२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एपिएफलाई पहिलो सफलता

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जारी ललित स्मृति एन्फा यु–१८ युथ लिगमा पहिलो जित दर्ता गरेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहीबार एपिएफले सातदोबाटो युथ क्लबमाथि २–१ को जित निकाल्दै पहिलो सफलता प्राप्त गरेको हो। आफ्नो दोस्रो खेलमार्फत् एपिएफले जित आत्मसात् गर्दा सातदोबाटो युथले दोस्रो हार सामना गरेको छ। पहिलो खेलमा एपिएफ जावालाखेल युथ क्लबसँग १–१ को बराबरीमा रोकिएको थियो। सातदोबाटो भने छिमेकी टोली खुमलटार क्लबसँग २–० ले पराजित भएको थियो। बिहीबार एपिएफलाई जित दिलाउन विकास टिटुङ र किशोर गुरुङले गोल गरे।

सातदोबाटोका योहान लिम्बूले एक गोल फर्काए पनि हार टार्न सकेनन्। खेलको १३औं मिनेटमा नै एपिएफले विकासको गोलमार्फत अग्रता लियो। कप्तान रोहित गोलेले प्रहार गरेको कर्र्नर बललाई विकासले हेडरमार्फत् जाली चुमाएका हुन्। ६७औं मिनेटमा किशोरले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाए। साजन योन्जनले लेफ्ट कर्नरबाट दिएको बललाई पेनाल्टी क्षेत्रमा अनमार्क किशोरले सहजै गोल गरेका हुन्। इन्जुरी समयमा योहानले गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यो पर्याप्त बन्न सकेन र सातदोबाटोले दोस्रो हार सामना गर्‍यो।

बिहीबारकै दोस्रो खेलमा नेपाल पुलिस क्लबले संकटा क्लबलाई २–० ले हराउँदै दोस्रो जित निकाल्यो। पुलिसको जितमा रञ्जित लामाले दुुई गोल गरे। पहिलो हाफ बराबरीमै सकियो। खेलको ७७औं मिनेटमा संकटाका डिफेन्सले राम्रोसँग क्लियर गर्र्न नसक्दा गोल खान पुग्यो। रञ्जितले पेनाल्टी बक्सबाटै गरेको प्रहार संकटाका कृष्णबहादुर आलेले रोक्ने प्रयास गरे पनि बलले जाली चुम्यो। ८०औं मिनेट नै रञ्जितले पेनाल्टी क्षेत्रबाटै गरेको प्रहार माथिल्लो बारमा ठोकिएर गोलमा परिणत भयो। त्यसपछिको बाँकी समयमा थप गोल हुन सकेन। 

प्रकाशित: ४ श्रावण २०८१ ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App