सयुंक्त अरब इमिरेट्स (युएई) ले विश्वकप लिग–२ मा पपुवा न्युगिनी (पिएनजी) सँग चौथो हार बेहोरेसँगै एकदिवसीय मान्यता पनि संकटमा परेको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) मा पिएनजीसँग ५६ रनको हारसँगै युएईको सीधै विश्वकप छनोट गुम्दा एकदिवसीय मान्यता पनि संकटमा परेको हो। सात राष्ट्र सम्मिलित विश्वकप लिग–२ को शीर्ष पाँच टोलीको एकदिवसीय मान्यता जीवन्त रहनेछ। यद्यपि, तीन खेल बाँकी छँदा युएई ३३ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा छ। युएईले एकदिवसीय मान्यता जोगाउन बाँकी तीनै खेल जित्नुपर्नेछ। लिग–२ मा पुछारको टोली पिएनजीसँग पाँच खेल खेल्दा युएईले चार हार सामना गर्नुपरेको हो। अब युएईले पिएनजीसँगको अन्तिम खेल आगामी बुधबार खेल्नेछ।
यएईले कीर्तिपुरमा नेपालसँग दुई तथा पिएनजीसँग एक खेल खेल्दै विश्वकप लिग–२ को यात्रा टुङ्गाउनेछ। यीमध्ये एक खेलमा हारले युएईको एकदिवसीय मान्यता गुम्नेछ। यता, पिएनजीले ३४ खेल खेल्दा पाँच जित मात्र आत्मसात् गरेको छ। त्यसमध्ये पिएनजीले चार सफलता युएईसँग नै प्राप्त गरेको हो। लिग–२ मा कमजोर प्रदर्शन गरेपछि पिएनजीले सीधै विश्वकप छनोट यात्रा र एकदिवसीय मान्यता जोगाउने सम्भावना गुमाइसकेको छ। पछिल्लो समय खराब प्रदर्शन गरेपछि युएईको पनि एकदिवसीय मान्यता संकटमा परेको हो। विश्वकप लिग–२ को शीर्ष तीन राष्ट्रले सीधै विश्वकप छनोट खेल्नेछन्।
शीर्ष दुईमा स्कटल्यान्ड र ओमानले पक्का गरिसकेका छन्। तेस्रो स्थानका लागि नामिबिया र नेपालको सम्भावना बाँकी छ। ३६ खेल पूरा गरेको नामिबियाको ३९ अंक र ३३ खेल खेलेको नेपालको ३४ अंक छ। नामिबिया तेस्रो र नेपाल पाँचौं स्थानमा छन्। ३६ खेलबाट ३५ अंकसहित अमेरिका चौथो स्थानमा छ। नेपालले सीधै विश्वकप छनोटमा स्थान बनाउन बाँकी तीनै खेल र एकदिवसीय मान्यता जोगाउन एक खेल जित्नु पर्नेछ। युएई र पिएनजी क्रमशः छैटौं र सातौं स्थानमा छन्। ३३ खेल खेलेको युएईको ३१ अंक छ। यो जितसँगै पिएनजीले ३४ खेलबाट ११ अंक जोड्यो। युएई र नेपालले एकआपसमा दुई खेल्नेछन्।
त्यसमा मिश्रित नतिजा आएमा त्यसको फाइदा अमेरिकालाई हुनेछ र उसको एकदिवसीय मान्यता जोगिन सक्छ। कीर्तिपुरस्थित त्रिभुव विश्वविद्यालयको क्रिकेट मैदानमा पिएनजीले प्रस्तुत गरेको दुई सय ४७ रनको लक्ष्य पछ्याएको युएई ४२.२ ओभरमा १ सय ९० रनमै समेटियो। युएईका लागि आर्यन लाक्राले सर्वाधिक ५१ रन जोडे। उनले ७२ बलमा पाँच चौका र एक छक्का हिर्काए। कप्तान मोहम्मद बसिमले ४१, सिपी रिजवान र जवार फरिदले समान १९, कार्तिक मैयप्पनले १४ र आसिफ खानले ११ रन बनाए। युएइले ब्याटिङमा राम्रो सुरुआत गरेपनि त्यसलाई निरन्तरता दिन नसक्दा फेरि पिएनजीसँग निरास भयो।
पिएनजीका लागि रिले हिकुरेले तीन, काबुआ मोरिया र कप्तान असाद भालले समान दुई विकेट लिए। सिमो कामिया र नोर्मन भानुआको नाममा समान १-१ विकेट रह्यो। टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ४६ रनको योगफल तयार पारेको थियो। सुरुआतदेखि राम्रो ब्याटिङ गरेको पिएनजीले अन्तिम १० ओभर लगातार विकेट गुमाउँदा ठूलो विशाल योगफल भने बनाउन सकेन। पिएनजीका सेसे बाउ ८१ रनमा नटआउट रहे। उनले १०६ बलमा १० चौका प्रहार गरे। ओपनर हिरी हिरीले ७७ रन बनाए। ८५ बल खेलेका उनले पाँच चौका र चार छक्का हिर्काए।
अर्का ओपनर किप्लिन डोरिगाले ४४ बलमा आठ चौका र दुई छक्कासहित ५५ रन जोडे। चाड सोपार र नोर्मन भानुआले समान १० रन बनाए। पिएनजीका शीर्ष तीन ब्याटरले अर्धसतक पूरा गर्दै युएईसामू चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरे। यस क्रममा पहिलो विकेटका लागि हिरी र डोरिगाले ७२ रन तथा दोस्रो विकेटका लागि बाउ र हिरीले ११२ रनको साझेदारी गरे। युएईका लागि आयन अफजल खानले तीन तथा जुनैद सिद्दिकी र जाहुर खानले समान दुई विकेट लिए। राहेन र माेस्ताफा कार्तिक मैयप्पनकाे नामा समान एक विकेट रह्याे। पिएनजीले बिहिबारर भने नेपालसँग ५२ रनले हार ब्यहाेरेकाे थियाे।
प्रकाशित: २७ फाल्गुन २०७९ ०२:४३ शनिबार