४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

दोस्रो ताप्लेजुङ गोल्डकप: उद्घाटनमा संघर्ष र कञ्चनजङ्घाक्लब भिड्ने

भदौ ३ गते देखि सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा गृह टिम संघर्ष स्र्पोटिङ क्लबले भारत सिलगढीको कञ्चनजङ्घा फुटबल क्लबसँग उद्घाटन खेल खेल्ने भएको छ। आयोजक लाखेजात्रा सञ्चालन समितिले शुक्रबार गोल्डकपको खेल तालिका सार्वजनिक गरेको हो।

लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङका अनुसार संघर्ष र कञ्चनजङ्घा समूह ‘ए’ मा छन्। यस्तै ४ गते समूह ‘बी’ को पाँचथर फुटबल क्लब र सिराहाको सलहेश युवा क्लब आमनेसामने हुनेछन्। 

समूह ‘ए’ मा रहेका रुपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लब र सगरमाथा यूथ क्लब मोरङको भिडन्त ५ गते हुने छ। ६ गते समूह ‘बी’ को त्रिभुवन आर्मी क्लबले बिर्तामोड युनाइटेड फुटबल क्लब झापासँग प्रतिस्पर्धा गर्ने छ। ७ गते पहिलो सेमिफाइनल र ८ गते दोस्रो सेमिफाइनल हुने छ भने १० गते उपाधि भिडन्त हुने भएको छ।

यो पटकको खेल अनिवार्य २ः३० बजे देखि सुरु हुने गरी खेल स्थल भानुजन माविको खेलमैदान तयारी गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष गुरुङले बताए। एक जना फिफा रेफ्री तथा दुई जना राष्ट्रिय रेफ्री सहित यसपटक छ जना रेफ्री खेलमा रहने आयोजक समितिले बताएको छ। 

साउन महिना भित्रैमा दर्शक बस्ने प्याराफिटको निर्माण कार्य पूरा गरिने गुरुङले बताए। बाँसको प्रयोग गरी अस्थायी प्याराफिटको निर्माण कार्य धमाधम भइरहेको छ। स्थायी र अस्थायी गरी १२ हजार बढी दर्शक आँट्ने क्षमताको प्याराफिट तयार गर्ने आयोजक समितिको भनाई छ।

यस पटकबाट गोल्डकप प्रतियोगिताका विजेता र उपविजेताले पाउने पुरस्कार राशिमा वृद्धि समेत गरिएको छ। गोल्डकपका विजेताले ५ लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन्।

ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताका प्रथम संस्करणका विजेताले ३ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको नगद पुरस्कार पाएका थिए। यसपटक विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ। 

यस्तै उत्कृष्ट गोलकर्ता,उत्कृष्ट फरवार्ड,उदयमान खेलाडी,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई जनही नगद १० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद ५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने छ। 

प्रकाशित: २५ श्रावण २०८१ १७:१८ शुक्रबार

#2nd Taplejung Gold Cup