२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

वर्षाले नेपालको प्रतीक्षा लम्ब्यायो, आज हिजोकै स्थितिबाट खेल सुरू हुने

युएईको विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर सौजन्यः क्यान

वर्षा बाधक बनेसँगै एसिसी मेन्स प्रिमियर कपको विजेताका रूपमा एसिया कपमा स्थान बनाउन नेपालले थप एक दिन पर्खनुपर्ने भएको छ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको युएई २७.३ ओभरमा १०६–९ को कठिन स्थितिमा रहेका बेला सुरु भएको वर्षा नरोकिएसँगै सोमबार खेल स्थगित भएको हो। मंगलबार (आज) युएईले १०६–९ को स्थितिबाटै ब्याटिङ सुरु गर्नेछ। सहज योगफल पछ्याउने भएकाले नेपाल विजेता बन्ने सम्भावना उच्च रहेको छ।  

यद्यपि साेमबारको जस्तै खेल नतिजाविहीन बनेमा भने आइसिसीको वरीयतामा युएईभन्दा अघि रहेकाले नेपालले विजेताका रूपमा एसिया कपमा स्थान बनाउनेछ।  

एसिसी मेन्स प्रिमियर कपको विजेताले एसिया कपमा पाकिस्तान र भारत सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ। अर्को समूहमा भने बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।  

चौथो ओभरको पहिलो बलमा तीव्र गतिका बलर सोमपाल कामीले नेपाललाई सफलता दिलाएका थिए। सोमपालले युएईका कप्तान मोहम्मद वासिमलाई ललित राजवंशीबाट क्याच गराएका थिए। युएई २८ रनमा खेलिरहँदा करण केसीले भृत्य अरविन्दलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराएका थिए। नवौं ओभरको पहिलो बलमा करणले नेपाललाई तेस्रो सफलता दिलाए। करणले आर्यन लार्कालाई आरिफ शेखबाट क्याच गराएका थिए।  

१०ओैं ओभरको पहिलो बलमा ललितले रमिज सहाजदलाई गुल्सन झाबाट क्याच गराएसँगै युएई ३५–४ को कठिन स्थितिमा पुगेको थियो। १४औं ओभरको पहिलो बलमा सन्दीप लामिछानेले रोहन मुस्तफालाई कुशल भुर्तेलबाट क्याच गराएका थिए।

१६औं ओभरको खेल समाप्तिमा युएई ६०–५ को स्थितिमा रहँदा पहिलो पटक खेल वर्षाका कारण रोकिएको थियो। करिब १५ मिनेटपछि पुनः खेल सुचारु भएको थियो।

२३औं ओभरको पाँचांै बलमा गुल्सन झाले वासिल हामिदलाई बोल्ड गरेका थिए। २६औं ओभरको तेस्रो बलमा आयन खानलाई कुशल मल्लबाट क्याच गराएका थिए।  

२८औं ओभरको सुरुआत नेपालका लागि निकै फलदायी रह्यो। अन्य ब्याटर सस्तोमा पवेलियन फर्किंदा युएईको इनिङ सम्हाल्ने प्रयासमा रहेका आसिफ खानलाई ललितले २८औं ओभरको दोस्रो बलमा आरिफबाट क्याच गराएका थिए। खानले ५४ बलमा ७ चौका र १ छक्का प्रहार गरे। सोही ओभरको तेस्रो ओभरमा अलितले जहुर खानलाई आरिफबाटै क्याच गराएका थिए। त्यसपछि सुरु भएको वर्षा नरोकिएपछि खेल सम्भव नभएको हो।  

नेपालका ललितले ४.३ ओभरमा १ मेडनसहित ५ रन खर्चिएर ३ विकेट लिए भने करणले ७ ओभरमा २६ रन खर्चंदै २, सन्दीपले ७ ओभरमा ३२ रन खर्चंदै २ तथा सोमपालले २ ओभरमा १० रन खर्चदै १ विकेट लिए।

प्रकाशित: १९ वैशाख २०८० ००:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App