४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

पौडी पोखरीको व्यावसायिक बाटो

गर्मी बढेसँगै नेपालगन्ज रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषद्को पौडी पोखरीमा चहलपहल बढेको छ। विशेष गरी बिदाको दिन यहाँ धेरै भीडभाड हुन्छ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा २०७५ सालमा पौडी पोखरी निर्माण गरिएको थियो। उक्त प्रतियोगिता सञ्चालनको उद्देश्यले बनाइएको पोखरीलाई अहिले व्यावसायिक रूपले सञ्चालन गर्न थालिएको हो। राष्ट्रिय खेलकुद परिषद्ले पौडी खेल्नका लागि सर्वसाधारण नागरिकलाई (स्विमिङ कस्ट्युम) बाहेक प्रतिव्यक्ति २ सय रूपैयाँ, राष्ट्रिय खेलाडीलाई एक सय रूपैयाँ तथा सामूहिक रूपमा आउने विद्यार्थीलाई शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। अन्तर्राष्ट्रिय खेलाडीबाट भने शुल्क लिइँदैन।

गर्मी छल्नका लागि रंगशालामा अचेल दैनिक रूपमा करिब १ सय ५० जनाको हाराहारीमा पौडी खेल्न आउने गरेको साबिक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए। हरेक दिन बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म पौडी पोखरी सञ्चालन भइरहेको उनले बताए।

चालू सिजनका लागि गत चैत महिनाबाट पौडी पोखरी नियमित रूपमा सञ्चालन भएको चन्दले सुनाए। पौडी पोखरीमा जडित उपकरणले नियमित रूपमा पानी शुद्धीकरण गर्ने गरेको कार्यालय प्रमुख चन्दले बताए। ‘हामीकहाँ पानी फिल्टर गर्ने उपकरण जडित छन्, पौडी पोखरी सञ्चालन गर्नका लागि २ जना प्रशिक्षकसहित ४ जना कर्मचारीलाई खटाएको छौं,’ चन्दले भने ‘पौडी पोखरी सञ्चालनमा खटिएका कर्मचारीलाई हामीले आन्तरिक स्रोतबाट तलब खुवाउँछौं।’

अन्तर्राष्ट्रिय मापदण्डमा बनेकौ पौडी पोखरीमा सस्तो शुल्कमा पौडी खेल्न पाइने भएकाले टाढा–टाढाबाट पनि सर्वसाधारण आउने गरेको कार्यालयले जनाएको छ।

प्रकाशित: १९ वैशाख २०८१ ०९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App