४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

राखेप वार्षिकोत्सवमा १८ जना सम्मानित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६०औं वार्षिकोत्सवमा बुधबार पाँच खेलाडीसहित १८ जना सम्मानित भएका छन्।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सम्पन्न कार्यक्रममा कुल ६ विधामा १८ जना राखेपद्वारा सम्मानित भएका हुन्। राखेपले एथलेटिक्सका दीपक अधिकारी र बक्सर सुष्मा तामाङसहित पाँच खेलाडी (१ पारा), समान १/१ प्रायोजक, स्थानीय तह र राष्ट्रिय खेल संघ, दुई खेल पत्रकार तथा आठ कर्मचारी (२ करारसहित) लाई सम्मान गर्‍यो। सिनियर पुरुषमा एथलेटिक्सका दीपक र महिलामा बक्सिङकी सुष्माले सर्वोत्कृष्ट खेलाडी भए। दुवैले अवार्ड र ट्रफीसहित समान एक लाख नगद पुरस्कार पाए।

जुनियरतर्फ पुरुषमा क्रिकेटर अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामाले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारे। दुवैले जनही ५० हजार रूपैयाँ र ट्रफी पाए। पारा एथलिट खेलाडीको अवार्ड पौडीका भीमबहादुर कुमालले जिते।

खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत नवलपरासीको मध्यबिन्दु नगरपालिकालाई उत्कृष्ट स्थानीय तह तथा नेपाल भलिबल संघलाई उत्कृष्ट राष्ट्रिय खेल संघ घोषित भयो। मध्यबिन्दुका मेयर भीमलाल अधिकारी तथा भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अवार्ड ग्रहण गरे।

त्यस्तै राखेप कर्मचारी (प्रशिक्षण) तर्फ नायब वरिष्ठ कुस्ती प्रशिक्षक मुम्ताज अली इद्रिसी सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, क्रिकेट प्रशिक्षक मन्जुर आलम खान उत्कृष्ट परिषद् सेवा पुरस्कार र भलिबल प्रशिक्षक उमादेवी गुरुङ परिषद् सेवा पुरस्कारबाट पुरस्कृत भए।

सर्वोत्कृष्ट, उत्कृष्ट र परिषद् सेवा पुरस्कारबाट पुरस्कृत हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी पाए। कर्मचारीतर्फ नै इन्जिनियर सविन महर्जन तथा सहायक बक्सिङ प्रशिक्षक राज श्रेष्ठले करार सेवा पुरस्कार प्राप्त गरे। दुवैलाई जनही १० हजार नगदसहित ट्रफी प्राप्त गरे।

खेल पत्रकार सम्मानबाट नेपाल टेलिभिजनका दुर्गानाथ सुवेदी (देवेन्द्र) र कान्तिपुर टेलिभिजनकी सबिना कार्की सम्मानित भए। दुवैले ट्रफीसहित जनही २० हजार नगद पुरस्कार पाए। राखेपको प्रशासनिकतर्फ नायब वरिष्ठ प्रशासकीय अधिकृत भोजानन्द राईले सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, नायब वरिष्ठ प्रशासकीय अधिकृत सुनीलकुमार दाहालले उत्कृष्ट परिषद् सेवा पुरस्कार र नायब वरिष्ठ प्रशासकीय अधिकृत शारदा दाहालले परिषद् सेवा पुरस्कार प्राप्त गरे।

उनीहरूलाई प्रधानमन्त्री दाहाल, खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राखेप उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव टंकलाल घिसिङले ट्रफी तथा पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा यस वर्ष नेपालले प्राप्त गरेको ऐतिहासिक सफलताको वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो।

प्रकाशित: २२ चैत्र २०८० ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App