२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

ताप्लेजुङ गोल्डकपः उपाधिका लागि सगरमाथा र सलहेस भिड्दै

ताप्लेजुङ गोल्डकपको उपाधिका लागि आज कोसी प्रदेशको सगरमाथा युथ क्लब मोरङ र मधेस प्रदेशको सलहेस फुटबल क्लब सिराहाबीच प्रतिस्पर्धा हुँदैछ।

उपाधि जितको होडमा रहेका दुबै टोलीले आजको फाइनलमा उत्कृष्ट खेल पस्किने दाबी गरेका छन्। 

फाइनल खेलको पूर्वसन्ध्यामा आइतबार गोल्डकपको आयोजक लाखेजात्रा सञ्चालन समितिले दुवै टोलीका प्रशिक्षक र कप्तानलाई एकै ठाउँ राखेर पत्रकार अन्तरसंवाद आयोजना गरेको थियो। सोही क्रममा दुवै टोलीले फाइनलमा आफ्नो तर्फबाट अब्बल खेल देखाउँदै उपाधिका लागि केन्द्रित हुने बताए।

‘हामी टप ग्रुपमा थियौं। त्यो ग्रुपको चुनौती चिरेर फाइनल आइपुगेका हौं,’ सलहेसका टिम कप्तान कुलदीप कार्कीले भने । उनले पछिल्ला दिनमा आफू आबद्ध टोली मोफसलका धेरै गोल्डकपमा सहभागी भई कतै विजेता र कतै उपविजेता भई फर्किएको अनुभव सुनाए। आफूहरूले प्रतिद्वन्द्वी टोलीलाई कम नआँकेको तर उसको चुनौती सामना गर्न पछि नपर्ने कार्कीको दाबी थियो।

सलहेसका प्रशिक्षक राजीव यादवले आफ्नो खेल टोलीको सशक्तता दाबी गर्दै ‘ए’ डिभिजन लिग खेलेका खेलाडीले भरिएका टोलीहरूसँग समेत आफूहरूको उपाधि भिडन्त भइसकेकाले सोमबमर प्रतिद्वन्द्वीविरुद्ध आफ्नो टोलीकोे उपस्थिति बलियो हुनेमा आशावादी रहेको बताए।

प्रतिद्वन्द्वी टोलीमा रहेर ताप्लेजुङ गोल्डकप खेलिरहेका सगरमाथा फुटबल क्लबका कतिपय खेलाडीले यसअघि सलहेसको टोलीमा रहेर खेल खेलेको बताउँदै उनले त्यो सिकाइ पनि सोमबारको फाइनलमा प्रयोग गर्ने बताए। समूह ‘बी’ मा सलहेससँगै विभागीय टोली त्रिभुवन आर्मी, बिर्तामोड युनाइटेड र पाँचथर वाईवाई फुटबल क्लब थिए। सगरमाथा युथ क्लबका कप्तान अशोक खवासले विभिन्न क्लबमा आबद्ध भएर खेलेका खेलाडी अहिलेको टोलीमा रहे पनि अहिलेसम्मको खेल अवस्थाले अलग क्लबमा आबद्ध खेलाडी अहिले मैदान उत्रिएका छौं जस्तो नै नलागेको बताए। ‘रेन्डम खेल्छौं, टिमवर्कमा खेल्छौं तर उपाधि रक्षाका लागि अधिकतम प्रयास गर्छौं,’ खवासले भने। उनी भानु जनमाविमा लाखेजात्राको अवसरमा भएका फुटबल प्रतियोगितामा हमेसा मैदानमा देखिने खेलाडी हुन्। सलहेसमा अफ्रिकन मूलका खेलाडीको सहभागिता छ। पाँचथरविरुद्धको पहिलो पहिलो खेलमा जोन ग्लोरी, सेवेए र कार्लोस सामजस्ता विदेशी खेलाडी मैदानमा थिए।

सगरमाथाका कप्तान खवासको तर्क बेग्लै छ। उनी भन्छन्, ‘उहाँहरू ९सलहेस० को टोलीमा विदेशी खेलाडी हुनुहुन्छ, हामीमा मनोबल छ, अनुभवी खेलाडीको साथ छ।’ आफूहरूले उत्कृष्ट लयमा रहेर प्रतिद्वन्द्वी टोलीको सामना गर्ने खवासले बताए।

सगरमाथाका प्रशिक्षक युवेन गुरुङले आफूहरू खेलको लयमा रहेको दाबी गरे। नेपाल सुपर लिग खेलेको बुटवल लुम्बिनी एफसी र युवा तथा खेलकौशलमा निपुण गृहटोली संघर्ष स्पोर्टिङ क्लबलाई घरेलु मैदानमा पराजित गरेको टोली भएकाले सगरमाथा उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा रहेको छ।

बुटवलमा रिचर्ड ओसेई, बाओटिङ, हेनरी र एपिया जस्ता अनुभवी विदेशी खेलाडी थिए। सगरमाथाले उनीहरूसहित नेपाल सुपर लिग खेलेका खेलाडीले भरिएको बुटवल एफसीलाई पराजित गरेको थियो। सलहेस गत जेठमा धनकुटामा सम्पन्न रारा गोल्डकपको ११औं संस्करणको विजेता हो। सगरमाथाले इटहरी गोल्डकपको उपाधिसमेत चुमिसकेको छ। यस वर्षको गोल्डकपका विजेताले ५ लाख रूपैयाँ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रूपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। 

प्रकाशित: १० भाद्र २०८१ ०८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App