१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

बुढासुब्बा टुबोर्ग गोल्डकपमा नयाँ च्याम्पियनको प्रतिक्षा: फाइनलमा क्यामरुन र झापा भिड्दै

२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप

एभेनियर एफसिका कप्तान गिनी र केएफटिसी झापाका कप्तान मिलन राई संयुक्तरुपमा ट्रफी उचाल्दै। तस्बिर : रोहित राई

विगत २ वर्ष रोकिएको २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप यसपाली पनि आयोजना हुन्छ कि हुदैन भन्ने अन्योलता चिर्दै फागुन १३ गतेदेखि शुरु भयो। यो प्रतियोगिताको शनिबार फाइनल हुदैछ।

धरान १६ स्थित रंगशालामा हुने फाइनलमा एभेनियर एफसि क्यामरुन र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसि), झापाबीच उपाधि भिडन्त हुदैछ। जसले जिते पनि बुढासुब्बा गोल्डकपले नयाँ च्याम्पियन पाउनेछ। बुढासुब्बामा केएफटिसिको यो तेस्रो सहभागीता हो। तेस्रो प्रयासमा फाइनल पुगेको झापाले उपाधि उचालेर इतिहास रच्न चाहन्छ। एभेनियर एफसि पनि पहिलो पटक प्रतियोगिताको फाइनल पुगेको हो। यसअघि २०७५ मा आयोजित २१ औं सँस्करणमा क्यामरुनकै क्लब डाफिन्स च्याम्पियन भएको थियो। यसपाली फाइनल पुगेको एभेनियर क्यामरुनको बि डिभिजन क्लब हो।

प्रतियोगितामा एभेनियरले पहिलो खेल बागमती युथ क्लबलाई १–० ले पराजित गरेको थियो भने सेमीफाइनलमा एन्फा मोरङलाई २–० ले हराउदै फाइनल यात्रा तय गरेको थियो। केएफटिसी झापाले पहिलो खेलमा बुढासुब्बाको पाँच पटक विजेता नेपाल पुलिस क्लबलाई २–० ले स्तब्ध बनाएको थियो भने सेमीफाइनलमा युकेएफसि भारतलाई ३–१ ले पराजित गर्दै फाइनल पुगेको थियो।

कोशी प्रदेशकै जिल्ला झापा र पश्चिम मध्य अफ्रिकी मुलुक क्यामरुनको क्लबबीच हुने फाइनल निक्कै रोचक हुने अनुमान गरिएको छ। विगतमा यी दुवै क्लब मैदानमा ३ पटक भेट हुँदा एक पटक एभेनियर र २ पटक झापाले जितेको थियो। बेलबारी गोल्डकपमा टाइब्रेकरमा ४–२ ले एभेनियरले जितेको थियो भने इटहरी गोल्डकपमा १–० ले केएफटिसी विजयी भएको थियो। मेची नेत्रालय काकडभिट्टा गोल्कडपमा पनि केएफटिसीले २–० ले जितेको थियो।  

ए भिडिजन लिग खेलिरहेको खेलाडीहरु खामिर गिल्सन सुब्बा, निशान लिम्बु, मिलन राई र अफ्रिकन खेलाडी यमीको साथले पनि फाइनल जित्ने आत्मविश्वास बढेको कोच मुन्ना सुब्बा बताउछन्। ‘फुटबल माइन्ड गेम हो। विपक्षी शारीरिकरुपमा अग्ला र वलियो भएपनि हामी कभर गछौं,’उनले भने,‘विपक्षीको डिफेन्स जस्तोसुकै भएपनि तोड्नसक्ने मिडफिल्ड र फरवर्ड छन्। हामी फाइनल जित्छौं।’

एभेनियरका कोच आशिक थापा मगर पनि उपाधि जित्ने लक्ष्य लिएर प्रतियोगितामा सहभागी भएको बताउँछन्। फाइनल खेल्ने टिम वलियो हुने भएपनि विपक्षीको कमजोरी पहिचान गरेर फाइदा उठाउने उनले बताए। एभेनियर क्लब विगत २ बर्षदेखि नेपालमा फुटबल खेलिरहेको कारण पनि सहज हुने उनले बताए। ‘जित्ने लक्ष्य लिएर आएको हो, फाइनल जित्छौं,’उनले भने। फाइनलमा केही नयाँ खेलाडी थपिने पनि उनले बताए। ‘फाइनलमा ३, ४ जना नयाँ खेलाडी थप्दैछौं, यसले पनि हाम्रो टिम अझ वलियो हुन्छ,’कोच मगरले भने,‘फरवर्ड एकदमै राम्रो हुन्छ।’ एभेनियरका कप्तान गिनीले झापा राम्रो टिम भएकोले निक्कै प्रतिस्पर्धा हुने बताए। उनले नेपाली खेलाडीहरु पनि धेरै राम्रो खेलिरहेको र झापासँग यमी जस्ता विदेशी खेलाडी पनि भएकोले जित निकाल्न सहज नभएको बताए। ‘सहज छैन, तर पनि हामी जित्छाैं,’उनले भने।  

प्रकाशित: १९ फाल्गुन २०७९ ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App