२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

सर्बियाविरुद्ध सहज छैन ब्राजिललाई

मंसिर ७ विश्वकपको दाबेदारका रूपमा हेरिएको ब्राजिलले सर्बियासँग खेल्दै कतार विश्वकप २०२२ को यात्रा थाल्नेछ। पछिल्ला समय लगातार असफलताबाट पाठ सिकेर प्रशिक्षक टिटे ब्राजिललाई यस पटक च्याम्पियन बनाउन चाहन्छन्।

सन् २००२ को विश्वकपको फाइनलमा जर्मनीमाथि २–० को जित निकाल्दै ब्राजिल पाँच पटक च्याम्पियन भएको थियो। तर, त्यसयता भने ब्राजिल एक पटक मात्र सेमिफाइनलमा पुग्न सकेको छ। पछिल्लो विश्वकपमा बेल्जियमसँग स्तब्ध हुँदा ब्राजिल सन् २००२ पछि तीन पटक क्वार्टरफाइनलबाटै बाहिरियो। तर पनि यसपटक अनुभवी टिटेलाई विश्वकपमा सफलता दिलाउने अवसर छ। जुन उनका लागि अन्तिम अवसर पनि हो। सन् १९३० देखि हरेक विश्वकप खेल्ने एक मात्र टोली हो ब्राजिल। त्यसैले ब्राजिलका लागि विश्वकपमा यो २२औं सहभागिता हो।

दक्षिण अमेरिकन जायन्ट ब्राजिल विश्वकपमा समूह चरणका पछिल्ला १५ खेलमा अपराजित छ र यीमध्ये १२ खेलमा जित निकालेको छ। सन् १९८२ यता ब्राजिल समूहमा शीर्ष स्थानमा रहँदै पनि आएको छ। सर्बियाले बिहीबार समूह ‘जी’ अन्तर्गत लुसेल स्टेडियममा हुने आफ्नो पहिलो खेलमा ब्राजिलको सामना गर्नेछ। यो समूहमा स्विट्जरल्यान्ड र क्यामरुन छन्। स्वतन्त्र राष्ट्र भएपछि सर्बिया विश्वकपमा सहभागी तीन पटक नै समूहचरणबाट बाहिरिएको छ।

यसपटक आठ छनोट खेलमा अपराजित रहँदै सर्बिया विश्वकपमा आएको हो। त्यसैले सर्बियाविरुद्ध ब्राजिललाई सहज भने हुने छैन। तर, सासा लुकिच, फिलिप कोस्टिच र एलेक्जान्डर मित्रोभिचको प्रदर्शनमा पनि सर्बियाको यात्रा तय हुनेछ। ब्राजिलले सर्बियाविरुद्ध पछिल्ला दुई खेलमा नै जित निकालेको छ। त्यसमध्ये पछिल्लो विश्वकपमा पनि ब्राजिलले सर्बियालाई २-० ले हराएको थियो।

समूह ‘एच’ को पोर्चुगलले बिहीबार अफ्रिकन राष्ट्र घानासँग खेल्दै कतार विश्वकपको सुरुआत गर्दै छ। पोर्चुगलको खेलभन्दा पनि क्रिस्टियानो रोनाल्डोको भविष्यलाई लिएर बढी चर्चा हुने गरेको छ।

रोनाल्डोले विश्वकपमा अवसर पाउँछन् या पाउँदैनन् ? इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा रहँदा रोनाल्डो बेन्चमा नै सीमित हुँदै आएका छन्। प्रशिक्षकसँग खराब सम्बन्धका कारण पनि उनको आलोचना भइरहेको थियो। त्यसैले पोर्चुगलको पहिलो खेलअगाडि रोनाल्डोबारे धेरै किसिमका चर्चा भइरहेका छन्। यद्यपि, उनका सहकर्मी रुबेन डियासका अनुसार क्रिस्टियानो रोनाल्डोको भविष्यलाई लिएर टोली विचलित भएको छैन। किनकि पोर्चुगल विश्वकपमा अगाडि बढ्न चाहन्छ।

रोनाल्डोले आफूले प्रमाणित गर्ने समय आउने डियासको विश्वास छ। पोर्चुगलका लागि यो समूह सहज भने छैन। किनकि यो समूहमा उरुग्वे र दक्षिण कोरिया छन्। यता, घाना पनि क्षमतावान् युवा खेलाडीले भरिएको छ। इनाकी विलियम्स, मोहम्मेद कुडुस, थोमस पार्टेजस्ता क्षमतावान् युवा खेलाडी घानामा छन्। पोर्चुगलका डिफेन्डर डियासले घाना प्राविधिक र शारीरिक दुवैमा रूपमा बलियो टोली रहेको प्रतिक्रिया दिएका छन्। त्यसैले घानासँग सजग भएर खेल्ने उनको विश्वास छ।

सन ह्युङ मिनको राष्ट्र दक्षिण कोरियाले उरुग्वेसँगै खेल्दै कतार विश्वकपको सुरुआत गर्नेछ। टोटनह्यामका स्ट्राइकर सनले गत नोभेम्बरदेखि आँखामा चोट बोकेका थिए। आँखामा चोटका कारण उनले मास्क लगाएर अभ्यास गरिरहेका छन्। यद्यपि, सनले नखेल्दा पनि प्रशिक्षक पाउलो बेन्टोसँग अट्याकिङका लागि अन्य अवसर छ। इङ्लिस क्लब वुल्भ्सका ह्वाङ ही र ग्रिकको टोली ओलम्पियाकोसका स्टार ह्वाङ जो सनको स्थानमा राम्रो अट्याक बन्न सक्नेछ। दक्षिण अमेरिकी राष्ट्र उरुग्वे बलियो टोली हो।

उरुग्वेसँग इडिनस काभानी, लुइस स्वारेज र डिएगो फोर्लान जस्ता स्टार छन्। तर, काभानीले चोटका कारण नखेल्ने सम्भावना पनि छ। यो समूहमा राम्रो टोली रहेकाले सजग भएर खेल्ने उरुग्वेका फोर्लानले बताए।

स्विट्जरल्यान्ड बिहीबार क्यामरुनसँग प्रतिस्पर्धा गर्दा विश्वकपको पहिलो खेलमा निकाल्दै आएको यादगार नतिजालाई जारी राख्ने लक्ष्यमा हुनेछ। स्विट्जरल्यान्डले समूह ‘जी’ को खेल क्यामरुनसँग अल जानौब स्टेडियममा खेल्दै छ। सन् १९६६ मा जर्मनीसँग ५–० ले हार बेहोरेयता स्विट्जरल्यान्डले अहिलेसम्म विश्वकपको पहिलो खेल हारेको छैन। स्विस टोली लगातार तेस्रो पटक दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ। यस अघि सन् २०१४ र सन् २०१८ को विश्वकपमा स्विट्जरल्यान्डले समूहचरण पार गरेको थियो। अफ्रिकन राष्ट्र क्यामरुन र स्विट्जरल्यान्ड दोस्रो पटक एकआपसमा भिड्दै छन्।

पछिल्लो पटक यी टोली सन् २००६ को जर्मन विश्वकपमा भिडेका थिए। यो समूहमा सर्बिया र बलियो ब्राजिल छन्। यी राष्ट्रलाई चुनौती दिन सक्ने टोलीमध्ये स्विट्जरल्यान्ड पहिलो रहेको स्विस स्टार जेर्दान साकिरीको विश्वास छ। आठ पटक विश्वकप खेलिरहेको क्यामरुनको पछिल्ला विश्वकपका सात खेलमा खराब इतिहास छ। क्यामरुनले विश्वकपका पछिल्ला सात खेलमा पराजय सामना गर्नुपरेको छ। अहिले क्यामरुनको टोलीमा धेरै सुधार आए पनि युरोपका चर्चित लिग खेल्ने स्विस टोलीका स्टारलाई रोक्न उनीहरूलाई कठिन हुन्छ।

प्रकाशित: ८ मंसिर २०७९ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App