१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

राइजिङ र झापा सेमिफाइनलमा

अत्तरिया (कैलाली)- अत्तरियामा जारी रुस्लान अत्तरिया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा राइजिङ क्रिकेट वुमन काठमाडौं र झापा क्रिकेट एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्। शनिबार बिहान भएको खेलमा बारा क्रिकेट एकेडेमीलाई हराएर समूह 'बी' को विजेता बन्दै राइजिङ सेमिफाइनल पुगेको छ।

यसअघि राइजिङले कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई १७ रनले हराएको थियो। यस्तै समूह 'ए' को उपविजेता बन्दै झापा क्रिकेट एकेडेमी पनि अन्तिम चारमा पुगेको छ। झापाले कञ्चनपुर क्रिकेट एकेडेमीलाई २८ रनले हराएको हो। अब समूह 'ए' को उपविजेता झापा र समूह 'बी' को विजेता राइजिङ क्रिकेट वुमन काठमाडांैले सोमबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

अत्तरियास्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै राइजिङ क्रिकेट वुमन काठमाडांैले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै प्रतियोगिताकै सर्वाधिक बढी २ सय ३ रन बनायो। टोलीलाई उच्च स्कोरतर्फ डोर्‍याउन बंगलादेशी खेलाडी सहनाज प्रवीणले ९८ रनको उच्च स्कोर बनाइन्। शतक बनाउनबाट दुई रनले चुकेकी प्रवीणले ६१ बलको सामना गर्दै १६ चौका प्रहार गरिन्। त्यस्तै अर्की भारतीय खेलाडी साम्पा मुखर्जीले ४८ रन बनाइन्। प्रतियोगितामा अहिलेसम्म एक मात्रै छक्का प्रहार गरेकी मुखर्जीले ७ चौका पनि हानिन्। उनले २९ बलको सामना गरेकी थिइन्। नेरी थापाले पनि १२ बलमा ५ चौकाको मद्दतले २८ रन बनाइन्। राइजिङलाई सर्वाधिक स्कोर बनाउन प्रवीण र नेरीले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे। तेस्रो विकेटका लागि प्रवीण र मुखर्जीले १ सय ३ रनको साझेदारी गरेका थिए।

 बाराकी रविना विसन्के र सामना पुनले १/१ विकेट लिए।  २ सय ४ रनको विजयलक्ष्य लिएर मैदान उत्रिएको बारा निर्धारित २० ओभरमा ९ विकेट गुमाई ७३ रनमा समेटियो। बाराका लागि गीता गोसाईंले सर्वाधिक ३७ रन बनाइन्। उनीबाहेक कुनै पनि खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन्। चार खेलाडी शून्यमा आउट भए। राइजिङका लागि शान्ति खतिवडाले ३ विकेट लिइन्। अस्मिना कर्माचार्य, नेरी थापा, आरती बिडारी र कृति सेनले १/१ विकेट लिए। खेलको वुमन अफ द म्याच हुँदै सहनाज प्रवीणले ३ हजार नगद हात पारिन्।

शनिबारै भएको दोस्रो खेलमा मिलन एकेडेमी झापाले कञ्चनपुरलाई किनारा लगाएर आफ्नो स्थान सुरक्षित गरेको हो। टस जितेर पहिले ब्याटिङ गर्दै मिलन एकेडेमी झापाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४६ रन बनायो। टोलीका लागि मान्सी चौधरीले सर्वाधिक ४७ रन बनाइन्। ३३ बलको सामना गरेकी उनले ७ चौका प्रहार गरिन्। त्यस्तै रितु जैन २८ र मुस्कान वेगमले १८ रनको योगदान गरे। पाचांै विकेटका लागि रितु र रोमा थापाले ५८ तथा रितु र मुस्कानले छैटांै विकेटका लागि ४८ रनको साझेदारी गरे। कञ्चनपुरकी डली भटट्ले ३ विकेट लिइन्। मन्जु विष्टले दुई र जानकी भटट्ले १ विकेट लिए।

१ सय ४७ रनको विजयलक्ष्य लिएर मैदानमा उत्रिएको कञ्चनपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १९ रन मात्रै बनाउन सक्यो। सुरुआत राम्रो भए पनि मध्यक्रम नचल्दा लगातार दोस्रो हारपछि कञ्चनपुर बाहिरिएको हो। कञ्चनपुरका लागि कविता जोशीले ५२ रनको अर्धशतकीय पारी खेले पनि आफ्नो टिमलाई जिताउन सकिनन्। त्यस्तै रेखा रावल र बिन्दु रावलले ११/११ रन बनाए। झापाका लागि सवनम राई, संगीता राई, रितु जैन र कविता गौतमले १/१ विकेट लिए। वुमन अफ द म्याच हुँदै झापाकी रितु जैनले नगद ३ हजार हात पारिन्।

प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा समूह 'बी' मा रहेका कैलाली जिल्ला क्रिकेट एकेडेमी र बारा क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २४ वैशाख २०७४ ०५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App