२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको १०० दिने काउन्टडाउन सुरु

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आगामी मंसिरमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा आफूहरूको सम्पूर्ण ध्यान केन्द्रित भएको बताएका छन्। उनले शनिबारदेखि १०० दिने काउन्टडाउन सुरु गर्न लागिएको पनि जानकारी दिए।

नेपाल लोकतान्त्रिक खेलकुद संघको शपथ ग्रहण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सात वटै प्रदेश र सङ्घबाट शनिबारदेखि १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको काउन्टडाउन सुरु गर्न लागिएको बताए।

‘अब १० औं राष्ट्रिय प्रतियोगिता सुरु हुन १०० दिन बाँकी छ,’ मन्त्री भण्डारीले भने, ‘गर्नुपर्ने तयारीहरू धेरै भएकाले सम्पूर्ण ध्यान हामीले प्रतियोगिताको तयारीमा केन्द्रित गरेका छौँ।’ मन्त्री भण्डारीले खेलकुद रंगशाला निर्माण अन्तिम चरणमा पुगेको बताउँदै अन्य खेलकुद पूर्वाधार निर्माण र खेलाडी छनोटका लागि आवश्यक रकम माग गरिएको बताए।

‘मैले पहिलो निर्णय नै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक पर्ने बजेट माग गर्ने थियो,’ उनले भने, ‘केन्द्र र स्थानीय तहसँग प्रतियोगीताका लागि आवश्यक समन्वय भइरहेको छ।’ उनले दशौं राष्ट्रिय प्रतियोगिता कर्णालीमा आयोजना हुनु गर्भको कुरा भएको बताउँदै यसमा सबैको साथ र सहयोगको खाँचो रहेको बताए।

सामाजिक विकास मन्त्री भण्डारीले दशौं राष्ट्रिय प्रतियोगीताका लागि १६ करोड बजेट आवश्यक पर्ने र सो बजेट उपलब्ध गराइदिनका लागि संघीय सरकारलाई अनुरोध गरेर पठाइएको बताए। उनले कर्णालीमा खेलकुदको सम्भावना धेरै भएपनि खेलाडी उत्पादनमा लगानी न्यून भएको बताए। उनले न्यून लगानी हुँदा पनि कर्णालीका खेलाडीहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरस्कार प्राप्त गरेको बताए।

मन्त्री भण्डारीले कर्णालीमा खेलाडीहरु धेरै भएपनि उनीहरुलाई खेलकुदको नियमका बारेमा जानकारी नभएको बताए। ‘भेरी र कर्णालीमा पौडिनेहरू सबै ओलम्पियन हुन्,’ मन्त्री भण्डारीले भने, ‘मात्रै उनीहरुलाई खेलकुदको नियम सिकाउन आवश्यक छ।’ मन्त्री भण्डारीले दशौं राष्ट्रिय प्रतियोगितामा दुई अङ्कको स्वर्ण पदक प्राप्त गर्ने गरेर कर्णालीले तयारी गरिरहेको बताए।

उनले गैर खेलाडीहरुले विषयगत खेलकुद संस्थाहरूमा कब्जा जमाएको भन्दै त्यसलाई सच्याउन आवश्यक रहेको बताए। ‘गैर खेलाडीहरु विषयत खेलकुद समितिमा रहँदासम्म कर्णालीको खेलकुद क्षेत्रको विकास हुन सक्दैन,’ उनले भने, ‘यसलाई सच्याउने गरेर काम गर्छु।’उनले कर्णालीको खेलकुद क्षेत्रको विकास, पूर्वाधार निर्माण र आगामी दशौं राष्ट्रिय प्रतियोगीताका लागि विषयगत खेलकुदका संस्थाहरूसँग समन्वय गरेर काम गर्ने पनि बताए।

कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघका कर्णाली प्रदेश संयोजक हरि विष्टले दशौं राष्ट्रिय प्रतियोगिता कर्णालीमा आयोजना हुनु महत्त्वपूर्ण उपलब्धि भएकाले यसको सफलताका लागि आफूहरू क्रियाशील रहने बताए। 

दुई खेलाडीलाई सम्मान

कार्यक्रममा भुटानमा भएको आठौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा एकल काँता र टिम काँतामा सिनियर इभेन्टतर्फ दोहोरो स्वर्ण पदक प्राप्त गर्ने एलिसा राष्कोटी मगर र २१ वर्षमुनिको कुमिते इभेन्टतर्फ स्वर्ण पदक प्राप्त गर्नै प्रियङ्का शाहीलाई नगदसहित सम्मान गरिएको थियो। यस्तै कराँते प्रशिक्षक प्रदीपकुमार राईलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।

प्रकाशित: २५ श्रावण २०८१ १७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App