प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले जितेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा पुरुषतर्फ गण्डकी भलिबल एसोसिएसनलाई पराजित गर्दै हेल्प नेपाल र महिलातर्फ एभरेस्ट भलिबल क्लबलाई पराजित गर्दै पुलिसले उपाधि जितेका हुन्।
सेटर मोहन उक्र पाण्डेयन तथा काउन्टरद्वय रमनकुमार र सहया एन्थोनी राजसहित तीन भारतीय खेलाडी उतारेको गण्डकीमाथि हेल्प नेपालले ३–१ सेटको सहज जित हासिल गर्दै उपाधि रक्षा गर्यो। पाकिस्तानी तीन खेलाडी कोर्टमा उतारेको हेल्प नेपाललाई लिग चरणमा गण्डकीले ३–२ को सेटमा पाखा लगाएको थियो। गण्डकीले लिग चरणका सात खेलमा २० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनलको यात्रा तय गरेको थियो।
हेल्प नेपाल भने लिग चरणका सात खेलमा ६ जित र एक हारको नतिजासहित १९ अंक जोड्दै दोस्रो स्थानमा रहेर गण्डकीसँगको भेट पक्का गरेको थियो। हेल्प नेपालले आउट साइड हिटर मुब्सनराज वाटो तथा मजर अली र सेटर अदनान खानसहित तीन पाकिस्तानी खेलाडीलाई कोर्टमा उतारेको थियो। उपाधि दिलाउन यी तीनै खेलाडीको अहम् भूमिका रह्यो। फाइनलमा पनि यी तीन खेलाडी चम्किएपछि हेल्प नेपालले लिग चरणमा बेहोरेको हारको बदला लिँदै गण्डकीमाथि सहज जित हात पा¥यो।
पहिलो सेट २२–२५ ले जितेको हेल्प नेपालले दोस्रो सेट २५–२० ले गुमायो। तर, त्यसपछिका दुई सेटमा उत्कृष्ट पुनरागमन गरेर गण्डकीलाई समान २०–२५ ले पाखा लगायो।
उपाधिसँगै हेल्प नेपालले आठ लाख रूपैयाँ पायो। उपविजेता गण्डकीले चार लाख रूपैयाँमा चित्त बुझायो। योसँगै व्यक्तिगत उपाधिमा हेल्प नेपालको वर्चश्व रह्यो। हेल्प नेपालका टपबहादुर थापा उत्कृष्ट लिबेरो, अदनान खान उत्कृष्ट सेटर चुनिँदा उत्कृष्ट खेलाडी वाटो र उत्कृष्ट प्रशिक्षक उत्सव खड्का रहे।
गण्डकीका रमन कुमार उत्कृष्ट सर्भर र उत्कृष्ट स्पाइकर सन्तोष रहे। पुलिसका सफल विक उत्कृष्ट ब्लकर चुनिए। शनिबार नै पुरुषतर्फ तेस्रो स्थानका लागि भएको विभागीय डर्बीमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई ३–२ को सेटमा पाखा लगायो।
पहिलो सेट ३१–२९ ले जितेको पुलिसले त्यसपछिका दुई सेट १३–२५ र २२–२५ ले गुमायो। तर, चौथो र पाँचौं तथा निर्णायक सेट २५–२३ र १५–८ ले जित्दै पुलिस तेस्रो भयो। तेस्रो स्थान हात पारेको पुलिसले दुई लाख रूपैयाँ पायो।
एभरेस्टसँग पुलिसको बदला
महिलातर्फ लिग चरणमा अपराजित बुटवलको एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा पराजित गर्दै पुलिसले उपाधि जित्यो। उपाधिसँगै पुलिसले आठ र एभरेस्टले चार लाख रूपैयाँ पाए। ६ टोली सहभागी महिलातर्फको प्रतियोगितामा एभरेस्टले पाँचै खेल जित्दै १४ अंक जोडेको थियो। एभरेस्टले स्पाइकर केपी अनुश्री र मिडल ब्लकर सूर्या तथा सालिनी सर्वोनमलाई कोर्टमा उतारेको थियो।
यस्तै, राष्ट्रिय टोलीकी कप्तान अरूणा शाहीको बलियो उपस्थिति रहेको एभरेस्ट फाइनलमा भने पहिलो र दोस्रो सेटमा २१–२५ र २३–२५ ले पछि परेको थियो। तर, त्यसपछिका दुई सेटमा पुनरागमन गर्दै एभरेस्टले २५–२० र २३–२० ले खेल आफ्नो पक्षमा पार्यो।
पाँचौं तथा निर्णायक सेट भने एभरेस्टले १२–१५ ले गुमाएसँगै पुलिस च्याम्पियन बन्यो। लिग चरणको अन्तिम खेलमा एभरेस्टले पुलिसलाई ३–१ को सेटमा सजिलै पाखा लगाएको थियो। यद्यपि, पुलिस चार जित र एक हारसहित ११ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनल पुगेको थियो।
व्यक्तिगत पुरस्कारमा पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर कमला पुन र उत्कृष्ट प्लेयर उषा भण्डारी भए। यस्तै, उत्कृष्ट प्रशिक्षक रूपेश विष्ट रहे।
एभरेस्टकी सूर्या उत्कृष्ट ब्लकर र अनुश्री उत्कृष्ट स्पाइकर बने। एपिएफलाई तेस्रो बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी निरुता ठगुन्ना उत्कृष्ट सर्भर चुनिइन्। विभागीय डर्बीमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ तेस्रो बनेको थियो। एपिएफले २५–१९, २५–२० र २५–१९ ले खेल जित्यो। एपिएफले दुई लाख रूपैयाँ पायो।
प्रकाशित: २७ जेष्ठ २०८१ ०६:२६ आइतबार