४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

साफ यु–२० च्याम्पियनसिप: नेपालको लक्ष्यमा भुटान तगारो

कुनै बेला साफको उमेरसमूहका प्रतियोगितामा समूहचरण नै पार गर्न नसक्ने भुटान अहिले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा आज घरेलु टोली नेपालको सामना गर्दा भुटानको लक्ष्य लयलाई कायम राख्ने हुनेछ।

आफ्नो पहिलो खेलमा भुटानले डिफेन्डिङ च्याम्पियन भारतलाई निकै सताएको थियो। युरोप र घरेलु लिग खेल्ने खेलाडी लिएर मैदान उत्रिएको भारतलाई भुटानले त्यो चुनौती दिनेछ भनेर सायद कसैले सोचेका थिएनन्। तर, भइदियो उल्टो। भारतलाई १–० को नतिजा निकाल्न पनि हम्मेहम्मे पर्‍यो। अर्को खेलमा भने भुटानले सानदार पुनरागमन गर्‍यो। १–१ को बराबरीमा नै सकिन लागेको खेलको ९०‍औं मिनेटमा नवाङ चोपेलले गोल गर्दै भुटानलाई तीन अंकसहित अन्तिम चारको बलियो दाबेदारका रूपमा उभ्याए।

शुक्रबार भारतले माल्दिभ्सलाई हराएपछि भुटान त्यो दाबेदारी सफल पनि भयो। अब उसको लक्ष्य घरेलु टोली नेपालको चुनौती पन्छाउँदै इतिहास रच्नु हुनेछ, जुन सम्भव बनाउन भुटान काठमाडौं आएको हो। प्रतियोगिताअगाडि पत्रकार सम्मेलनमा नै भुटानका कप्तान पेमा जाङ्पोले भनेका थिए– ‘हामी सहभागी हुन मात्र आएका होइनौं, इतिहास रच्नेछौं। उनको त्यो प्राप्त हुन अब दुई कदम मात्र बाँकी छ। यसबीच भुटानले घरेलु टोली र बलियो टोली (बंगलादेश या भारत) लाई हराउनु पर्नेछ।

‘हामीले के गर्ने भनेर अहिल्यै नै सोचेको छैन। विपक्षी को हुन्छ भनेर रणनीति बनाउँछौं,’ भुटानका मुख्य प्रशिक्षक हिदेहारु ताकाहासीले माल्दिभ्ससँगको खेलपछि भनेका थिए। समूहचरणको खेल सकिएपछि भुटानले दुई दिन आफ्नो रणनीति बनाउने मौका पाएको छ। सम्भवतः ताकाहासीले नेपाली टोलीमा देखिएको फिनिसिङको समस्याको फाइदा उठाउने रणनीति बनाइसकेका छन्। नेपाल हरेकजसो प्रतियोगितामा अन्तिम चारसम्म आफ्नो स्थान बनाइरहेको हुन्छ। त्यसैले उसको लक्ष्य यसपल्ट त्योभन्दा माथि उक्लिएर घरैमा ट्रफी राख्ने हुनेछ।

यसो भयो भने नेपालले सात वर्षदेखिको उपाधि खडेरी पनि तोड्नेछ। घरेलु समर्थकको साथ पाएको नेपालले ट्रफी नै राख्ने गरी उत्कृष्ट प्रदर्शन भने पस्किन सकेको छैन। नेपालले पहिलो खेलमा एक दर्जनभन्दा बढी अवसर बुनेको थियो। त्यसैले यो ‘हाइ स्कोरिङ’ खेल हुनुपथ्र्याे। तर, यु–१७ देखि नै सँगै खेलिरहेका खेलाडीले त्यो ‘बन्डिङ’ देखाउन सकेनन्। विशेष त पोस्टनजिक पाएको बललाई उनीहरू उचाइ दिँदै फ्रेममा राख्न असफल भए। त्यसैले त्यो खेलमा नीराजन धामीले गरेको गोल नै निर्णायक बन्यो। त्यही कमजोरी बंगलादेशविरुद्धको खेलमा पनि देखियो। २–१ को जित निकाले पनि त्यो नतिजा नेपालका लागि चुनौतीपूर्ण रह्यो।

समीर तामाङले गरेको गोल बसुन्धाराबाट घरेलु लिग खेलिरहेका गोलकिपर तथा कप्तान मेहेदी हसनको गल्तीमा सम्भव भएको हो। अर्को गोल भने नेपालले उपहार पायो। तथापि, नीराजनले गोल अवसर सिर्जना गर्दा बंगलादेशी डिफेन्डरको खुट्टामा डिफ्लेक्ट भएको हो। गोलको लागि संघर्ष हुनुमा नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ आफ्नो टोली ‘अर्गनाइज’ नभएको समस्या देख्छन्। ‘पहिलो कुरा त टोली अर्गनाइज भएर विपक्षी टोलीको बिल्डअपलाई ब्रेक गर्न खोजिरहेका थियौं। त्यसमा केही सफलता मिल्यो। तर, अझै केही सुधारको आवश्यक छन्,’ उनले बंगलादेशको खेलपछि भनेका थिए।

नेपाल र भुटान अपरिचित प्रतिद्वन्द्वी होइनन्। यसअघि यी दुई टोली तीनपल्ट आमुन्नेसामुन्ने भइसकेका छन्। यसमा दुईपल्ट त भुटानले नै बाजी मारेको छ। उमेरसमूहमा साफको पहिलो संस्करणमा विमल घर्तीमगरको ह्याट्रिकसँगै नेपालले भुटानलाई ३–१ ले हराएको थियो। त्यो खेल खेलेका विमलसँगै अञ्जन विष्ट, अनन्त तामाङ, तेज तामाङ, हेमन्त थापामगर, सुनील बल र डोना थापाले त राष्ट्रिय टोलीसम्मकै बाटो खोले। अहिले पनि अञ्जन र अनन्त नेपाली टोलीका नियमित सदस्य हुन्।

यी खेलाडीकै बलबुतामा नेपालले फाइनलमा भारतलाई हराउँदै उपाधि नै जितेको थियो। तर, त्यस पछिका दुई भेटमा भने भुटानले आफ्नो स्तर सुधारिएको सन्देश दिइरहेको छ। २०१७ मा भएको साफ यु–१८ मा पहिलोपल्ट भुटानसँग १–० ले पराजित भएको नेपाल दुई वर्षपछि पनि घरेलु मैदानमै ३–० को स्तब्धपूर्ण नतिजा सुम्पिन बाध्य भयो। भुटानले एकपछि अर्को गरी छलाङ मार्दै जानु उसको ग्रासरुट फुटबल महŒवपूर्ण रहेको विपक्षी टोली मान्छन्। माल्दिभ्सका मुख्य प्रशिक्षक अहमेद शाकिरले त खुलेरै भुटानले फुटबलमा गरिरहेको लगानीप्रति प्रशंसा नै गरे। उनी भुटानले उमेरसमूहमा राम्रो प्रदर्शन गर्नुमा निरन्तरता रहेको बताउँछन्। जुन अन्य राष्ट्रमा कम छ।

नेपालमा पनि कुनै बेला उमेरसमूहका खेलाडी एन्फा एकेडेमीकै उत्पादन हुने गर्थे। तर, अहिले एन्फा एकेडेमी चलिरहेको या नरहेको अत्तोपत्तो छैन। त्यसैले टोली बनाउन खुला छनोटकै साहरा लिनुपर्छ। यो तरिकाको छनोट प्रभावकारी हुन पक्कै सक्दैन। १/२ खेलमा राम्रो प्रदर्शन गर्दैमा राम्रो र संगठित टोली बन्न नसक्ने शाकिरको भनाइ थियो। त्यसैले समन्वय मिलाउन भए पनि एकै ठाउँमा या लगातार खेलाइरहनु पर्ने उनको भनाइ छ। अहिले नेपाली टोलीमा देखिएको समन्वयको अभाव पनि शाकिरले भनेजस्तै हो।

टोलीमा अधिकांश खेलाडी ‘ए’ डिभिजन र नेपाल सुपर लिग खेलेका छन्। तर, छुट्टाछुट्टै टोलीबाट खेल्दै आएकाले तालमेल मिल्न सकेको देखिँदैन। समूहचरणमा टोलीलाई सुधार गर्न एकपल्ट मौका मिल्न सक्छ। तर, नकआउट चरणमा त्यो अवसर प्राप्त हुँदैन। त्यसैले आइतबार भुटानसँग हुने भेटमा नेपाललाई सुधारिएको प्रदर्शन गर्नुको विकल्प हुने छैन। यदि यो खेलमा नेपालले त्यस्तो प्रदर्शन गरे प्रशिक्षक उर्जनले भनेजस्तै ट्रफी घरमै राख्न एक खुट्किलो मात्र बाँकी हुन्छ। तर, समूहचरणको जस्तै खेललाई निरन्तरता दिए उपाधि उचाल्ने नेपालको सपना यसपल्ट पनि अधुरै रहनेछ। 

प्रकाशित: ९ भाद्र २०८१ ०६:१६ आइतबार

#SAAF #Nepal #bhutan