जुरी समयमा गोल गरेपछि पाकिस्तान ऐतिहासिक जितबाट वञ्चित भयो भने बाङ्लादेशले पनि राहतको सास फेर्न पायो। बुधबारको जित्नैपर्ने खेलमा बटलरले निश्चय नै आफ्नो गल्ती सुधार गर्नेछन्। त्यसैले भारतीय प्रशिक्षक कश्यप विपक्षबाट हुन सक्ने सबै सम्भावित खतराहरूको सावधानीपूर्वक मूल्यांकन गरिरहेको बताउँछन्। तर, पाकिस्तानसँग जस्तै आक्रामक फुटबल खेल्ने लक्ष्यमा छ। पाकिस्तानविरुद्ध भारतले फराकिलो जित निकाल्दा ‘प्लेसिङ’ मा चार खेलाडीलाई उतारेको थियो। तर, पहिलो हाफको तुलनामा भारतले आक्रामक खेल पस्किए पनि गोलकिपर निशा असरफ बाधक बनिन्।

पहिलो हाफमा निशाकै कारण चार गोल गर्न सफल भएको भारतले दोस्रो हाफमा भने एक गोल मात्रै थप्न सक्यो। बाङ्लादेशसँगको खेलमार्फत सन् २०१९ को साफमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएकी डिफेन्डर डालिमा छिब्बरले पुनरागमन गर्दै छिन्। व्यावसायिक फुटबल खेल्न क्यानडा पुगेकी उनले अघिल्लो संस्करण गुमाएकी थिइन्। यता, बाङ्लादेशलाई डिफेन्डर अखी खातुन र अनाई मोगिनीजस्ता खेलाडीको अभाव महसुस हुनेछ। यद्यपि, टोलीले अफिदा खाँडाकर, मत्सुसिमा सुमाया र ऐरिन खातुनजस्ता युवा खेलाडीलाई टोलीमा समावेश गरेको छ। बाङ्लादेशलाई अघिल्लो चरणमा पुर्‍याउने हो भने यी खेलाडीले बलियो प्रदर्शन गर्नुपर्नेछ। तर, प्रशिक्षक बटलर भारतसँगको यो भेट सहज नहुने बताउँछन्। ‘भारतीय प्रतियोगिताको सबैभन्दा उत्कृष्ट टोली हो। यो निकै आक्रामक खेल हुनेछ। तर, यो गर या मरको खेल हो। त्यसैले हामी हार्न चाहँदैनौं,’ उनी भन्छन्।

प्रकाशित: ७ कार्तिक २०८१ ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App