१६ चैत्र २०८० शुक्रबार
खेल

अभागी टोलीका सर्वाेत्कृष्ट मिडफिल्डर भन्छन्: विश्वकपमा सधैँ अप्रत्याशित नतिजा

विश्वकप फुटबलको प्रसंग आउँदा नेदरल्यान्ड्सलाई विश्व फुटबलमा उपाधि दाबेदार तर अभागी टोलीको संज्ञा दिइन्छ। नेदरल्यान्ड्सले विश्वकपमा निकालेको नतिजाले पनि नेदरल्यान्ड्सलाई दिइँदै आएको अभागी टोलीको संज्ञालाई बल पुग्छ।

तीन पटक विश्वकपको फाइनलमा प्रवेश गरे पनि नेदरल्यान्ड्सले उपाधि भने जित्न सकेको छैन। १९७४ र १९७८ को विश्वकपमा नेदरल्यान्ड्सको फाइनल यात्राका प्रमुख खेलाडी हुन्, मिडफिल्डर जोन नेस्किन्स, जसलाई उनको समयको सबैभन्दा सर्वोेत्कृष्ट मिडफिल्डरका रूपमा लिइन्थ्यो। नेस्किन्स शनिबार मात्र दी रोयल डच फुटबल एसोसिएसन (केएनभिबी) र अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत प्रशिक्षण कार्यक्रमका लागि नेपाल आएका हुन्।

शनिबार साँझ उनी दरबारमार्गस्थित हार्डरक क्याफेमा एक कार्यक्रममा भेटिए। उनी पोर्चुगल र मोरक्कोबीचको क्वार्टरफाइनल हेर्ने तयारी गर्दै थिए। उनी कतार विश्वकपमा मोरक्को र क्रोएसियाले गरेको प्रदर्शनबाट निकै प्रभावित भएको बताइरहेका थिए। पोर्चुगल र मोरक्को बीचको खेलको नतिजा अनुमान गरिरहँदा उनी मोरक्कोसँग जितको इच्छाशक्ति भएकाले नतिजा पनि त्यहीअनुरूप आउने बताइरहेका थिए। नतिजा पनि त्यस्तै आइदियो, मोरक्कोले पोर्चुगललाई १-० ले स्तब्ध पार्दै सेमिफाइनल प्रवेश गर्दै इतिहास रच्यो।

नेस्किन्सको बुझाइमा फुटबल यस्तो खेल हो, जहाँ दाबेदार टोली भन्ने हुँदैन। यहाँ सधैं अप्रत्याशित नतिजा आइ नै रहन्छ।

कतार विश्वकप २०२२ मा मोरक्कोको सेमिफाइनल यात्रा होस् अथवा जर्मनी र बेल्जियमको समूहचरणसम्म मात्रैको यात्रा, ती सबै अप्रत्याशित नतिजा हुन्। ‘फुटबलमा सधैँ एकै प्रकारको नतिजा आउँछ र बलियो टोलीले सहजै नतिजा आफ्नो पक्षमा पार्छ भन्ने हुँदैन,’ नेस्किन्सले भने, ‘कतार विश्वकपमा जर्मनी र बेल्जियमलाई पनि उपाधि दाबेदारका रूपमा लिइएको थियो तर कसैले पनि उहीहरूको यात्रा समूहचरणमा अन्त्य हुन्छ भन्ने कल्पना समेत गरेका थिएनन्। तर उनीहरू बाहिरिए। मोरक्कोले अन्तिम १६ मा स्पेन र क्वार्टरफाइनलमा पोर्चुगललाई स्तब्ध पार्छ भन्ने पनि कल्पनाबाहिरको कुरा हुन सक्छ। तर मोरक्कोले एकपछि अर्को अप्रत्याशित नतिजासहित सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी टोलीको इतिहास रचिसकेको छ। यो नै फुटबलको सुन्दर पक्ष हो।’

नेदरल्यान्ड्सको कतार विश्वकपको यात्रा यस पटक अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-३ ले निराश हुँदै क्वार्टरफाइनलमा अन्त्य भइसकेको छ। २०१४ को ब्राजिल विश्वकपमा तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्स २०१८ को रूस विश्वकपमा छनोट नै भएन। आठ वर्षको अन्तरालमा विश्वकपमा पुनरागमन गरेको नेदरल्यान्ड्स यस पटक पनि उपाधि जित्न असफल भयो। तर नेस्किन्स नेदरल्यान्ड्सले कतारमा गरेको प्रदर्शनलाई नराम्रो भन्न नमिल्ने बताउँछन्।

‘जहाँसम्म नेदरल्यान्ड्सले कतारमा गरेको प्रदर्शनको कुरा छ, हामीले खराब खेल्यो भन्ने बाटो छैन,’ नेस्किन्सले भने, ‘अर्जेन्टिना जस्तो टोलीविरुद्ध २-० ले पछि परेको स्थितिमा पुनरागमन गर्दै खेललाई पेनाल्टी सुटआउटसम्म धकेल्नु सानो कुरा होइन। फुटबलमा भाग्यको पनि ठूलो भूमिका हुन्छ, जुन सदाझैं यसपटक पनि नेदरल्यान्ड्सको भागमा थिएन।’

सन् १९७० मा अयाक्समा अनुबन्धित नेस्किन्स सुरुआती दिनमा रक्षकका रूपमा खेलेका थिए। अयाक्स आएपछि जोन क्रुपलाई मद्दत पुग्ने भन्दै उनलाई सेन्टर मिडफिल्डरको रूपमा खेलाइयो, जुन पोजिसनमा उनी सहजै अभ्यस्त भए। सोही वर्ष पश्चिम जर्मनीविरुद्धको खेलसँगै नेदरल्यान्ड्सको राष्ट्रिय टोलीबाट डेब्यु गरेका नेस्किन्स डच टोलीले लगातार दुई विश्वकप १९७४ र १९७८ मा फाइनलसम्मको यात्रा तय गर्दा प्रमुख खेलाडी थिए।

‘हामी पहिलो पटक विश्वकपको फाइनल खेलिरहेका थियौं,’ उनी सम्झन्छन्, ‘टोलीमा छुट्टै उत्साह थियो। हामीलाई जर्मनीमा पनि डच टोलीका समर्थकले समूहचरणदेखि सेमिफाइनलसम्मको यात्रामा दरिलो साथ दिएका थिए। तर फाइनलमा डच समर्थकमाथि अन्याय गरियो। मैदानमा टिकट वितरणमा डच टोलीका लागि ८० हजारमध्ये ५ हजार मात्र टिकट दिइयो। जर्मनीले घरेलु मैदान र घरेलु समर्थकको भरपूर फाइदा उठायो। अहिले विश्वकपमा दुवै तर्फका समर्थकलाई समान टिकट वितरण गरिन्छ र स्थान पनि छुट्ट्याइएको हुन्छ। १९७४ मा पनि हामी अर्जेन्टिनासँग पराजित भयौं। यस पटक पनि हामी घरेलु टोलीसँग पराजित भयौं। अवस्था १९७४ को भन्दा फरक थिएन। हामी यस पटक पनि अभागी भयौं।’

‘१९७४ को विश्वकपमा हामी पराजित भए पनि फाइनलमा मैले खेलको दोस्रो मिनेटमै पेनाल्टीमा गोल गर्ने अवसर पाएँ, जुन मैले सदुपयोग पनि गरें,’ नेस्किन्स भन्छन्, ‘क्रुपलाई जर्मनीका उली होइनेबले लडाएपछि नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाएको थियो। जर्मनीका खेलाडीले बल समेत छुन पाएका थिएनन्, हामीले भने गोलको अवसर पायौं। प्रशिक्षकले मलाई विश्वास गरेर पेनाल्टी हान्ने जिम्मा दिए र मैले त्यो पूरा गरें। मेरा लागि त्यो विशेष क्षण थियो। मैले समूह चरणमा पनि बुल्गेरियाविरुद्ध सुरुआती ५ मिनेटमै पेनाल्टीमा दुई गोल गरिसकेको थिएँ। त्यसले पनि मेरो मनोबल बढेको थियो।’

नेदरल्यान्ड्सको राष्ट्रिय टोलीबाट होस् अथवा बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहँदा होस्, क्रुप विश्व फुटबलमा चर्चित खेलाडीका रूपमा प्रमाणित भैसकेका थिए। उनीसँग एउटै टोलीमा खेल्न पाउनु नै नेस्किन्सका लागि अवसर थियो। क्रुपको अनुपस्थितिमा १९७८ को विश्वकपमा नेस्किन्सले नेदरल्यान्ड्सको मिडफिल्ड सम्हालेका थिए। उनकै प्रभावशाली प्रदर्शनमा नेदरल्यान्ड्स लगातार दोस्रो पटक फाइनलामा स्थान बनाउन सफल भएको थियो। यद्यपि फाइनलमा भने नेदरल्यान्ड्स घरेलु टोली अर्जेन्टिनासँग पराजित भएको थियो।

आफ्नो समयका उम्दा मिडफिल्डर नेस्किन्स क्रोएसियाका कप्तान लुका मोड्रिचलाई वर्तमान फुटबलको उत्कृष्ट मिडफिल्डर मान्छन्। नेस्किन्सको बुझाइ छ, ‘क्रोएसियाको लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनल यात्रामा मोड्रिचको मिडफिल्ड जादु प्रमुख कारण हो।’

सन् १९८१ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका नेस्किन्सले १९९८ को विश्वकपमा गुस हिडिंकको आग्रहमा सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। २००२ को युरो कपसम्म उनी नेदरल्यान्ड्सको सहायक प्रशिक्षकको भूमिकामा रहे। २०१२ मा प्रशिक्षण जीवनबाट पनि अलग भएका नेस्किन्स हाल डच फुटबल संघको कार्यक्रमअन्तर्गत प्रशिक्षकलाई प्रशिक्षण दिने काममा जुटिरहेका छन्।

उनी यही सिलसिलामा नेपाल भ्रमणका लागि आएका हुन्। तर नेपाली फुटबलका बारेमा भने उनी खासै जानकार छैनन्। सोमबार राति फर्कने तयारीमा रहेका नेस्किन्स समय मिलेको खण्डमा आगामी वर्ष पुनः नेपाल भ्रमण आउने योजनामा छन्।

प्रकाशित: २६ मंसिर २०७९ ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App