१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

गण्डकी प्रदेशस्तरीय भलिबल उपाधि बौदीकालीलाई

‘दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल’ प्रतियोगिताको उपाधि नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले जितेको छ।

यही पुस २६ देखि माछापुच्छ्रे ३ घाचोकस्थित मेघराज आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई ३–१ सेटमा हराउँदै बौदीकाली च्याम्पियन बनेको हो। उपाधि जितेको बौदीकालीले तीन लाख रुपैयाँ, ट्रफी र मेडल पुरस्कार पायो भने उपविजेता गलकोटले दुई लाख रुपैयाँ तथा ट्रफीमा चित्त बुझायो।

अत्यन्त प्रतिस्पर्धात्मक खेलको पहिलो सेट २१–२५ ले गलकोटलाई सुम्पिएको बौदीकालीले त्यसपछिका तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो। दोस्रो सेट बौदीकालीले २७–२५, तेस्रो २६–२४ र चौथो सेट २५–१६ ले जित्यो। शनिबार नै सम्पन्न भएका सेमिफाइलनका खेलमा बौदीकालीले स्याङ्जाको चापाकोट नगरपालिकालाई पराजित गरी फाइनलमा स्थान बनाएको थियो।

यसैगरी गलकोटले कास्कीको अन्नपूर्ण गाउँपालिकालाई हराउँदै फाइनल पुगेको हो। सेमिफाइलन पुगेका अन्नपूर्ण र चापाकोटले ५० हजार रुपैयाँका दरले पुरस्कार पाए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित बौदीकालीका अशोक श्रेष्ठले सात हजार पुरस्कार पनि पाएका छन्।

यसैगरी उत्कृष्ट स्पाइकर बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकर विश्वास अधिकारी, उत्कृष्ट सर्भर आषिश श्रेष्ठ, उत्कृष्ट डिफेन्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित हुँदै जनही पाँच हजार रुपैयाँ पुरस्कार पाएका छन्।

प्रतियोगिताका विजेता, उपविजेता तथा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसदद्वय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभाका सदस्य गणेशमान गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए। युवालाई खेलप्रति आकर्षित गर्ने र खेलकुदका माध्यमबाट गाउँपालिकालाई चिनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको पालिका अध्यक्ष मीनबहादुर गुरुङले बताए। खेल कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको थियो। –रासस

प्रकाशित: २९ पुस २०८० ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App