३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

‘सी’ डिभिजन लिगमा आरसी ३२ को सुखद सुरुआत

तस्बिर सौजन्यः एन्फा

नेपाली राष्ट्रिय फुटबल स्टार रोहित चन्दको नामबाट स्थापित आरसी ३२ फुटबल एकेडेमीले यस सिजनको सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सुखद सुरुआत गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको उद्घाटन खेलमा आरसी–३२ ले खालीबारी युवा फुटबल क्लबमाथि १–० को साँघुरो जित निकाल्यो। यससँगै यस सिजन ‘सी’ डिभिजनमा पनि सुर्खेतको टोली आरसी ३२ ले सुखद सुरुआत गसी डिभिजन लिगमा आरसी ३२ को सुखद सुरुआत गर्‍यो। गत सिजन पनि आरसी ३२ ले खालीबारीलाई नै हराएर सिजनको सुरुआत गरेको थियो। उक्त सिजन राम्रो प्रदर्शन गरे पनि आरसी ३२ ‘बी’ डिभिजनमा उक्लिनबाट दुई अंकले चुक्यो। यस पटक उद्घाटन खेलमा नै अंक बटुल्दै कर्णाली प्रदेशको एक मात्र टोली आरसी ३२ ले राम्रो संकेत गरेको छ।

आरसी–३२ को जितमा स्ट्राइकर बबिन बोहोराको गोल नै निर्णायक बन्यो। उनले खेलको २२औं मिनेटमा आरसी ३२ लाई अग्रता दिलाएका थिए। पेनाल्टी बक्सको बायाँ भागबाट किस्मत लिम्बूले दिएको बललाई बबिनले वान टच गर्दै गोलमा परिणत गरेका हुन्। खालीबारीका गोलकिपर मनोज तामाङले बबिनको प्रहार रोक्ने प्रयास गरे। तर, सफल हुन सकेनन्। त्यसको दुई मिनेटपछि नै खालीबारीको खेलमा फर्कने प्रयास सफल भएन। खालीबारीका अभय रानाले पेनाल्टी बक्सबाट गरेको प्रहार आरसी ३२ का गोलकिपर मौसम लुङ्गेली मगरले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको अग्रता जोगाए।

दोस्रो हाफमा दुवै तर्पmबाट प्रयास भए पनि गोल सम्भवन भएन र राष्ट्रिय टोलीका मिडफिल्डर रोहन कार्कीको नेतृत्वमा रहेको आरसी ३२ ले संघर्षपूर्ण जित निकाल्यो। आरसी ३२ का आशिष लावती प्लेयर अफ दी म्याच घोषित भए। गत सिजन आरसी ३२ लिगमा तेस्रो हुँदा बढुवा हुनबाट चुकेको थियो। लिगका शीर्ष दुई टोली झापा एफसी र प्लानिङ ब्वाइज ‘बी’ डिभिजन लिगमा बढुवा भएका थिए। आरसी ३२ यस पटक पनि गत सिजनको अधुरो लक्ष्य पूरा गर्ने योजनामा छ। त्यसैले राष्ट्रिय टोलीमा रहिसकेका रोहनका साथै गत सिजनका स्टारलाई यस पटक पनि अनुबन्धित गरेको हो।

सिंगल राउन्ड रोबिनका आधारमा हुने ‘सी’ डिभिजन लिगमा कुल १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। लिगका अधिकांश खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन्। च्यासल र दशरथ रंगशालालाई भने वैकल्पिक मैदानका रूपमा तय गरिएको छ। लिगमा कुल ९१ खेल हुनेछन्। लिगको विजेताले १० लाख, उपविजेताले सात लाख र तेस्रो हुने क्लबले पाँच लाख रूपैयाँ नगद पुरस्कार पाउनेछन्। लिगका उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले ३५ हजार रूपैयाँ पाउने भएका छन्। उत्कृष्ट खेलाडीलाई भने ५० हजार रूपैयाँ प्रदान गरिनेछ। 

प्रकाशित: २३ चैत्र २०८० ०८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App