३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

अशोक अर्थात् अथक, अब्बल

लगाव भयो भने जीवनमा हरेक सफलता चुम्न सकिन्छ। त्यो लगावबाट प्राप्त सफलताले आत्मसन्तुष्टि पनि दिन्छ। तेक्वान्दोका अशोक खड्कासँग सोही किसिमको विशेषता देखिन्छ। काठमाडौं कागेश्वरी मनोहरादेखि खेल सुरु गर्दा होस् या देशको खेलाडीका रूपमा प्रतिनिधित्व गर्दा, उनमा सधैं उस्तै उत्साह हुने गर्छ। तीन दशकको तेक्वान्दो यात्रालाई अशोक आफ्नो यादगार जीवनका रूपमा लिने गर्छन्। भन्छन्, आज मलाई जेजति चिनायो त्यसको श्रेय तेक्वान्दोलाई नै जान्छ। त्यसैले यो तीन दशक मेरा लागि मूल्यवान् छ।

त्यही सोचले उनलाई नेपाली तेक्वान्दोको राष्ट्रिय खेलाडी, कुशल प्रशिक्षकसँगै नेपालकै सफल अन्तर्राष्ट्रिय निर्णायकमा उभ्यायो। यसमा सानैदेखि तेक्वान्दोप्रति उनको लगाव र प्रेम पनि माध्यम बन्यो। काठमाडौंको मनोहरादेखि थालेको उनको यात्रा करिब तीन दशकदेखि अनवरत रूपमा तेक्वान्दोमै समर्पित छ।

कहिले खेलाडीका रूपमा त कहिले प्रशिक्षकका रूपमा अब्बल दरिए, अशोक। उतारचढावका बीच पनि अशोकले कहिल्यै हार मानेनन् र तेक्वान्दोमा यात्रा जारी राखे। जसले गर्दा २०६२ सालतिर उनलाई राष्ट्रिय टोलीको ढोका खोलिदियो। राष्ट्रिय टोलीबाट उनले करिब ६/७ वर्ष खेले।

नेपाल तेक्वान्दो संघले आयोजना गरेको सातौं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत तथा तेस्रो कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिप र धनगढीमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन्, अशोक। त्यसबीच उनले आफूलाई राम्रो प्रशिक्षकका रूपमा पनि अगाडि बढाउँदै लगे। पछि उनले सन् २००० मा मूलपानी तेक्वान्दो डोजाङ स्थापना गरे। त्यहाँ अशोक कयौं बालबालिकाका लागि मार्गदर्शक बने। साथै सिकाए र आफैँ पनि सिके। आफूले तेक्वान्दो सिक्दै गर्दा उनले एउटा खेलाडीको मर्म राम्रोसँग बुझिसकेका थिए। जसबाट उनले तेक्वान्दो एकेडेमीको योजना बुने।

पछि सन् २०१४ मा नेप्लिज तेक्वान्दो एकेडेमी खडा पनि गरे। त्यहाँ उनले पैसा तिरेर खेल्न नसक्ने दर्जनौं खेलाडीलाई निशुल्क सिकाउँदै आएका छन्। उनीहरूलाई तेक्वान्दोबाटै आयआर्जनको माध्यम पनि देखाइदिए। अशोकले खेलाडी जीवनमा पहिलो अन्तर्राष्ट्रिय पदक सन् २००४ मा जितेका थिए। त्यति बेला उनले भारतमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जिते। ‘करियरकै पहिलो अन्तर्राष्ट्रिय पदक भएकाले त्यो पदक मेरा लागि विशेष छ, अहिले पनि सुरक्षित राखेको छु,’ अशोकले भने।

त्यो पदकले उनमा छुट्टै उत्साह भर्ने काम गर्‍यो। त्यसैले पनि तेक्वान्दो नछाडेको उनको भनाइ छ। २०१४ पछि भने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अशोकले धेरै सफलता पाएका छन्। सोही वर्ष उनले दुई प्रतिस्पर्धा गरे र एक स्वर्णका साथै रजत पनि जिते। इङ्ल्यान्डमा सम्पन्न दशौं आइओएफटिसी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजत जितेका अशोकले दक्षिण कोरियाको आठौं विश्व तेक्वान्दो एक्स्पोमा भने स्वर्ण चुमे। दुई वर्षपछि नै कोरियाको दशौं संस्करणको विश्व तेक्वान्दो एक्स्पोमा भने उनी रजत पदकमा सीमित रहे।

त्यो वर्ष थाइल्यान्डको हिरोज तेक्वान्दो च्याम्पियनसिपमा पनि उनले सोही नतिजा सामना गरे। अस्ट्रेलियामा सन् २०१७ र ०१८ को गोल्डकोस्ट ओपन तेक्वान्दोको दुई संस्करणमा उनी स्वर्ण विजेता हुन्। त्यसयता उनले १५ वटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक जितेका छन्। यसै वर्ष पनि उनले पुम्से विधामा जापानमा रजत र कोरिया कांस्य पदक प्राप्त गरे। राष्ट्रिय टोलीबाट खेल्दा अशोक फाइट (ग्यरोगी) का खेलाडी हुन्। तर, पछिल्ला वर्षयता पुम्सेको अन्तर्राष्ट्रिय प्रतियोगिता बढेसँगै उनले यो विधामा आफूलाई उत्कृष्ट बनाए।

उनी तीनै विधाका एक मात्र अन्तर्राष्ट्रिय निर्णायक हुन्। पारा तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेका अशोकले विभिन्न देशमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा (ग्यरोगी र पुम्से) मा निर्णायक भूमिका निर्वाह गर्दै आएका छन्। विश्व तेक्वान्दोको वरीयता (जी वान) का प्रतिस्पर्धा जर्मन ओपन, बुल्गेरिया ओपन, कोरिया ओपन, मेक्सिको ओपन र इस्ट इसियन युथ गेम्स गरी ५० वटाभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्। नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा पनि उनले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

टोकियो पारालम्पिक र रियो ओलम्पिकको क्याम्पमा समेत छनोट भएपछि अशोक २०७८ सालमा युवा तथा खेलकुद मन्त्रालयद्वारा खेलकुद विधाको उत्कृष्ट जजका रूपमा राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट एक लाख रूपैयाँ नगद पुरस्कारसहित सम्मानित भएका थिए। आफूले सिकेका ज्ञान जुनियरलाई पनि हस्तान्तरण गर्नुपर्छ भन्ने उनी मान्यता राख्छन्। केही रेफ्रीहरूलाई अशोक प्रतियोगिताका दौरान जानेका कुराहरू सिकाउँछन्। ‘हरेक काममा ज्ञानको पुस्तान्तरण हुनुपर्छ। तब मात्र त्यस क्षेत्रको राम्रोसँग विकास हुन्छ। एक–दुई जनाले जानेर मात्र तेक्वान्दो खेलको विकास सम्भव हुँदैन,’ अशोक भन्छन्।

यद्यपि, तेक्वान्दोका छैटौं डानका अशोकले मूलपानी तेक्वान्दो डोजाङबाट कयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आइरहेका छन्। उनी आफैँ नै खेल्दै गर्दा डोजाङको स्थापना गरेका हुन्। ‘खेल्दाका समय नै सिकाउन मन पथ्र्यो, त्यसैले डोजाङ खोलेँ,’ अशोक भन्छन्। डोजाङ सञ्चालन गर्दैगर्दा उनले एकेडेमीको आवश्यकता देखे। त्यसपछि अशोकले नेप्लिज तेक्वान्दो एकेडेमीको स्थापना गरेका हुन्। सोही वर्ष उनले थर्ड क्लास अन्तर्राष्ट्रिङ पुम्से प्रशिक्षक कोर्स पनि पूरा गरे। त्यसको दुई वर्षपछि उनी दक्षिण कोरियाबाट सर्टिफाइड मास्टर्स इन्स्ट्रक्टर बन्न सफल भए।

त्यसले एकेडेमीलाई थप उचाइमा पुर्‍याउन उनलाई सहजता मिल्यो। उनको अध्यक्षतामा खोलेको त्यो एकेडेमीमा अहिले सयौं तेक्वान्दो खेलाडीहरू हुर्किरहेका छन्। त्यहाँ पैसा तिरेर खेल्न नसक्ने कयौं खेलाडीलाई उनी निशुल्क तेक्वान्दो प्रशिक्षण गराउँछन्। ‘खेल्ने इच्छाशक्ति भए पनि आर्थिक अभावमा राम्रा खेलाडी नछुटून् भनेर राम्रा खेलाडीलाई स्कलरसिप दिएको छु। एउटा खेलाडी भएर खेलाडी समस्या राम्रोसँग बुझेको छु। त्यसैले केही खेलाडी निशुल्क प्रशिक्षण गर्छन्,’ अशोकले भने।

सो एकेडेमीका खेलाडीले राष्ट्रिय प्रतियोगितासँगै चीन, भारत, जापान, हङकङ, मेक्सिको, अस्ट्रेलिया, दक्षिण कोरिया, ब्राजिल र अमेरिकालगायत देशमा प्रतिस्पर्धा गर्दै पदक पनि जितेका छन्। सन् २०१० मा ग्वाङ्झाउ एसियन गेम्सका खेलाडी यादव पौडेल उनकै उत्पादन हुन्। तेक्वान्दोमा राम्रो काम गरेकाले नै उनी काठमाडौं जिल्ला तेक्वान्दो संघमा उपाध्यक्षमा बहुमतसहित निर्वाचित भए। पछि उनी सोही संघ अध्यक्ष पदमा पुगे। यसै वर्ष उनले पुम डान जज परीक्षा पनि पास गरेका छन्। खेलकुदसँगै अशोक समाजसेवा पनि उत्तिकै सक्रिय छन्। यौनहिंसा पीडित बालिका, चेपाङ बस्तीका बालबालिका र अनाथ बालबालिकालाई अशोकले निःशुल्क तेक्वान्दो प्रशिक्षण गराएका छन्।

एसएलसी दिन जाँदा सामूहिक बलात्कारमा परेकी पूजा बोहोरालाई पनि अशोकले तेक्वान्दो सिकाएका थिए। पूजाले पछि कोरियामा सम्पन्न तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदकसमेत जितेकी थिइन्। उनको सो कामको कदर गर्दै नेपालका लागि दक्षिण कोरियाली दूतावासले उनलाई सम्मानसमेत गरेको थियो। देशमा गएको विनाशकारी भूकम्पमा उनी विभिन्न स्थानमा स्वयम्सेवकको भूमिकामा खटिए। पछिल्लोपटक महामारीका क्रमका खेलाडीहरूलाई खाद्यान्न बाँड्नुका साथै मानिसहरू बाहिर निस्कन छाडेपछि छाडा छोडिएका जनावर र पशुपन्छी भोकै नमरून् भनेर उनले खाद्यान्न दिने अभियान चलाए।

उनको त्यो कार्य खेलक्षेत्रमा निकै प्रशंसनीय बन्यो। ‘त्यति बेला हामी बाहिर निस्कने अवस्था थिएन। त्यसैले जनावर, पशुपन्छीका लागि बाँच्ने आधार नै भएन। मजस्तै केही व्यक्तिहरू पनि जनावरलाई खानेकुरा लिएर जानुहुन्थ्यो। त्यसले मन छुट्टै आनन्द मिल्थ्यो। त्यसैले महामारीका समयमा पनि बाहिर निस्कने साहस मिल्थ्यो,’ तेक्वान्दोका अशोकले भने। खेलकुदकर्मीले खेलबाट मात्र नभई समाजका अन्य क्षेत्रबाट सहयोग पुर्‍याउनुपर्छ भन्ने उद्देश्यले समाजसेवामा होमिएको उनको धारणा छ। सँगै आफ्नो एकेडेमी र डोजाङलाई थप विकसित गर्दै प्रतिभावान् खेलाडी उत्पादन गर्ने पनि उनको महत्त्वाकाङ्क्षी लक्ष्य छ।

प्रकाशित: २४ पुस २०८० १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App