४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

सहाना स्मृति राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई

विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ।

काभ्रेको धुलिखेल खेलकुद मैदानमा मंगलबार सम्पन्न फाइनलमा गण्डकी प्रदेशमाथि ४–१ को जित निकाल्दै आर्मी च्याम्पियन भएको हो। आर्मीको जितमा सरस्वती तामाङले दुई गोल गरिन्। सीमा खड्का र कमला चन्दले समान एक गोल थपे। गण्डकीकी सीतामाया बलले एक गोल फर्काइन्। चौथो मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन्। खेलको १६औं मिनेटमा गण्डकी खेलमा फर्कियो। गण्डकीकी सीतामायाले गोल फर्काइन्। त्यसको दुई मिनेटपछि नै आर्मीले अग्रता लियो।

सरस्वतीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाइन्। आर्मीले २४औं मिनेटमा अग्रता बढायो। यस पटक कमलाले आर्मीका लागि गोल गरिन्। ५७औं मिनेटमा आर्मीले चौथो गोल गर्‍यो। सीमाले गोल थप्दै आर्मीको फराकिलो जितसहित उपाधि दिलाएकी हुन्। आर्मीकी कमला चन्द प्लेअर अफ द फाइनल घोषित भइन्। उपाधिसँगै आर्मीले एक लाख र गण्डकीले ७५ हजार रूपैयाँ प्राप्त गरेका छन्। सुदूरपश्चिम प्रदेश तेस्रो भयो। तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिमले मधेस प्रदेशमाथि १–० गोलको साँघुरो जित निकाल्यो।

सुदूरपश्चिमका लागि खेलको २७औं मिनेटमा बबिता उराउले गोल गरेकी थिइन्। त्यो गोल नै सुदूरपश्चिमको जितका लागि पर्याप्त बन्यो। प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीले जनही १० हजार पुरस्कार पाए। आर्मीकी सरस्वती प्रतियोगिताकी सर्वाधिक (१० गोल) गोलकर्ता बनिन्। प्रतियोगिताको इमर्जिङ प्लेअर सुदूरपश्चिम प्रदेशकी नमिता एसके चुनिइन्। उत्कृष्ट गोलकिपर गण्डकीकी गोमा परियार, उत्कृष्ट डिफेन्डरमा आर्मीकी सरिता मेचे र आर्मीकै नीलिमा पान्डे प्लेअर अफ द टुर्नामेन्ट चयन भए।

विजेतालाई पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा, संघका अध्यक्ष अनिलप्रसाद शर्मा र महासचिव सुवर्ण श्रेष्ठ एवं संघका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए। प्रतियोगितामा आर्मी, बाग्मती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेश गरी ६ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १९ वैशाख २०८१ ०७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App