विश्वकप विजेता अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका उपविजेता केलियन एमबाप्पे र करिम बेन्जिमा फिफा वर्ष २०२२ को उत्कृष्ट तीन पुरुष खेलाडी सूचीमा परेका छन्।
फिफाले शुक्रबार सार्वजनिक गरेको सूचीअनुसार मेसी, एमबाप्पे र बेन्जिमा समेटिएका हुन्। फिफाले सन् २०२२ को पुरुष फुटबलतर्फ अन्तिम तीन जनाको नाम सार्वजनिक गरेको हो। सूचीमा परेका मेसी कतारमा आयोजना भएको पछिल्लो संस्करणको विश्वकप उपाधि दिलाउन सफल भएका थिए। उनले त्यो विश्वकपमा सात गोल पनि गरेका थिए। ३५ वर्षे मेसीसँगै फ्रान्सका एमबाप्पे र बेन्जिमा पनि शीर्ष तीनको सूचीमा अटाएका हुन्। अर्जेन्टिनालाई तेस्रो विश्वकपको उपाधि जिताएका मेस्सीले दोस्रो पटक फिफाको यस अवार्ड हात पार्ने आँकलन गरिएको छ।
कतार विश्वकपमा गोल्डेन बलसमेत प्राप्त गरेका मेसीलाई फिफा वर्ष खेलाडीको मुख्य दाबेदार मानिएको हो। विश्वकपमा गोल्डेन बुट जितेका एमबाप्पे र सन् २०२२ को बलोन डी’ओर विजेता बेन्जिमा पनि यस अवार्डका लागि प्रतिस्पर्धी भएका छन्। २०२२ को विश्वकपमा फाइनलमा अर्जेन्टिनाविरुद्ध एमबाप्पेले ह्याट्रिक गरेका थिए। उनी पहिलोपटक फिफाको यस अवार्डका लागि अन्तिम तीनमा समावेश भएका हुन्। बेन्जिमाले भने रियल मड्रिडलाई युरोपेली क्लब फुटबलको फाइनलसम्मको यात्रा तय गराउन सफल भएका थिए। तर, बेन्जिमाले घुँडाको चोटका कारण कतार विश्वकप गुमाउन पुगेका थिए।
फिफाले उत्कृष्ट महिला तीन खेलाडीको नाम पनि सार्वजनिक गरेको छ। यो सूचीमा इङ्ल्यान्डकी बेथ मेड, अमेरिकाकी एलेक्स मोर्गन र स्पेनकी एलेक्सिया पुटेलास छन्। यस्तै तीन उत्कृष्ट पुरुष प्रशिक्षकमा रियल मड्रिडका कार्लो एन्सेलोटी, म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला र अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीको नाम सूचीमा परेको छ। यी विधाको विजेता घोषणा आगामी फेब्रुअरी २७ मा एक समारोहबीच गरिनेछ। यस दिन उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर र उत्कृष्ट–११ को टिम समेत घोषणा हुनेछ।
प्रकाशित: २९ माघ २०७९ ००:३२ आइतबार