५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

भिजन एक लाखसहित सम्मानित

१४औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण विजेता नेपालका भिजन तामाङ नगद पुरस्कारसहित सम्मानित गरेको छ।

अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पिन्सिप (आइओएफटिसी) ले भिजनलाई शनिबार एक लाख नगद पुरस्कारसहित सम्मान गरेको हो। 

सोही अवसरमा युएस वल्र्ड क्लास हलिउड तेक्वान्दो एसोसिएसनका खेलाडी सेल्बा ताम्राकारले उपलब्ध गराएको दुई सय अमेरिकी डलर पनि भिजनलाई प्रदान गरिएको थियो। 

आइओएफटिसीको आयोजनामा दक्षिण कोरियाको सिओलमा गत अगस्ट २३ देखि २४ तारिखसम्म सम्पन्न च्याम्पियनसिपमा भिजनले पुरुष ४० केजीमुनि स्वर्ण जितेका थिए। उनले सेमिफाइनलमा अमेरिका तथा फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गर्दै सफलता पाएका हुन्।  

च्याम्पियनसिपमा नेपालबाट भिजनले मात्र प्रतिस्पर्धा गरेका थिए। उनी उत्कृष्ट खेलाडी पनि घोषित भए । समग्रमा भिजनको यो दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण हो। यसअघि भिजनले थाइल्यान्डमा भएको प्रतियोगितामा स्वर्ण जितेका थिए। 

विभिन्न घरेलु प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीका भिजनले २१ स्वर्ण जितेका छन्। भिजनको प्रतिभाको कदर गर्दै सम्मान गरिएको आइओएफटिसीका निर्देशक दिवाकर महर्जनले जानकारी दिए ।  

सोही च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक बनेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई पनि नगद २५ हजारसहित सम्मान गरिएको थियो। 

अशोकको अन्तर्राष्ट्रिय निर्णायकका रूपमा यो १४औं अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा हो। उनले करिब ४० अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्। 

आइओएफटिसीका लागि खेलाडी छनोट गर्न नेपालमै गत वैशाखमा भएको चौथो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा संयोजकको भूमिका निर्वाह गरेका वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई पनि प्रशंसापत्रसहित सम्मान गरिएको थियो।

सोही अवसरमा भारतमा सम्पन्न दशौं एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगिताको भेट्रानमा स्वर्ण जितेका राजमन्दिर श्रेष्ठ पनि प्रशंसा पत्रसहित सम्मानित भए। उनीहरूलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नगद र प्रशंसापत्रसहित सम्मान गरेका हुन्। 

सो अवसरमा आइओएफटिसी नेपाल च्याप्टरका अध्यक्ष मीनप्रसाद खनाल र सचिव गिरीबहादुर सुनारको पनि उपस्थिति रहेको थियो।

प्रकाशित: ३० भाद्र २०८१ ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App