१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

युरो कप: ‘हेभिवेट’ सेमिफाइनल भिडन्त

स्पेलका लामियन यमल (दायाँ) र फ्रान्सका एन्गोलो काटे।

युरो कप सेमिफाइनल चरणमा प्रवेश गरेको छ। यो चरणका दुई ‘हेभिवेट’ खेलमा फ्रान्सले स्पेन र इङ्ल्यान्डले नेदरल्यान्ड्सको सामना गर्दै छन्।

बुधबार म्युनिखमा हुने अन्तिम चारको पहिलो खेलमा प्रतियोगिताको अहिलेसम्मको उत्कृष्ट टोली स्पेन र पछिल्ला दुई विश्वकपमा  फाइनल पुगेको फ्रान्स आमुन्नेसामुन्ने हुँदै छन्। ‘सब्स्टिच्युट’ खेलाडी मिकेल मेरिनोले ११९औं मिनेटमा हेडरमार्फत गोल गरेसँगै स्पेनले स्टुटगार्टमा आयोजक जर्मनीलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको थियो। योसँगै स्पेन लगातार दोस्रो पटक युरो कपको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ। लुइस डे ला फुएन्टेको टोलीले गत वर्ष युइएफए नेसन्स लिग जितेयता उत्कृष्ट प्रदर्शन गर्दै आएको छ र जारी युरो कपमा पनि सबैभन्दा प्रभावशाली टोली बनेको छ। १२ वर्षपछि पुनः उपाधि जित्ने लक्ष्य बोकेर जर्मनी पुगेको यो टोली किलियन एम्बाप्पे र फ्रान्सेली खेलाडीसँग प्रतिस्पर्धा गर्न तयार छ।

समस्यामा स्पेन

स्पेनका राइट ब्याक डानी कार्भाजल र सेन्ट्रल डिफेन्डर रोबिन ले नोर्मान्डले लगातार दुई पहेंलो कार्ड पाएकाले फ्रान्सविरुद्धको महŒवपूर्ण खेल गुमाउनेछन्। तर, डिफेन्डर मार्क कुकुरेला यी खेलाडीबिनै मैदान उत्रिँदा बाँकीले पनि उत्तिकै महŒवपूर्ण भूमिका खेल्नुपर्ने बताउँछन्। ‘फुटबल सामूहिक खेल हो। यदि यो वान–अन–वान भयो भने हामीलाई गाह्रो हुनेछ। तर, हामीसँग केही उत्कृष्ट अन्य खेलाडी छन्। त्यसैले उनीहरूमा हामी निर्भर हुन सक्छौं,’ उनले भने। जर्मनीका मिडफिल्डर टोनी क्रुसले खराब ट्याकल गरेसँगै घुँडामा पीडा बोकेका पेड्रीले पनि फ्रान्सविरुद्धको यो खेल गुमाउनेछन्। यद्यपि, जर्मनीविरुद्धको क्वार्टरफाइनल खेलमा एक गोल र एक असिस्ट गरेका ड्यानी ओल्मो अन्तिम चारको खेलमा सुरुआती ११ मा मैदान उत्रिन हकदार बनेका छन्। सन् २०२१ को नेसन्स लिग र सन् १९८४ को युरो फाइनलमा फ्रान्सले स्पेनलाई पराजित गरेको थियो।

त्यस्तै, युरो कप २००० को क्वार्टरफाइनल र विश्वकप २००६ को अन्तिम १६ मा पनि फ्रान्ससँग स्पेन पराजित भएको थियो। यद्यपि, सन् २०१२ मा इटालीलाई ४–३ गोलअन्तरले पराजित गर्दै स्पेन अन्तिम पटक उपाधि जित्न सफल भएको थियो। दुई प्रभावशाली खेलाडी एम्बाप्पे र एन्टोनी ग्रिजमनले उत्कृष्ट प्रदर्शन गरेसँगै फ्रान्स पछिल्ला पाँच ठूला प्रतियोगितामा चौथो पटक सेमिफाइनलमा पुगेको छ। नाक भाँचिएका कारण एम्बाप्पे पूर्ण रूपमा फिट नभए पनि पाँच खेलमा गोल गर्ने एक मात्र फ्रान्सेली खेलाडी बनेका छन्। उनले पोल्यान्डविरुद्ध पेनाल्टीमा गोल गरेका थिए। अन्य दुई गोल भने फ्रान्सलाई विपक्षी खेलाडीहरूले उपहार दिएका हुन्।

रूस विश्वकप २०१८ विजेता र कतार विश्वकप २०२२ को उपविजेता डिडिएर डेसच्याम्प्सको टोलीले पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो। पाँच खेल खेलिसक्दा पनि ‘ओपन प्ले’मा गोल गर्न नसकेपछि फ्रान्स आलोचनाको सिकार हुँदै आएको छ। तर, फ्रान्सेली खेलाडी यसबारे चिन्तित देखिँदैनन्। मिडफिल्डर युसुफ फोफाना भन्छन्, ‘व्यक्तिगत रूपमा मलाई कुनै वास्ता छैन। किनभने हामी सेमिफाइनलमा पुगेका छौं। प्रशिक्षक डेसच्याम्प्सको प्रशिक्षणमा फ्रान्स २०२३ को सुरुआतदेखि अहिलेसम्म १९ मध्ये १५ मा जित हात पार्न सफल भएको छ।

इङ्ल्यान्डको संघर्ष

इङ्ल्यान्ड र नेदरल्यान्ड्स बिहीबार डर्टमन्डमा हुने दोस्रो सेमिफाइनलमा भिड्दै छन्। ग्यारेथ साउथगेटको १००औं खेलमा युरो कप २०२० को उपविजेता इङ्ल्यान्ड अन्तिम आठमा स्विट्जरल्यान्डसँग निर्धारित र अतिरिक्त समयमा १–१ को बराबरीमा रोकिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरको जित हासिल गर्दै इङ्ल्यान्डले नेदरल्यान्ड्ससँगको भेट पक्का गरेको हो।

पछिल्ला चार खेलमा इङ्ल्यान्डले निर्धारित ९० मिनेटभित्र कुनै पनि खेल जित्न सकेको छैन। तर, अन्तिम चारसम्म पुग्न यो टोलीले डेनमार्क, स्लोभेनिया, स्लोभाकिया र स्विट्जरल्यान्डसँग प्रतिस्पर्धात्मक खेल खेलेको छ। साउथगेटले आफ्नो टोलीको प्रदर्शनबारे जबाफ दिँदै भने, ‘प्रतियोगिता जित्नका लागि अन्य गुणहरू देखाउनुपर्ने हुन्छ। तर, मेरा खेलाडीहरू अविश्वसनीय गुणहरू देखाइरहेका छन्। नेदरल्यान्ड्सले समूहको तेस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको थियो। रोमानियालाई हराउँदै अन्तिम आठमा पुगेको नेदरल्यान्ड्सले शनिबार बर्लिनमा टर्कीलाई २–१ गोलअन्तरले पाखा लगायो। खेलको ७५औं मिनेटसम्म नेदरल्यान्ड्स १–१ गोलको बराबरीमा थियो। तर, टर्कीका २५ वर्षीय डिफेन्डर मेर्ट मुल्दुरले आफ्नै पोस्टमा आत्मघाती गोल गरेसँगै नेदरल्यान्ड्स अन्तिम चारमा पुग्न सफल भएको हो।

सन् १९८८ मा जर्मनीमा भएको युरो कपको उपाधि जितेको नेदरल्यान्ड्स सन् २००४ पछि पहिलोपल्ट अन्तिम चारमा प्रवेश गरेको छ।

प्रशिक्षक रोनाल्ड कोम्यान भन्छन्, ‘हामी साना राष्ट्र हौं। तर, इङ्ल्यान्ड, फ्रान्स र स्पेनसँगै सेमिफाइनलमा छौं। यहाँसम्म आइपुग्दा हामी वास्तवमै गौरवान्वित छौं।’ सन् २०१९ को नेसन्स लिगको सेमिफाइनलमा इङ्ल्यान्डसँग नेदरल्यान्ड्स ३–१ गोलले पराजित भएको थियो। तर, युरो कपमा यसअघिका खेलमा यी दुवै टोलीले एक÷एक जित हासिल गरेका छन्।

प्रकाशित: २५ असार २०८१ ०७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App