४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

एन्फाको तयारी अन्तिम चरणमा

साफ यु-१९ च्याम्पियनसिप

पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाह (बायाँ) र प्रतियोगिता निर्देशक सञ्जीव मिश्र। तस्बिर: एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) घरेलु मैदानमा बिहीबारदेखि सुरु हुने साफ यु–१९ च्याम्पियनसिपको अन्तिम तयारीमा जुटेको छ।

आगामी बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालामा साफ यु–१९ च्याम्पियनसिप हुँदै छ। सोही उमेरसमूहको च्याम्पियनसिपका लागि एन्फाले मंगलबार त्रिपुरेश्वरस्थित रंगशालामा रहेको एन्फा मिडिया कन्फरेन्स हलमा पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम चरणमा पुगेको जनाएको हो। च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने टोलीहरू आउने क्रम सुरु भएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। यस च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्।

च्याम्पियनसिपका लागि भुटान, भारत, माल्दिभ्स र बंगलादेश मंगलबारै आइसकेका छन्। पाकिस्तान भने बुधबार आइपुग्नेछ। सहभागी टोलीका लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित च्यासल खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको एन्फाले जनाएको छ। नेपालले भने पछिल्लो ढेड महिनादेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तयारी गरिरहेको छ। सुनील श्रेष्ठको प्रशिक्षणमा नेपाली टोलीले तयारी गर्दै आएको छ।

नेपाल यस च्याम्पियनसिपमा समूह ‘ए’ मा छ। यो समूहमा पाकिस्तान र माल्दिभ्स छन्। अर्को समूह ‘बी’ मा विजेता भारत, साबिक उपविजेता बंगलादेश र भुटान छन्। दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

नेपालको पहिलो लक्ष्य समूहमा शीर्ष स्थान ओगट्दै सेमिफाइनलमा बलियो दाबेदारी प्रस्तुत गर्ने हुनेछ। नेपाली टोलीले यस पटक घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जित्ने लक्ष्य लिएको छ। प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले प्रतियोगिताको सफल आयोजना गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताए।

यु–१९ च्याम्पियनसिपको पाँचांै संस्करणसम्म आइपुग्दा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन्। नेपालबाटै सुरु भएको यो उमेरसमूहको च्याम्पियनसिप नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो। च्याम्पियनसिपका लागि करिब दुई करोड ७७ लाख ३२ हजार ८ सय खर्च हुने र सो रकम साफले प्रदान गर्ने एन्फा प्रवक्ता शाहले जानकारी दिए। साथै एन्फाभित्रको आन्तरिक द्वन्द्वले च्याम्पियनसिपको आयोजनामा कुनै असर नपर्ने पनि शाहको विश्वास छ।

यस च्याम्पियनसिपका लागि टिकट दर भिआइपीतर्फ तीन सय र साधारण प्यारापिटमा एक सय तोकिएको एन्फाले जनाएको छ। च्याम्पियनसिपको मार्केटिङ अधिकार र टिकेटिङ अधिकार नेपाल स्पोर्ट्स सेन्टरले प्राप्त गरेको पनि एन्फाले उल्लेख गरेको छ। त्यसबापत एन्फाले सो कम्पनीबाट १५ लाख रूपैयाँ पाउनेछ।  

प्रकाशित: ३ आश्विन २०८० ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App