२३ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

आत्मसम्मान

कविता

जीवनको हर पलहरूमा,

आइरहन्छन् आरोह-अवरोहहरू।

समुन्द्रको छालहरूमा उर्लिएझैं

तरङ्गित हुन्छ मन।

सहानुभूतिका मल्हमले

चोटै चोटभित्र

अलिकति आरामको आभास दिलाएझैं

कताकता बेलगाम मन टक्क अडिन्छ।

मस्तिष्कमा दौडिने

विचारहरूको म्याराथुनमा

कहिले अघि, कहिले पछि पर्दै

जिन्दगी अघि बढिरहन्छ।

सपनाको सेतो धरहरा ठिंङ्ग उभिंदा

मानसपटलमा उघ्रिन्छन् 

सम्भावनाका ढोकाहरू।

विश्वासको खडेरीमा

जरैदेखि उखेलिएको अस्तित्वलाई

स्वीकार्न विवश स्वप्नवृक्षहरू।

चाहनाको लमतन्न भूगोल  

मृगमरिचिकामा भौंतारिएकाे

असरल्ल छ तन।

सफलता मात्रै त कहाँ मिल्छ र?

यात्रारत जिन्दगीमा

असफलताका चाङहरू

अवरोधका पहाडहरू

पनि त भेट्छन् यी दुई पाउ।

रातपछिको उत्साहमयी बिहानीमा पनि

कालो बादलले ढाकिएको अम्बर बनेर

किन दिनलाई

फेरि निरासामा बदल्ने कोसिस हुन्छ

कहिलेसम्म हुन्छ

बेरोजगारी, बेकामी अनुहारको लाम

हाट बजारमा विक्ने वस्तुजस्तै असरल्ल।

पद,पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्ने

कुबेरहरूलाई घमण्ड नगर्न चेतावनी दिंदै

खुला प्रश्न गर्छु,

आत्मसम्मान ठिक कि आत्मविश्वास?

मौनता साँध्नेहरूले

दृढतामा बाँच्नेहरूले

बहुमुल्य गहना बोकेर हिंडेको देखेपछि

लज्जाबाेध गर्छन् धनुष्टङ्कारहरू।

जीवनमा गुनासो होइन

सपनाहरू देख्नुपर्छ

अनि उठ्न सकिन्छ प्रत्येक ठेसहरूमा

सुन्दर जीवनका लागि चाहिने  

यही एउटा आत्मविश्वास रहेछ।

प्रकाशित: ३० वैशाख २०८१ १४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App