४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

वेस्ट इन्डिज विश्वकपमा छनोट हुन असफल

वेस्ट इन्डिजका खेलाडीको विकेट लिएपछि स्कटल्यान्डका टोली खुसी साट्दै। तस्बिर: एपी

स्कटल्यान्डसँग सात विकेटले स्तब्ध भएसँगै दुई पटकको विश्वविजेता वेस्ट इन्डिज पहिलोपटक एकदिवसीय विश्वकप क्रिकेटमा स्थान बनाउन असफल भएको छ।

शनिबार भएको सुपर सिक्सको खेलमा एक सय ८२ रनको मध्यम लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा मात्र तीन विकेटको क्षतिमा पूरा गरेपछि पहिलोपटक क्यारेबियन टोलीले विश्वकप खेल्न नपाउने भएको हो। छनोटको पहिलो चरणमा समूह ‘ए’ मा रहेको वेस्ट इन्डिजले क्रमशः जिम्बाब्वे र नेदरल्यान्ड्ससँग हार बेहोरेपश्चात् सुपर सिक्सको शीर्ष दुईमा बस्दै आगामी अक्टोबरमा भारतमा हुने विश्वकपमा स्थान बनाउने सम्भावना कमजोर बनेको थियो। साई होपको टोली वेस्ट इन्डिज सुपर सिक्समा प्रवेश गर्दा नै अंकविहीन थियो।  

शीर्ष दुईको सम्भावना कायम राख्न वेस्ट इन्डिजलाई स्कटल्यान्डमाथि जित्नैपर्ने दबाब थियो। तर, आक्रामक ब्याटरले भरिएका वेस्ट इन्डिजको टोलीले शनिबारको नतिजा आफ्नो पक्षमा पार्न सकेन। भारतले अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म एकदिवसीय विश्वकप आयोजना गर्दै छ, जहाँ दुई पटकको विश्वविजेता वेस्ट इन्डिज भने हुने छैन। यता, स्कटल्यान्डले भने यस जितपछि शीर्ष दुईमा बस्दै विश्वकपमा स्थान बनाउने सम्भावना कायम राखेको छ। सन् २०१९ को विश्वकप छनोटमा स्कटल्यान्ड वेस्ट इन्डिजसँग निराश भएको थियो।

यस पटक भने स्कटल्यान्ड वेस्ट इन्डिजलाई स्तब्ध बनाउन सफल भयो। वेस्ट इन्डिजले स्कटल्यान्डलाई नतिजा सुम्पिएको यो पहिलोपटक हो। तीन खेलबाट चार अंकसहित स्कटल्यान्ड सुपर सिक्समा अंकतालिकाको तेस्रो स्थानमा छ। शीर्ष स्थानको श्रीलंका र दोस्रो स्थानको घरेलु टोली जिम्बाब्वेको समान तीन खेलबाट समान ६ अंक छ। चौथो स्थानको नेदरल्यान्ड्सको दुई अंक छ भने पाँचौं स्थानको वेस्ट इन्डिज र छैटौं स्थानको ओमान अंकविहीन छन्।

नेदरल्यान्ड्स र ओमान पनि यसअघि नै शीर्ष दुईको होडबाट बाहिरिसकेका छन्। ओमानले जिम्बाब्वे र नेदरल्यान्ड्सले श्रीलंकालाई नतिजा सुम्पिएका थिए। स्कटल्यान्डले मंगलबार जिम्बाब्वे र बिहीबार नेदरल्यान्ड्सको सामना गर्दै छ। जिम्बाब्वेविरुद्धको नतिजाले स्कटल्यान्डको शीर्ष दुईको सम्भावना स्पष्ट पार्नेछ। स्कटल्यान्डको सहज जितमा म्याथ्यु क्रस १०७ बल खेल्दै सात चौकासहित ७४ रनमा अविजित रहे। ब्रान्डन म्याकमुलेनले १ सय ६ बलमा आठ चौका र एक छक्कासहित ६९ रन बनाए।

स्कटल्यान्डले खाता नखोल्दै ओपनर क्रिस्टोफर म्याकब्राइडलाई गुमाउन पुग्यो। यद्यपि, क्रस र म्याकमुलेनले दोस्रो विकेटका लागि एक सय २५ रनको साझेदारी गर्दै स्कटल्यान्डको जित आधार तय गरे। वेस्ट इन्डिजका अकिल हुसेन, रोमारियो सेफर्ड र जेसन होल्डरले समान एक विकेट लिए पनि स्कटिस टोलीको जित रोक्न सकेनन्। त्यस अघि टस हारेर ब्याटिङका लागि आएको वेस्ट इन्डिज ४३.५ ओभरमा मात्र एक सय ८१ रनमा सीमित हुन पुग्यो। वेस्ट इन्डिजका लागि होल्डरले ७९ बलमा तीन चौका र एक छक्काको मद्दतमा ४५ रन जोड्दा सेफर्डले ४३ बलमा पाँच चौकासहित ३६ रनको योगदान दिए।

२०.४ ओभरमा वेस्ट इन्डिज ८१–६ को नाजुक अवस्थामा थियो। यद्यपि, होल्डर र सेफर्डले सातौं विकेटका लागि ७७ रनको साझेदारी गर्दै इनिङ उकासे पनि वेस्ट इन्डिजको जितका लागि पर्याप्त भएन। स्कटल्यान्डका म्याकमुलेनले तीन, क्रिस सोल, क्रिस ग्रिभेस र मार्क वाट्ले समान दुई तथा सेफायन सारिफले समान एक विकेट लिँदै क्यारेबियन इनिङ धरासयी बनाएका थिए। यस अघिका विश्वकपको सबै संस्करण निरन्तर छनोट भएको वेस्ट इन्डिज सन् १९७५ र १९७९ को सुरुआती दुई संस्करणका विजेता हो। 

प्रकाशित: १७ असार २०८० ०१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App