१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

आर्मी महिलातर्फ सेमिफाइनलमा

 गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा आर्मीले लगातार दुई खेलमा जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो। आर्मीले गण्डकीमाथि २५–११, २५–१० र २५–१५ को सेटमा जित निकाल्न सफल भएको थियो। यससँगै आर्मीले दुई खेलबाट ६ अंक जोड्यो। गण्डकीले लगातार दोस्रो हार बेहोरेको छ। लगातार दोस्रो हारसँगै गण्डकीको सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ। समूह ‘बी’ बाट एक खेल खेलेको एपिएफको ३ अंक छ। लगातार दोस्रो खेलमा पनि अंक सुम्पिएको गण्डकीले खाता खोल्न सकेका छैन। कृष्ण सेकेन्डरी एकेडेमीले पनि अंक जोड्न सकेको छैन। यो समूहमा अब आर्मीले एपिएफसँग खेल्न बाँकी छ भने पहिलो खेलमा सुखद नतिजा निकालेको एपिएफले कृष्ण सेकेन्डरी स्कुलसँग पनि प्रतिस्पर्धा गर्न बाँकी छ।  

प्रतियोगिताअन्तर्गत बुधबार नै भएको समूह ‘ए’ को अर्को खेलमा एभरेस्ट भलिबल क्लबले नयाँ बजारलाई ३–० को सोझो सेटमा हराएर सान्त्वना जित निकाल्यो। एभरेस्टले नयाँ बजारलाई २५–१२, २५–१२ र २५–१४ को सेटमा हराएको हो। यस जितसँगै एभरेस्टले ३ खेलमा ३ अंक जोडेर समूहमा तेस्रो भएको छ। नयाँ बजार भने अंकविहीन छ। यद्यपि दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन्। यो समूहबाट साबिक विजेता न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुन बाँकी छ। यी दुई टोलीको प्रतिस्पर्धा बिहीबार हुनेछ र विजेता टोली समूहविजेता र पराजित टोली उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गर्नेछन्।  

यस्तै बुधबार सम्पन्न पुरुषतर्फ समूह ‘सी’ को प्रतिस्पर्धामा ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले न्युटन भलिबल एकेडेमीमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो। सुरुआती दुई सेटमा जित निकाले पनि त्यसपछिको दुवै सेट गुमाउँदा ढोरपाटनले पाँचांै सेटमा संघर्ष गर्नुपरेको थियो। पहिलो र दोस्रो सेटमा क्रमशः २५–२३ र २५–२० को जित निकालेको ढोरपाटनले त्यसपछि दुई सेट क्रमशः १८–२५ र २२–२५ ले गुमाएपछि खेल पाँचांै सेटमा लम्बिएको थियो। तर, पाँचांै सेट ढोरपाटनले १५–९ ले पक्षमा पार्दा रोमाञ्चक जित निकाल्न सफल भएको हो। यससँगै समूह ‘सी’ मा रहेको ढोरपाटनले दुई खेलबाट २ अंक जोडेको छ। पराजित न्युटनले दुई खेलबाट १ अंकको खाता खोलेको छ।  

यस्तै अर्को खेलमा हेल्प नेपाल स्पोटर््स क्लबले केशवलाल भलिबल केन्द्रलाई सोझो सेटमा पराजित गर्‍ यो। हेल्प नेपालले केशवलाललाई २५–१८, २५–१८ र २५–१३ को सेटमा स्तब्ध बनाएको हो। यसअघि भएको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै समूह ‘सी’ को विजेताका रूपमा अन्तिम आठमा प्रवेश गरेको छ। पुलिसले गण्डकीलाई २५–२३,२५–२१,२४–२८ र २५–१५ ले हराएको हो। पुलिसले ३ खेलमा ९ अंक जोड्यो। पुलिसले अब क्वार्टरफाइनलमा दावाली मिलन क्लबसँग खेल्नेछ। दावाली समूह ‘ए’ को उपविजेता बन्दै यसअघि नै क्वार्टरफाइनलमा पुगेको छ।  

प्रतियोगितामा पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता रहेको छ। पुरुष र महिला दुवैतर्फको च्याम्पियनले समान ४ लाख रूपैयाँसँगै उपाधि हात पार्नेछन्। दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रूपैयाँ प्राप्त गर्नेछन्। च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही १० हजार रूपैयाँ प्राप्त गर्नेछन्। 

प्रकाशित: २८ पुस २०७९ ०७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App